Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
खबर/फिचर

शिक्षा मन्त्रीमा फेरी पोखरेल

सोमबार, १४ फागुन २०७४

काठमाडौं - माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल फेरी शिक्षा मन्त्री बन्ने भएका छन् । यस अघिको सहमतीमा आफ्नो भागमा परे पनि कुनै नेताले रुची नदेखाएपछि एमालेले  शिक्षा मन्त्रालय माओवादीलाई नै दिने भएको श्रोतले जनाएको छ ।

'गिरि जी शिक्षा मन्त्री हुने लगभग पक्का भएको छ' माओवादी केन्द्र श्रोतले भन्यो, 'रातभरमा कुनै ठूलै परिवर्तन भएन भने मंगलबार सपथ गर्ने तय भएको छ ।'

शिक्षा मन्त्रीका रुपमा सोचेका नेताहरुले चासो र रुची नदेखाए पछि बरु माओवादीलाई नै दिदाँ दुवै पार्टी भित्रका नेताहरुलाई समेट्न सहज हुने निष्कर्ष साथ पहिलेको निर्णयमा परिवर्तन गरिएको एमालेका एक नेताले बताए ।  

'हामीले सोचेका मध्ये कसैले पनि शिक्षामा चासो नदेखाएको र यस अघि अध्यक्षकै मन्त्री मण्डलमा शिक्षा मन्त्रालयले गरेको काम प्रभावकारी भएको ठहर गरेर दुई पार्टिका अध्यक्षहरुले माओवादीबाट नै शिक्षा मन्त्री बनाउने तय गर्नु भएको हो' ती नेताले भने ।

एमालेबाट योगेश भट्टराई र रवीन्द्र अधिकारी शिक्षा मन्त्री हुने चर्चा थियो । तर उनीहरुको रोजाइमा शिक्षा नपरेपछि पोखरेलको बाटो खुलेको हो ।

पढ्नुहोस् : संघीय सरकार पूर्णताको कसरत, केही नपाए बल्ल शिक्षा !

यस अघि ओलीको नेतृत्वको सरकारमा पोखरेल शिक्षा मन्त्री थिए । शिक्षामा नीतिगत परिवर्तन गरेको भन्दै उनको कामको प्रशंसा समेत भएको थियो ।

यद्यपी उनले गरेको शिक्षा ऐनको आठौं संशोधनलाई निवर्तमान मन्त्री गोपालमान श्रेष्ठले पुन संशोधन गरे पछि शिक्षामा धेरै उल्झन् आएको छ । त्यसैले उनका अघिल्तिर आफूले गरेको ऐनको संशोधन अनुसार काम गर्नु पर्ने सहित संघीयता संगै शिक्षाको ब्यवस्थापनमा गम्भिर हुनु पर्ने थप चुनौती छ ।  यसका साथै मन्त्रालय गाभिएर बनेको अहिलेको संरचना अनुसार विज्ञान तथा प्रविधि र खेलकुदको समेत ब्यवस्थापन गर्नु पर्ने छ ।

सोमबारको मन्त्री मण्डल विस्तारमा माओवादीका रामबहादुर थापाले गृह मन्त्रीका रुपमा सपथ खाने छन् । अर्का नेता मातृका यादवले समेत मन्त्रीको सपथ खाने तय भए पनि मन्त्रालय तय भईनसकेको उक्त श्रोतले जनायो ।

यस्तै एमालेका तर्फबाट डा. युवराज खतिवडाले अर्थ मन्त्रीका रुपमा सपथ खाने तय भएको छ । एमालेका ईश्वर पोखरेलले पनि सपथ खाने भए पनि मन्त्रालय तय नभएको एमालेका एक नेताले बताए ।  

यस अघिको सरकारले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिसलाई उल्ट्याएर ओलीले आफू प्रधानमन्त्री भएपछि खतिवडालाई सांसद बनाउने सिफारिस गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भए उनको सपथग्रहणमा सर्वोच्च अदालतले रोक लगाइसकेको छ । यद्यपि उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको ६ महिना भित्र संघीय संसदको सदस्य हुनु पर्ने ब्यवस्था छ ।

अपडेट :

यसैविच प्रधानमन्त्री केपी ओलीको मन्त्री परिषद्मा माओवादीबाट २ र एमालेबाट २ गरी चार मन्त्री थपिएका छन् । एमालेबाट ईश्वर पोखरेल रक्षा र डा. युवराज खतिवडा अर्थ मन्त्री बनेका छन् । मााअ‍ेवादीबाट रामबहादुर थापा गृह र मात्रृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री भएका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया