काठमाडौं - कार्यक्रममा सहभागीहरुका अघिल्तिर सोफामा गजक्क परेर बसेका वहालवाला मन्त्रीलाई कुनै वक्ताले 'घोडे मन्त्री' भन्यो भने मन्त्री सहित उपस्थितहरुको प्रतिकृया के आउला ? पक्कै पनि मन्त्री रिसाउँछन्, आयोजकले ति वक्तालाई बोल्न रोक्छन् ।
तर, शुक्रबार सरकारका वहालवाला मन्त्रीलाई त्यही सम्बोधन गर्दा उपस्थितहरु गल्लल हाँसे, मन्त्रीलाई पनि हाँसो थाम्न मुस्किल नै पर्यो !
यसरी हसाउँने ब्यक्ति थिए कलाकार केदार घिमिरे अर्थात् 'माग्ने बुढा' !
प्रसंग थियो, विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन मन्त्रीले कलाकारहरुसँग गरेको अन्र्तकृया ।
विद्यालयको पहुँचबाट बाहिर रहेका बालबालिकालाई विद्यालय सम्म पुर्याउन हरेक नागरिकले अभिभावकत्व ग्रहण गर्न सरकारले गरेको आह्वानमा कलाकारहरुको प्रतिवद्धताका लागि कार्यक्रम गरिएको थियो । कार्यक्रम शुरु गर्दै मन्त्री पोखरेलले शिक्षालाई अधिकारका रुपमा संविधानले गरेको ब्यवस्था कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेकोले यो अभियानमा सघाउन कलाकारहरुलाई आग्रह गरे । समाजमा विशिष्ठ पहिचान बनाएका कलाकारहरुले भनेको कुरा आम नागरिक स्तरमा छिटो प्रभाव पर्ने हुँदा कलाकारले पनि यो अभियानमा सघाउन उनको आग्रह थियो ।
कार्यक्रममा कलाकार 'माग्ने बुढा'ले राजनीतिक स्थायित्व सहितको सरकारमा रहेका केही मन्त्रीहरुको कामले आफूलाई उत्साही बनाएको भन्दै मन्त्री पोखरेललाई 'घोडे मन्त्री' को उपमा दिएका हुन् ।
'देश बन्छ भनेर म त ज्यादै उत्साही भएको छु, केही मन्त्रीहरु घोडे मन्त्री छन्, घोडे भनेको उनीहरु बलिया र खट्न सक्ने छन् भनेको हो' उनले भने, 'उनीहरु लौन तातो पानी तताएर देओ भन्ने उमेरका छैनन्, काम गर्ने जोश जाँगर भएका छन् त्यस मध्ये शिक्षा मन्त्री पनि एक हुनुहुन्छ ।'
युवा जोश भएका मन्त्रीहरुले पक्कै पनि राम्रो सुधार गर्ने अपेक्षा गरेको बताउँदै उनले गरिबीका कारण आफूले धेरै पढ्न नपाएकोले बालबालिका पढाउने सरकारको यो अभियानमा प्रतिवद्ध रहेको बताए ।
'एसएलसी पास भए पछि आईएल भर्ना त भएँ तर पढ्न सकिएन, त्यसैले म एसएलसी वाला नै हुँ' उनले भने, 'अब बालबालिका पढाउने अभियानमा मेरो तर्फबाट पुरा साथ छ, यो अभियानका लागि शिक्षा मन्त्रालयले तयार गर्ने कुनै रेडियो र टिभी शन्देशहरु छन् भने त्यसमा बोलेको पैसा लिन्न ।'
कक्षा १ मा भर्ना गर्ने उमेर कटेका तर अहिले सम्म पढ्न नपाएका विद्यार्थी लक्षित गरी विद्यालय खोल्न उनले सुझाव पनि दिए ।
'मेरो घर नजिक एउटा ग्यारेजमा काम गर्ने १२–१३ बर्षको ईम्जात मोहसिन नाम गरेको बालक छ, उसले पढेको छैन, मैले पढाउने विचार त गरेँ तर उसको उमेरका साथी भाई कक्षा १ मा हुँदैनन् त्यसैले उसलाई पढ्न अप्ठ्यारो लाग्यो' उनले भने 'त्यसैले यस्ता बालबालिकाका लागि छुट्टै विद्यालय खोल्न पर्ने देख्छु ।'
कार्यक्रममा अर्का कलाकार सिताराम कट्टेल 'धुर्मुस'ले सरकारको अभियानमा प्रतिवद्धता जनाउँदै अभिभावक शिक्षामा केन्द्रित हुन शिक्षा मन्त्रालयलाई सुझाव दिए ।
'कतिपय अभिभावकको बाध्यता, पढाएर के हुन्छ भन्ने चेतनाको अभाव र अशिक्षाले गर्दा बालबालिका पढाईबाट बञ्चित भएका छन्' उनले भने, 'यस्ता अभिभावकलाई पढाए पछि हुने परीवर्तनका बारेमा बुझाउनु पर्ने छ ।'
आफूले तयार पारेको एकिकृत नमूना वस्तिमा रहेका सबै बालबालिकालाई विद्यालय पुर्याउन सफल भएकोले आफूलाई खुसी लागेको उनले बताए ।
'पहिला सुँगुरसँग लडिबुडि गर्ने बालबालिका अहिले विहान साढे नौ बजे हातमा किताव लिएर विद्यालय जाँदै गरेको देख्दा असाध्यै खुसी लाग्छ' उनले भने, 'मुसहर बस्ति हस्तान्तरण गरेको भोली एक बर्ष पुरा हुन्छ, त्यहाँका सबै बालबालिका विद्यालय पुगेका छन्, सन्तपुर बस्तीमा रहेका ९२ मध्ये ४८ जना विद्यालय जान्छन् बाँकहीलाई पनि हामी विद्यालय सम्म पुर्याउन लागि रहेका छौं ।'
कार्यक्रममा अर्का कलाकार मनोज गजुरेलले भर्ना अभियान सफल बनाउन आफू प्रतिवद्ध रहेको बताउँदै बैशाख १ गते विहान आफ्नो सामाजिक सञ्जालमा भर्ना अभियानका बारेमा 'स्टाटस' लेखेर ब्यापक बनाउन सहकर्मी कलाकारसँग आग्रह गरे ।
शिक्षा सचिव खगराज बरालले भर्ना अभियान भनेको 'पुण्य कमाउने' बाटो हुने भन्दै सबै बालबालिकालाई विद्यालय भित्र्याउने अभियानमा कलाकारहरुको सहयोग मिल्ने आशा ब्यक्त गरे ।
कार्यक्रममा उपस्थित कलाकारहरु रमित ढुङ्गाना, प्रदिप बम्जन, रोजी श्रेष्ठ, टंक आचार्य सहित शिक्षक, समाजसेवी र निजी विद्यालय सञ्चालकहरुले समेत भर्ना अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित खबर पढ्नुहोस् : शिक्षाबाट वञ्चित बालबालिकालाई अभिभावकत्व ग्रहण गरिदिन सरकारको अपील
पढाउने जिम्मा प्रधानमन्त्री देखि वडाध्यक्ष सम्मलाई !
भर्ना अभियानको 'स्टण्ट' : ल्याउने मात्रै कि टिकाउने र सिकाउने पनि !
प्रतिक्रिया