Edukhabar
सोमबार, ०७ जेठ २०८१
विचार / विमर्श

नियुक्त भएको एक वर्षमा एक शिक्षकको अनुभव

समस्या समाधानको लागि कुनै उपाय नभएको होइन । तर सुधारका कतिपय कुरा शिक्षक मात्रको प्रयासले सम्भव छैन ।

विहीबार, २७ बैशाख २०८१

शिक्षकको स्थायी नियुक्ति लिएको एक साता पछि गाउँपालिकाले पदस्थापन पत्र दियो । उसै पनि शिक्षक नियुक्तिको लम्बेतान प्रक्रिया । त्यस माथि सम्बन्धित कार्यालयहरुले रबर तन्काए जसरी मिल्ने र सक्ने जति समय लम्ब्याइदिने शैली । 

पदस्थापन पत्र हात परेपछि शैक्षिक सत्रको अन्तिम दिन तोकिएको विद्यालयमा हाजिर हुन प्रस्थान गरियो । विद्यालयमा पुगेपछि विद्यालय अवस्थित स्थानको भूगोल, विद्यालयका भौतिक संरचना, कार्यालय तथा कक्षा कोठाहरुको अवस्था देखेर मनमा खिन्नता छायो । त्यो अवस्थाले मलाई हतोत्साही नै बनायो । तुलनात्मक आकर्षक रोजगारीको अर्को क्षेत्रबाट शिक्षण पेशामा होमिन तम्तयार मेरो मनमा अनेकन् कुराहरु खेल्न थाले । म यो परिवेशमा टिकिरहन सक्छु होला ? शिक्षण पेशा साँच्चिकै उपयुक्त पेशा हो ? के म शिक्षणमै जीवन व्यतित गर्न सक्छु ? 

पाँच सात दिनसम्म मनमा यस्तै कुराहरु खेलिरहे ।

एक हप्तापछि नयाँ शैक्षिक सत्र प्रारम्भ भयो । विद्यार्थी विद्यालय आउन थाले । पठनपाठन शुरु भयो । विद्यार्थीसँग साक्षात्कार हुन थाल्यो । सामिप्यता बढ्दै गयो । तर उनीहरुको सिकाइको स्तर, सरसफाइको अवस्था, पोशाकको अवस्था आदिले थप निरास बनायो । यसरी नै यिनै बालबालिकालाई पढाएर दिनहरु बिताउन सकिएला ? उनीहरुमा निर्दिष्ट सिकाइ उपलब्धि हासिल गराउन सकिएला ? फेरि पनि मनले अनेक कुरा सोचिरह्यो । यसरि नै महिना दिन बित्यो । तत्कालका लागि अरु उपाय पनि थिएन । जागिर स्याथी नै खानुपर्छ भन्ने घरपरिवारको दबाब थियो । जसरी पनि यहि पेशालाई निरन्तरता दिनु पर्ने अवस्था थियो । यसैमा सन्तुष्ट हुनु थियो ।

समय बित्दै गयो । शिक्षण पेशामा नै जीवन व्यतित गर्ने सुनिश्चतता हुँदै गयो । अब चाँहि शिक्षण पेशामा नै विशुद्ध शिक्षकका रुपमा रहने र केहि फरक गर्ने संकल्प गरेँ । त्यसका लागि विभिन्न योजनाहरु तयार गर्न शुरु गरेँ । 

म कक्षा तीनको कक्षा शिक्षक बनेँ । विद्यार्थी कक्षामा तुलनात्मक कम उपस्थित हुने गरेकोले उपस्थिति बढाउन महिनै पिच्छे सबैभन्दा धेरै हाजिर हुने विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था गरेँ । विद्यार्थीको सिकाइ स्तर सुधारका लागि शिक्षण सुधार योजना कार्यान्वयनमा ल्याएँ । सिकाइ कार्यकलापमा विद्यार्थीलाई सक्रीय रुपमा अधिकतम सहभागी गराउन थालेँ । 

सामुदायिक विद्यालयहरुको अर्को समस्या भनेको शैक्षिक सामग्रीहरुको उपलब्धता र प्रयोग नहुनु हो । शैक्षिक सामग्री संकलन र तयारिमा विद्यार्थीलाई समेत सहभागी गराउन थालेँ । स्थानीय स्तरमा उपलब्ध सामग्रीलाई शैक्षिक सामग्रीका रुपमा प्रयोगमा प्राथमिकता दिइयो । प्रयोगात्मक तथा व्यवहारिक सिकाइमा जोड दिइयो । परियोजना कार्यमा विद्यार्थीलाई सक्रीय सहभागी गराउन थालियो । ईत्यादि प्रयासका बाबजुद केहि सुधार भएता पनि विद्यार्थीको सिकाइमा अपेक्षित प्रगती हुन सकेन । जसको कारण थियो कमजोर सिकाइ आधार । अघिल्लो कक्षामा पुरा गर्नुपर्ने सिकाइ उपलब्धि हासिल हुन नसक्दा पछिल्लो कक्षाको सिकाइमा प्रभाव परिरहेको थियो ।

यसरी नै तिन महिना बित्यो । प्रथम त्रैमासिक परीक्षा सम्पन्न भयो । प्रथम त्रैमासिक परीक्षाको नतिजा खासै सोचेजस्तो आएन । यसले फेरि निरुत्साहित बनायो । विद्यार्थीको सिकाइ स्तर सुधार्न हाल सम्मको प्रयास खासै उपलब्धि मुलक हुन सकेजस्तो लागेन । अझै थप नयाँ योजना तौर तरिकाको आवश्यकता देखियो ।

वर्षे बिदा सकिए पछि वि.व्य.स. सदस्यहरु र समुदायमा एउटा छलफल चलेछ । प्रधानाध्यापक परिवर्तन गरेर नयाँ स्थायी शिक्षकलाई जिम्मेवारी दिन पाए हुन्थ्यो । त्यो समयमा प्रधानाध्यापक करार (राहत दरबन्दि) को म्याडम हुनुहुन्थ्यो । स्थायी शिक्षक हामी तिन जना छौँ र हामी एकै दिन हाजिर भएका थियौँ । हामी तिनै जना सँगै बस्थ्यौँ । एकदिन वि.व्य.स. अध्यक्ष र वडा अध्यक्ष हामी कहाँ आउनुभयो । उहाँहरुले हामीले विद्यालयको प्र.अ. परिवर्तन गरेर तपाईहरु मध्ये एक जनालाई जिम्मेवारी दिने सोच बनाएका छौँ भनेर अनुरोध गर्नुभयो । लामो छलफल भयो । हामीले सहमती जनायौँ ।

त्यो दिनपछि ममा एउटा महत्वाकांक्षा जागृत भयो । पाएसम्म प्र.अ. को जिम्मेवारी आफैले लिएर विद्यालय र विद्यार्थीको सिकाइ स्तर सुधार गर्नका लागि नयाँ सोच र योजनाका साथ काम गर्नुपर्छ, विद्यालयलाई साँच्चिकै राम्रो र केहि फरक बनाउनु पर्छ भन्ने सोच्न थालेँ । विद्यालयलाई राम्रो बनाउन, विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न आफै जिम्मेवार बन्नुपर्छ, विद्यालयको टिमलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्छ र त्यसका लागि विद्यालयको नेतृत्व आफै लिनुपर्छ भन्ने मनमा लाग्यो ।

वि.व्य.स. र समुदायको मनसायलाई सहज रुपमा लिदैँ तत्कालिन प्र.अ. म्याडमले खुशीसाथ राजिनामा दिनुभयो । त्यसपछि मैले पहिले सहकर्मी शिक्षकहरुसँग र पछि वि.व्य.स. सँग प्र.अ. बन्ने ईच्छा व्यक्त गरेँ । वि.व्य.स. ले मलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गर्यो । 

अब विद्यालयको अधिकांश जिम्मेवारी मेरो काँधमा आयो । विद्यालयलको समग्र सुधार गर्ने, विद्यालयलाई समयानुकुल बनाउने, विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्ने, नयाँ तथा रचनात्मक कार्यहरु गर्ने, नयाँ योजना तयार गरि कार्यान्वयन गर्ने लगायतका कामका लागि अवसर प्राप्त भयो । साथै आफुमा भएको ईच्छाशक्ति र समुदायको चाहना बमोजिम काम गरेर देखाउन सकिन्छ वा सकिदैन भन्ने चुनौती पनि थपियो ।
त्यसपछि म केहि दिन विद्यालयको समग्र सुधारको योजना तयारीका लागि गृहकार्यमा लागेँ । केहि दिनमा विद्यालयमा निम्न कार्यहरु प्रारम्भ गर्नेगरि योजना बनाएः

-   शिक्षकहरुको व्यवस्थित अतिरिक्त कार्यविभाजन गर्ने, 
-   निश्चित विद्यार्थीको गृह भ्रमण गर्ने, 
-   शिक्षक अभिभावक बीच नियमित सम्पर्कको व्यवस्था गर्ने, 
-   कक्षागत शिक्षण सुधार योजना तयार गरि कार्यान्वयनमा ल्याउने, 
-   नियमित कक्षागत अभिभावक भेला गर्ने, 
-    कक्षाकोठा र कार्यालयको उचित व्यवस्थापन गर्ने, 
-    विद्यार्थी मूल्याङ्कनको ई अभिलेखिकरण गर्ने, 
-   प्रयोगात्मक र व्यवहारिक शिक्षण विधिहरुको प्रयोग गर्ने, 
-    शिक्षकले कक्षा कोठामा बिताउने समय वृद्धि गर्ने । 

यी योजनाहरु लगत्तैको शिक्षक बैठकमा प्रस्तावको रुपमा प्रस्तुत गरेँ । यसमा सबै जनाले सहमति जनाउनु भयो र निर्णय पारित गरियो । अब यी योजनाहरु कार्यान्वयनको प्रक्रिया शुरु भयो । मैले आफ्नो तर्फबाट गर्न सकिने अधिकांश सुधारका कार्यहरुको शुरुवात गरेँ । सहकर्मी शिक्षकहरुले पनि सक्दो साथ दिनुभयो । शिक्षकहरुको व्यवस्थित र उचित कार्यविभाजन गरियो । विद्यार्थीको गृहभ्रमण गरि विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने सम्मका कार्य गरियो । विद्यार्थी कुनै कारणवश विद्यालय उपस्थित हुन नसक्ने भएमा अभिभावकले कक्षा शिक्षक वा प्र.अ. लाई फोन मार्फत जानकारी दिने कार्यको शुरुवात भयो । विद्यार्थी मूल्याङ्कनको ई अभिलेखिकरण गर्ने कार्य गरियो । प्रयोगात्मक र व्यवहारिक शिक्षण विधिहरुको प्रयोगको शुरुवात गरियो । अभिभावक भेलामा अभिभावाक र समुदायको उल्लेख्य उपस्थिति हुन थाल्यो । पालिकाबाट अनुगमन तथा निरिक्षणमा आउने व्यक्तिहरुले समेत राम्रो प्रतिक्रिया दिनुभयो । यसले मलाई र सम्पुर्ण विद्यालय परिवारलाई उत्साहित बनायो ।

विद्यालयमा विविध सुधारका कार्यहरु गर्दै गर्दा बिस्तारै विभिन्न चुनौतीहरु पनि देखिन थाले । जस्तो विद्यालयमा आकर्षक, सुन्दर र बालमैत्री सिकाइ वातावरणको व्यवस्थापन गर्ने कार्य शिक्षकहरुको प्रयासले मात्र सम्भव हुन सकेन । विद्यालय भवन तथा कक्षा कोठाका भित्ताहरु फुस्रा, केरिएका र कोतरिएका छन् । सर्वप्रथम त ति भित्ताहरुमा रंग रोगन गर्न आवश्यक छ । कक्षा कोठाको शैक्षिक सामग्री सहित उचित व्यवस्थापन गर्नु पर्नेछ । जसको लागि बजेटको आवश्यकता पर्दछ जुन विद्यालयसंग उपलब्ध छैन । गाउँपालिकासँग अनुरोध गर्दा श्रोत सुनिश्चित नभएको भन्दै उपलब्ध गराउन सकेको छैन । जसले गर्दा विद्यालयमा सुन्दर सिकाइ वातावरण तयार गर्ने योजना कार्यान्वयन गर्न सकिएको छैन ।

विद्यार्थीको निरन्तर सिकाइका लागि अभिभावकको भुमिका अहम् रहन्छ । हाम्रा अधिकांश अभिभावकहरु विद्यार्थीलाई कापि कलम किनिदिने र विद्यालय पठाउने बाहेकको जिम्मेवारिबाट बिमुख रहेको पाईयो । हरेक अभिभावकले घरमा प्रत्येक दिन आधा घण्टा मात्रै आफ्ना बच्चासंगै बसेर उनीहरुको पढाई लेखाई प्रति चासो दिने हो भने मात्रै पनि उनीहरुको सिकाइमा धेरै फरक पर्छ । विद्यार्थीको सिकाइमा अभिभावकहरुले समय र चासो नदिनु, जिम्मेवारि बोध नहुनु विद्यार्थीको सिकाइ सुधारमा चुनौतीका रुपमा रहेको छ ।

विद्यार्थीको सिकाइमा अर्को चुनौती विद्यार्थीको घर र विद्यालयबीचको दुरी रहेको छ । विद्यार्थीको घरदेखि विद्यालयसम्मको दुरी ३० मिनेटको हुनुपर्ने मापदण्ड छ । तर छरिएका बस्ती रहेको पहाडी भेगमा कक्षा ५ सम्मका विद्यार्थी डेढ दुई घण्टा हिडेर विद्यालय पुग्न वाध्य छन् । घर फर्कन त्यति नै समय लाग्छ । पहाडको बाटोमा दैनिक तिन चार घण्टा हिडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीको सिकाइ कति प्रभावकारी होला ? यस समस्याको समाधानको लागि कुनै उपाय नभएको होइन । तर शिक्षक मात्रको प्रयासले त्यो सम्भव छैन । 

पहाडी क्षेत्रमा विद्यालय स्थापना गर्दा विद्यालयको लागि जग्गा अत्यन्त कमसल र अनुपयुक्त ठाउँमा दिने गारिएको छ । जहाँ एउटा नयाँ भवन थपौँ, खेल मैदान बनाऔँ भन्दा ठाँउ नै छैन । विद्यालयको आँगन बीचबाट नै बाटो छ । उक्त बाटोबाट मानिसका साथै पशुचौपायहरु ओहोर दोहोर गर्दछन् । उपयुक्त घेराबार र प्रवेशद्वार छैन । यसबाट विद्यालयको पुर्वाधार विकास तथा विद्यार्थीको पढाईमा वाधा पुगिरहेको छ । पर्याप्त पुर्वाधारको अभावमा विद्यालयमा कक्षा र तह थप गर्न सकिएको छैन । ५ कक्षा उतीर्ण गरेपछि विद्यार्थी पढाईलाई निरन्तरता दिन सिङ्गो पहाड चढेर दुई तिन घण्टा हिडेर अर्को विद्यालय जानुपर्ने अवस्था छ । सोहि कारण अधिकांश विद्यार्थीले आधारभूत तहसम्मको पढाई समेत पुरा गर्न सकेका छैनन् । बिचैमा पढाई छाड्न बाध्य छन् । सोहि समस्यालाई मध्यनजर गर्दै विद्यालयमा छ देखि आठ कक्षाको समेत पढाई सञ्चालन गर्ने र आधारभूत तहसम्मको शिक्षा सुनिश्चित गर्ने योजना अघि सारियो । यस कार्यका लागि सबैभन्दा पहिले भवन निर्माण गर्न आवश्यक थियो जसका लागि जग्गा व्यवस्थापन गर्नु पथ्र्यो ।

जग्गा व्यवस्थापन गर्न विद्यालय वरपरका जग्गाधनी अभिभावकहरुसँग संवाद गरियो । तर उहाँहरु कुनै हालतमा जग्गा उपलब्ध गराउन तयार हुनुभएन । बिक्रि गर्न समेत मान्नुभएन । विद्यालयमा कक्षा थप नभएमा विद्यालयसँगै जग्गा सटेका एक जना अभिभावककी छोरी छ कक्षा पढ्न दुई तिन घण्टा हिडेर अर्को विद्यालयमा जानु पर्नेछ । तर उनकै बुबाले तुलनात्मक कमसल र कम उब्जाउ जग्गा विद्यालयलाई बेच्न नै मान्नुभएन । यस प्रकारको चेतनास्तर रहेको समाजमा विद्यालयको समग्र सुधार र प्रभावकारी शिक्षण सिकाइको योजना कार्यान्वयन गर्न कम चुनौतिपूर्ण छैन । यस्ता समस्या समाधानका लागि शिक्षकले मात्र सम्भव छैन ।

शिक्षण सिकाइ कार्यकलापलाई प्रभावकारि र उपलब्धीमुलक बनाउन शैक्षिक सामग्रीको महत्वपुर्ण भुमिका रहन्छ । शैक्षिक सामग्रीहरुको प्रयोग नहुनु तथा न्युन मात्रामा हुनु सामुदायिक विद्यालयहारुको एक प्रमुख समस्या हो । शैक्षिक सामग्रीहरुको निर्माण र प्रयोग गर्ने मुख्य जिम्मेवारी शिक्षकको हो तर शिक्षकले निर्माण गर्ने मुल्य नपर्ने र कम मुल्यका शैक्षिक सामग्रीहरु मात्र सिकाइका लागि पर्याप्त हुदैनन् । कयौँ शैक्षिक सामग्रीहरु बजारबाट किन्नुपर्ने हुन्छ, त्यस्तै कयौँ शैक्षिक सामग्री निर्माण गर्न कच्चा पदार्थहरु किन्नुपर्ने हुन्छ जुन शिक्षकले चाहेर मात्र सम्भव छैन । शिक्षण सिकाइ अनुदान शीर्षकमा विद्यालयमा थोरै रकम प्राप्त हुन्छ तर त्यो बजेट अरु नै शिर्षकमा खर्च गर्ने परम्परा रहेछ । कुनै शिक्षकले शैक्षिक सामग्रीको प्रयोग नै नगर्नु र कुनै शिक्षकले चाहेर पनि पर्याप्त र स्तरीय शैक्षिक सामग्रीहरुको प्रयोग गर्न श्रोत नहुनु सामुदायिक विद्यालयको शैक्षिक सुदृढिकणमा चुनौतिका रुपमा रहेको छ ।

अहिले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तह अन्र्तगत छ । नियमित कार्य र स्वयम सेवक शिक्षकको व्यवस्था लगायतका  फाट्टफुट्ट थप कार्यबाहेक स्थानीय सरकारले शैक्षिक सुधारका लागि खासै रचनात्मक तथा प्रभावकारी कुनै नयाँ सोच र योजनाहरु ल्याउन सकेका छैनन् । हामी कहाँ विभिन्न शिक्षक संघ संगठनहरु रहेका छन् । ती संघ संगठनहरुले पनि शैक्षिक सुधारका लागि कुनै छलफल, बहस चलाएको, दबाब दिएको देखिदैन । संघ संगठनका बैठक, भेलाहहरुमा शिक्षकका अधिकार र राजनीतिक वहसले नै स्थान पाउने गरेका छन् । यसर्थ शिक्षण सुधारमा स्थानीय सरकार र शिक्षक संघ संगठनहरुको पर्याप्त चासो र उचित नयाँ सोँच नहुनु पनि चुनौती हो । 

