Edukhabar
शनिबार, ०५ जेठ २०८१
गतिविधि

सीइटीभीटीमा रिक्त पदपूर्ति गर्न दुई साताभित्र विज्ञापन हुने

नेपाल राष्ट्रिय कर्मचारी संगठनले राखेको माग पुरा भएपछि चार महिनादेखि जारी आन्दोलन स्थगित भएको छ ।

आइतबार, २३ बैशाख २०८१

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले दुई साता भित्र दुई साताभित्र कर्मचारी पदपूर्ति गर्न विज्ञापन गर्ने भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन र परिषद् बिच भएको छलफलमा १५ दिन भित्र विज्ञापन खोल्ने सहमति भएको हो । पदपूर्तिको लगायतको माग राखेर सङ्गठनले पछिल्लो चार महिनादेखि नियमित आन्दोलन गर्दै आइरहेको थियो । संगठन र परिषद् बिच आइतबार भएको सहमति अनुसार परिषद् सेवामा लामो समयसम्म एउटै कार्यालय /महाशाखामा कार्यरत कर्मचारीहरूलाई कर्मचारी सरुवा तथा जिम्मेवारी सम्बन्धी मापदण्ड २०८१ अनुसार १० दिनभित्र सुरु गर्ने भएको छ ।

सेवा करारमा कर्मचारीहरूलाई महँगी भत्ता उपलब्ध गराउन पनि पहल गर्ने भएको छ । सहमति अनुसार यो माग पुरा गर्न आगामी परिषद्को बैठकमा प्रस्ताव पेस गरिने र सेवा करारमा कार्यरत कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धमा गठित कार्य टोलीले दिएको सुझाव अनुरूप कार्य प्रक्रिया अगाडि बढाइने भएको छ ।

परिषद्का आंगिक शिक्षालयमा स्वास्थ्य तर्फका नर्सिङ, मिडवाइफरी, फार्मेसी लगायतका कार्यक्रमहरू सञ्चालनको लागि कार्य टोली बनाई असार मसान्तभित्र कार्य सम्पन्न गर्ने सहमति भएको छ  । त्यस्तै स्तर निर्धारण तथा सम्बन्धन महाशाखामा पेस भएका सम्बन्धनका प्रस्तावहरूका सम्बन्धमा महाशाखाले गरेका कार्यहरूको तालिका सहितको विवरण निर्देशक बैठकमा प्रस्तुत गर्ने र प्रस्तावहरूको दर्ता प्रक्रिया अनुसार कार्य सम्पन्न गर्ने सहमति भएको छ । सङ्गठनले उठाएको मागमा परिषद्का उपाध्यक्ष खगेन्द्र अधिकारी, सदस्य सचिव  महेश भट्टराईले सहमति जनाउँदै हस्ताक्षर गरेका छन् । संगठनको तर्फबाट अध्यक्ष तेजबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । 

 

प्रतिक्रिया