Edukhabar
मंगलबार, १० भदौ २०८२
खबर/फिचर

आंशिकलाई करार नगरे सामूहिक आमरण अनशन

बुधबार, १८ असोज २०७४

काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्र्तगत आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक शिक्षकलाई करारको माग गर्दै आमरण अनसन बसेका  डा. महेश कुमार गजुरेलको जीवन रक्षाको लागि सरकारले पहल नगरे सामूहिक अनशन बस्ने नेपाल आंशिक प्राध्यापक संघले चेतावनी दिएको छ ।

त्रि.वि. र प्रधानमन्त्री निवास घेराउ, ज्ञापनपत्र एवं रिले अनसन  गर्दा पनि सरकारले माग वास्ता नगरेको भन्दै वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनका आंशिक प्राध्यापक गजुरेल गत ११ असोज देखि आमरण अनसनमा छन् ।

अनसनको यतिका दिन सम्म पनि सरकारले कुनैपनि तत्परता नदेखाएको तथा गजुरेलेको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको भन्दै संघले उनको जीवनरक्षाको लागि सरकारले तत्काल तत्परता देखाउनुपर्ने माग गरेको हो । संघका सह–अध्यक्ष ठमिन्द्र खतिवडाले आफूहरुले अघि सारेका जायज माग तत्काल पुरा गरि डा. गजुरेलको जीवन रक्षा नगरे सामूहिक आमरण अनशन बस्ने चेतावनी दिए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रजातन्त्रवादी प्राध्यापक संगठनका अध्यक्ष सह–प्राध्यापक जगत तिमिल्सिना, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका प्रा.डा. यादवप्रकाश लामिछाने र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका संयोजक प्रा. डा. रमेश भट्टराई लगायतले समितिले अघि सारेका मागहरु सरकारले अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिँदै पेशागत हकहितका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने विश्वास दिलाएका थिए ।
त्यस्तै उनीहरुले सत्याग्रहीको जीवन रक्षाको लागि सक्दो पहल गर्ने र सरकारले पनि कुनै बहाना नगरी पहल गरोस् भन्ने अपिल समेत गरेका थिए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सभापति डा. गंगाधर अधिकारीले जीवन रक्षाको लागि सरकारले अब ढिला नगरी पहल गर्नुपर्ने बताए ।

गजुरेलको स्वास्थ्य अवस्थाका बारेमा दैनिक निगरानी गरिरहेका डा. सुवास राजभण्डारीका अनुसार अहिले उनको रक्तचापमा समस्या आएको छ । पहिले १२०/८० भएको रक्तचाप अहिले ८०/५० मा झरेको, मुटुको चाल बढी भएको र शरीरका महत्वपूर्ण अङ्गहरु शिथिल हुँदै गएको, फोक्सोमा भएको संक्रमणका कारणले गर्दा श्वासप्रश्वासमा समस्या, मृगौलामा समस्या बढेकाकारण पिशावको मात्रा असाध्यै कम भएको, सुगरको मात्र कम भएर ५६ MG/DL भएकोले Dextrose ५० % दिनु परेको राजभण्डारीले बताए ।  

समितिद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘यसप्रकार आमरण अनसनकारीको स्वास्थ्यस्थिति जटिल हुँदै जाँदा पनि नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय र सरोकारवाला निकायले वेवास्ता गरेकाले अनसनकारी (सत्याग्रही व्यक्ति¬) को जीवन रक्षाका लागि सम्बन्धित सबैमा हार्दिक अपील तथा ध्यानाकर्षण गर्दछौं ।’

अनसनकै बेला गजुरेललाई आंशिक प्राध्यापक संघको केन्द्रीय अध्यक्ष घोषित गरिएको थियो ।

प्रतिक्रिया