शिक्षण पेशामा आवद्ध भएको एक वर्षको अवधिमा विद्यालयमा सुधारका धेरै कार्यहरु अगाडी बढाइएको छ । त्यस्तै पाईलै पिच्छे आइपर्ने अनेकन चुनौतीहरुले उत्तिकै अवरोध पनि गरिरहेका छन् । तर, चुनौती छन् भनेर आफ्नो जिम्मेवारीबाट बिमुख हुने छुट युवा शिक्षकहरुलाइ छैन । किनभने नेपालको सार्वजनिक शिक्षा क्षेत्र सुधारको जिम्मेवारी सम्पुर्ण युवा शिक्षकहरुले लिनु आवश्यक छ । युवा शिक्षकहरुले आफ्नो जिम्मेवारी बोध गरेर, आफुमा भएको नविनतम सीप, दक्षता र क्षमताको अधिकतम उपयोग गरेर, रचनात्मक र सिर्जनशिल बनेर विशुद्ध सेवाभाव बोकेर कर्तव्य निष्ठ भएर लागिपरेमा सार्जनिक शिक्षा क्षेत्रको आमुल परिवर्तन सम्भव छ । तर मुख्य जिम्मेवारी शिक्षकको भएता पनि अन्य सरोकारवालाहरुको साथ र सहयोग बिना लक्ष्यमा पुग्न कठिन छ । तसर्थ सुधारका लागि निम्न नीतिगत व्यवस्था हुन आवश्यक छ :

-    शिक्षकले विद्यालयमा कम्तीमा १० घण्टा समय बिताउने सुनिश्चिता गर्ने र सोहि अनुरुपको सुविधाको व्यवस्था गर्ने,
-    विद्यालयमा एक मर्मत संभार कोषको व्यवस्था गर्ने, जसमा सरकार र अभिभावकले निश्चत योगदान गर्ने,
-    विद्यालयमा एक शैक्षिक सामग्री कोषको व्यवस्था गर्ने, जसमा सरकार र अभिभावकले वार्षिक रुपमा निश्चत योगदान गर्ने,
-    विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन अभिभावकलाई जिम्मेवार बनाउने, अभिभावकले आफ्ना बच्चालाई दैनिक एक घण्टा समय दिनुपर्ने वाध्यकारी व्यवस्था गर्ने,
-    विद्यालयका लागि आवश्यक पर्ने जग्गाको मापदण्ड निर्धारण गर्ने, तोकिए भन्दा न्यून जग्गा भएका विद्यालयलाई सरकारले जग्गा उपलब्ध गराउने,
-    नव नियुक्त शिक्षकहरुलाई निश्चित अवधिको सेवा प्रवेश तालिम पश्चात मात्र शिक्षणमा खटाउने व्यवस्था गर्ने,
-   शिक्षकहरु आफ्नो पेशाप्रति पुर्ण रुपमा कर्तव्यनिष्ठ र जिम्मेवार भएको सुनिश्चित गर्ने, दण्ड सजाय र प्रोत्साहन पुरस्कारको व्यवस्था प्रभावकारी रुपमा कडाइका साथ लागु गर्ने,
-   सबै विद्यार्थी ३० मिनेटमा विद्यालय पुग्न सक्ने सुनिश्चत गर्ने, अन्यथा छात्रावासको व्यवस्था गर्नुपर्ने,
-    शिक्षकहरुका हक हितका लागि एउटमात्र अधिकार सम्पन्न साझा सङ्गठनको व्यवस्था गर्ने ।

सार्वजनिक शिक्षा क्षेत्रको सुधार गर्न धेरै ढिला भैसकेको छ । शिक्षा क्षेत्र बिग्रियो भनेर बोलिदिने धेरै छन् तर सुधारौँ भनेर लागिपर्ने कोहि छैनन् । यसलाई सुधार्न प्रमुख दायित्व शिक्षकको भएता पनि अन्य सरोकारालाहारुको भुमिका पनि उत्तिकै हुनुपर्छ ।

वि.क.सरुमारानी गा.पा. ६, भिङ्ग्रीखोला, प्यूठानको श्री ऐश्वर्य नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । 

प्रतिक्रिया