Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

शिक्षा राज्यमन्त्रीको कार्यकाल फागुन २० मा सकिदै

कानुन अनुसार उनको कार्यकाल सकिए पनि पार्टीले चाहेमा थप ६ महिनासम्म राज्यमन्त्री हुन पाउछिन् ।

बुधबार, २० मंसिर २०८०

काठमाडौ - शिक्षा राज्यमन्त्री प्रमिला यादव सहित २० जना सांसदको कार्यकाल फागुन २० मा सकिने भएपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको छ । 

यादव ०७४ मा मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । कानुन अनुसार कार्यकाल सकिनु भन्दा एक महिना अघि उनको ठाउँमा माघ १० मा निर्वाचन हुदैछ । पुस २० देखि निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । शिक्षामन्त्री अशोक राईले जिम्मेवार विहीन बनाएको राज्यमन्त्रीले सार्वजनिक कार्यक्रममा समेत बोल्दै  आएकी छिन् । मन्त्री राईले कुनै पनि निर्णय प्रक्रियामा सहभागी नगराएको राज्यमन्त्रीको आरोप छ । 

शिक्षा मन्त्रालयको योजना महाशाखा प्रमुख विहीन बनाएको विषयमा एडुखबरले कुरा गर्दा उनले आफूलाई केही जानकारी नभएको बताइन । ‘नियमित मन्त्रालय आउँछु तर, मलाई केही थाहा छैन,’कर्मचारीले तपाईँलाई केही रिपोर्टिङ गर्दै भन्ने प्रश्नमा उनले भनिन,‘यस बारेमा केही बोल्न चाहन्न ।’ राष्ट्रिय सभामा उनलाई कुनै विषयमा बोल्नुअघि अध्ययन गरेर निर्धारित समयमा बोल्ने सदस्यको रुपमा चिनिन्छ ।  

राजनीतिमा आउनु अघि प्रमिला शिक्षण पेसामा आबद्ध थिइन । उनले २५ वर्ष शिक्षण पेसा गरेकी राज्यमन्त्री प्रमिलालाई जनता समाजवादी पार्टीले उपराष्ट्रपति चुनावमा अघि सारेको थियो । राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा राम सहाय प्रसाद यादव सँगै प्रमिलाले पनि उम्मेदवारी दिएकी थिइन । राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक जना महिला हुनु पर्ने बहस भएपछि जसपाले आफ्नो पार्टीको भागमा परेको उपराष्ट्रपति नगुमाउन प्रमिलालाई तयारी अवस्थामा राखेको थियो । राम सहाय प्रसाद यादव आधिकारिक उम्मेदवार बनाएपछि प्रमिलाले उम्मेदवारी फिर्ता लिएकी थिइन । उपराष्ट्रपति बन्न नसके पनि पार्टीले उनलाई राज्यमन्त्री पद दिएको हो । सप्तरीमा जन्मिएकी उनी तराई मधेस आन्दोलनबाट सक्रिय राजनीतिमा लागेकी हुन्। उनी २०६२ सालमा मधेसी जनअधिकार फोरम नेपालबाट राजनीतिमा क्रियाशील भएकी थिइन् ।

मधेसी महिला फोरमको सुनसरी जिल्ला अध्यक्ष बनेकी उनी मधेसी शिक्षक फोरमको केन्द्रीय उपाध्यक्ष पनि बनिन् । २०६८–२०७० सम्म राजनीतिक नियुक्तिबाट उनी नेशनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धक थिइन । 

प्रतिक्रिया