काठमाडौं - लोक सेवा आयोगमा कार्यरत सचिव मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएपछि सरकारले सोमबार गरेको अन्य सचिव सरुवा नै प्रभावित भएको छ ।
रेग्मीलाई शिक्षामा सरुवा गरेर मुख्य सचिवको दावेदार रहेका प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्र प्रसाद उपाध्यायलाई आयोग पठाउने सरकारले निर्णय गरेको थियो ।
पढ्नुहोस् : शिक्षा सचिवमा रेग्मी, मन्त्री र सचिव दुवै स्याङ्जाली
तर आफ्ना प्रतिष्पर्धि सचिवलाई लोकसेवा पठाउँदा कर्मचारी सरुवा बढुवामा आफू अनुकुल निर्णय हुन नसक्ने अड्कल काटेर नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले असन्तुष्टि जनाएपछि उक्त सरुवा प्रभावित भएको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ ।
आफ्ना सचिवलाई शिक्षा मन्त्रालयमा सरुवा गर्नु अघि कुनै सल्लाह नगरेको भन्दै आयोगले असन्तुष्टि जनाएको बताईए पनि नव नियुक्त मुख्य सचिव कै विरोधले उपाध्यायलाई महिला बालबालिका मन्त्रालयमा पठाइएको हो ।
उपाध्याय धेरै विदा बस्ने र विदेश भ्रमण गईरहने भएकोले कार्यतालिका प्रभावित हुने आयोग पदाधिकारीले चिन्ता गरेको बताईएको छ ।
'हुन त उपाध्यायलाई विदेश भ्रमण बढी गर्ने सचिव भन्दै आयोगका पदाधिकारीले मुख्य सचिवलाई उनको सरुवा नगर्न भनेको बताईएको छ' उक्त श्रोतले भन्यो, 'तर यहाँ मुख्य सचिव र उपाध्ययाको विचको जुँगाको लडाँई भएको हो ।'
निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्नका लागि बरिष्ठ सचिवहरु उपाध्याय, प्रधानमन्त्री कार्यालयकै अर्का सचिव शंकर अधिकारी र गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी प्रतिस्पर्धामा थिए । सरकारले रेग्मीलाई मुख्य सचिव बनाएर अधिकारीलाई अर्थ सचिव बनाएको थियो ।
अब, महिला मन्त्रालयका सचिव प्रेम कुमार राईलाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।
यसैगरी क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका सचिव रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा पुनः पुरानै जिम्मेवारीमा फर्काइएको छ ।
उद्योग मन्त्रालयका शंकर प्रसाद कोइरालालाई सरकारले सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सामान्यका मोहनकृष्ण सापकोटा गृहमा सरुवा भएका छन् भने उद्योगमा सूचना आयोगबाट याम कुमारी खतिवडालाई लगिएको छ । प्रधानमन्त्री कार्यालयका केदार बहादुर अधिकारीलाई सञ्चार मन्त्रालयमा र सञ्चार मन्त्रालयका महेन्द्र गुरुङलाई प्रधानमन्त्री कार्यालयमा सरूवा गरिएको छ ।
मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयमा सरुवा भएपछि लोक सेवा आयोग अहिले सचिव विहीन भएको छ । सहसचिव लक्ष्मी विलास कोइरालालाई आयोगको निमित्त सचिवको जिम्मेवारी दिईएको छ ।
प्रतिक्रिया