Edukhabar
बुधबार, ०९ जेठ २०८१
खबर/फिचर

त्रिविको कार्यवहाक उपकुलपतिले आफूखुसी ४४ हजार ५ सय घर भाडा लिन थाले

उपकुलपति छनोट समितिले सार्वजनिक गरेको सर्टलिष्टको सुचीमा समेत रहेका भुसालले त्रिवि कार्यकारी परिषद्को निर्णय बिनै आफ्नो सुविधा आफै निर्णय गरेर लिएका हुन् ।

सोमबार, २९ माघ २०८०

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयका कार्यवहाक उपकुलपति शिवलाल भुसालले आफूखुसी घर भाडा लिन थालेका छन् ।

उपकुलपति छनोट समितिले सार्वजनिक गरेको सर्टलिष्टको सुचीमा समेत रहेका भुसालले त्रिवि कार्यकारी परिषद्को निर्णय बिनै आफ्नो सुविधा आफै निर्णय गरेर लिएका हुन् । 

20240212_192804__02__01__01

दैनिक प्रशासनिक काम गर्ने गरी दोस्रो पटक तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी पाएको भए पनि भुसालले  दीर्घकालीन असर गर्ने कर्मचारी सरुवा र भागबण्डा मिलाउने गरी नियुक्ति गरेका छन् । 

त्रिविको नियम अनुसार कर्मचारी र पदाधिकारीलाई दिइने थप सेवा सुविधा कार्यकारी परिषद्ले निर्णय गर्नु पर्ने हुन्छ । भुसालको मासिक तलब ८५ हजार ७७ रुपैयाँ र घर भाडा बापत थप सुविधा लिनेका गरेका छन् ।  भुसालले विश्वविद्यालयबाट तलबको ५० प्रतिशत घर भाडा र थप अरू सुविधा गरी ४४ हजार ५ सय ३८ रुपैयाँ थप रकम लिने गरेको एडुखबरलाई प्राप्त प्रमाणमा उल्लेख छ । पदाधिकारीमा घर भाडा लिनेमा उनी मात्रै छन् । अन्य पदाधिकारीले तलब बाहेक मासिक थप ३ हजार, ६ हजार रुपैयाँ  लिने गरेका छन् । 

कात्तिक १७ देखि उनले त्रिविको उपकुलपतिको जिम्मेवारी सम्हालेका छन् । त्रिविको खर्च कटौती गर्ने भन्दै कर्मचारीले पाइरहेका थप भत्ता कटौती गरे पनि उनले आफ्नो सुविधा भने परिषद्को निर्णय बेगर लिइरहेको त्रिविका एक कर्मचारीले बताए ।

काठमाडौं उपत्यकामा आफ्नो घर नभएकोले घर भाडाको सुविधा लिएको भुसालले बताए ।

‘मेरो घर नभए पछि नियम अनुसार नै घर भाडाको सुविधा लिएको हो,’उनले भने,‘घरभाडा सुविधा लिन कार्यकारी परिषद्बाट निर्णय गरिरहनु पर्दैन ।’ 

व्यवस्थापन केन्द्रीय विभागका प्रा.डा. भोजराज अर्याल संयोजक रहेको पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी मापदण्ड कार्यान्वयन गर्ने भन्दै त्रिवि सभाको ०८० असार १२ बैठकले साउन १ देखि लागू हुने गरी सम्पूर्ण सुविधा रोकेको थियो । अर्यालले असोज २३ मा उपकुलपतिलाई प्रतिवेदन समेत बुझाइ सकेका छन्  । उक्त प्रतिवेदन कार्यान्वयन गर्न भन्दै कर्मचारीले यस अघि पाउँदै आएको प्रोत्साहन, अतिरिक्त पारिश्रमिक कटौती गरेपछि विरोध भइरहेको छ ।

‘हाम्रो सुविधा कटौती गर्नु भएको छ । उपकुलपतिले घर भाडा लिइरहनु भएको छ,’त्रिविका एक कर्मचारीले भने,‘उहाँले लिएको घर भाडा नियम विपरीत भएकोले छानबिन हुनुपर्छ ।’ 

कात्तिक १६ मा तत्कालीन उपकुलपति प्रा. धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको थियो । उनको तीन महिनाको कार्यकाल सकिएपछि माघ १६ मा थप ३ महिनाको लागि सरकारले उपकुलपतिको  जिम्मेवारी दिएको छ । 

दैनिक प्रशासन चलाउन उनको नियुक्ति गरिएको भए पनि भुसालले कर्मचारीको सरुवा, क्याम्पस प्रमुख र विभागीय प्रमुखको राजनीतिक भागबण्डाको आधारमा नियुक्ति गरिरहेका छन् । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले उनले गरेको निर्णय बदरको प्रक्रिया अघि बढाउन छानबिन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले भुसाले नियम विपरीत निर्णय गरेकोले तत्काल पदबाट हटाउनुपर्ने माग बैठकमा राखेकी थिइन ।

‘त्रिविको कार्यवहाक उपकुलपतिले क्षेत्राधिकार मिचेर अहिले जति सक्छु, भागबण्डा गर्छु भन्ने ध्येयले काम गर्छ भने त्यो मानिस त्रिविको उपकुलपति हुन लायक भएन,’ उनले भनिन्, ‘उसलाई अहिले हटाउनुपर्‍यो । त्यस्तो मानिस त्रिवि उपकुलपतिको सर्टलिष्टबाट पनि हट‍्नुपर्‍यो ।’ उपकुलपति छनोट समितिले निकालेको सर्टलिष्टमा भुसालको नाम पनि समावेश छ ।

समितिको सोमबारको बैठकले भुसालले नियम विपरीत काम गरेकोले उपकुलपति सर्टलिष्टको प्रक्रिया अघि बढाउँदा बिचार गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया