Edukhabar
शनिबार, २९ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीद्धारा विभिन्न ४ कार्यदल गठन

मंगलबार, २९ जेठ २०७५

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विभिन्न ४ वटा कार्यदल गठन गरेका छन् । चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा चुस्त बनाउन परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, चिकित्सा शिक्षा अध्यापन गर्ने शिक्षण संस्थाहरुको सिट संख्या निर्धारण समिति गठन गरिएको हो । यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका सम्बन्धमा प्रस्तावित नीति तथा संस्थागत संयन्त्रबारे सुझाव दिने कार्यदल र विदेशी विश्वविद्यालयका सम्बन्धनमा सञ्चालन भएका शैक्षिक कार्यक्रमको समकक्षताका सम्बन्धमा उपयुक्त विधि र प्रक्रिया लगायतका विषयमा सुझाव पेश गर्न कार्यदल गठन गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्याले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था अनुकुल शिक्षा नीति एवम् कानुनमा परिवर्तन गर्ने कार्यको प्रारम्भ अनुसार यी कार्यदल गठन गरिएको उनले बताए । संघात्मक स्वरुपमा भएको राज्यको पुनःसंरचना अनुसार शिक्षाका संस्थागत संरचनाहरु बनाउने शिलशिलामा उक्त काम भएको उनको भनाई छ ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको व्यवस्था अनुरुप मुलुकभरीको चिकित्सा शिक्षा क्षेत्रको विविध शैक्षिक सत्र र परिपाटीमा एकरुपता कायम गर्न एवम् एकीकृत प्रवेश परिक्षा सञ्चालन, अध्ययन अध्यापन र नतिजा प्रकाशन लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्थाका लागि अध्यादेश बमोजिम संगठनात्मक संरचना निर्माण गर्न उक्त कार्यदल गठन गरिएको अर्यालले जनाएका छन् ।

चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णयका लागि नीति तथा मापदण्ड निर्धारण गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा.जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सदस्य प्रा.डा.सिर्जना श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका परीक्षा प्रमुख, काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका परीक्षा प्रमुख, वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका परीक्षा प्रमुखलाई सदस्य तोकिएको छ । उक्त कार्यदलको सदस्य सचिवमा चिकित्सा शिक्षा आयोगका उपसचिव तुलसी प्रसाद आचार्यलाई तोकिएको छ ।

यस्तै चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा.धर्मकान्त बाँस्कोटाको संयोजकत्वमा ५ सदस्यीय शिक्षण संस्थाहरुको “सिट संख्या निर्धारण समिति” गठन गरिएको मन्त्रालयले जनाएको छ । जसमा काठमाडांै विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिन प्रा.डा. राजेन्द्र कोजु, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरू खनाल, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. राजेन्द्र गुरागाई सदस्य रहेका छन् । चिकित्सा शिक्षा आयोगका सचिव लालजंग चौहानलाई यस कार्यदलको सदस्य सचिव तोकिएको मन्त्रालयले जनाएको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी व्यवस्थामा सुधार गर्न यसको नीतिगत तथा कानुनी संयन्त्रबारे सुझाव दिन प्रा.डा. प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलका सदस्यहरुमा डा. सुनिलबाबु श्रेष्ठ, डा. राजेन्द्र अधिकारी,  प्रा.डा. टंकनाथ शर्मा र मन्त्रालयका सहसचिव डा. हरी लम्साल रहेका छन् । शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका उपसचिव डा. मुकुन्दमणि खनाललाई सदस्य सचिव तोकिएको अर्यालले जनाएका छन् । यसैगरी विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा उच्च शिक्षाको संस्था सञ्चालन गर्ने संस्थाहरुको प्रभावकारी अनुगमन, मूल्यांकन, परीक्षा प्रणाली लगायतका विषयमा अध्ययन र विदेशी विश्वविद्यालयका सम्बन्धनमा सञ्चालन भएका शैक्षिक कार्यक्रमको समकक्षताका सम्बन्धमा अध्ययन गरी सुझाव दिन प्रा.डा. यादवराज कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरिएको अर्यालले जनाकारी दिए । सात सदस्यीय कार्यदलका सदस्य सचिव मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम रहेका छन् । मन्त्रीस्तरबाट भएको निर्णय अनुसार कार्यदललाई २ महिनाको कार्यावधि दिइएको छ ।

प्रतिक्रिया