Edukhabar
सोमबार, ३१ बैशाख २०८१
खबर/फिचर

त्रिविका कामचलाउ उपकुलपति भुसालद्वारा धमाधम नियुक्ति र सरुवा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैनिक कार्य सञ्चालनको लागि भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको भए पनि दलीय भागवण्डामा सहायक डीन, तीन जनालाई विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुख नियुक्ति गरेका छन् ।

विहीबार, २५ माघ २०८०

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयको काम चलाऊ उपकुलपति शिवलाल भुसालले राजनीतिक भागवण्डाको आधारमा धमाधम सहायक डीन, विभागीय प्रमुख, क्याम्पस प्रमुख नियुक्ति र कर्मचारी सरुवा  गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैनिक कार्य सञ्चालनको लागि भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको भए पनि दलीय भागवण्डामा सहायक डीन, तीन जनालाई विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुख नियुक्त  गरेका छन् । 

उपकुलपतिको छनौट अन्तिम चरणमा पुगेको बेला भुसालले मन्त्रीपरिषद्ले दिएको अधिकार भन्दा बाहिर गएर निर्णय गरेका हुन् । मन्त्रिपरिषद्को कार्यालयले माघ १६ मा भुसाललाई दिएको पत्रमा भनिएको छ,‘उपकुलपतिको पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाको लागि तपाईंलाई सम्माननीय प्रधानमन्त्री एवं कुलपतिज्यूबाट उपकुलपतिको जिम्मेवारी तोकिएको व्यहोरा माघ १६ को निर्णय अनुसार अनुरोध छ ।’

दैनिक कार्य सञ्चालन गर्ने भन्दा भुसाललाई कुनै अधिकार दिईएको छैन । तर, उनले भने दीर्घकालीन असर गर्ने निर्णय भटाभट गरिरहेका छन् । 

भुसालले समाजशास्त्र केन्द्रीय विभागका प्रा.डा.चिरञ्जीवी आचार्यलाई बिहीबारदेखि लागू हुने गरी मानविकी तथा सामाजिक शास्त्र संकायको सहायक डीनमा नियुक्ति गरेका छन् । 

त्यस्तै प्रा.डा.चेतराज भट्टलाई गणित केन्द्रीय विभाग, प्रा.डा.दिनेश पाठकलाई भूगर्भ शास्त्र केन्द्रीय विभाग, प्रा.डा.कृष्णप्रसाद न्यौपानेलाई नेपाली केन्द्रीय विभाग प्रमुखमा नियुक्ति गरेका छन् ।  भुसालले नेपाल ल क्याम्पसमा  सह प्रा. श्यामबहादुर कार्की, गोरखा क्याम्पसमा उपप्राध्यापक नवराज पाण्डे, लमजुङ क्याम्पसमा उपप्राध्यापक मिलन सुवेदी, रामपुर क्याम्पसमा उपप्राध्यापक कपिल काफ्ले, महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाममा सहप्राध्यापक गंगाराम पौडेल र पब्लिक युथ क्याम्पस, धोबिचौरमा उपप्राध्यापक रामेश्वर आचार्यलाई नियुक्ति गरेका छन् । त्रिविका कर्मचारीले सामाजिक सञ्जालमा महेन्द्र रत्न क्याम्पस इलामका प्रमुख एमाले, नेपाल ल क्याम्पस माओवादी, पब्लिक युथ क्याम्पस काँग्रेस, लमजुङ क्याम्पसमा माओवादी, गोरखा क्याम्पस माओवादी, सहायक डीनमा काँग्रेसले भागवण्डा गरेको सार्वजनिक गरेका छन् । 

कात्तिक १६ मा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको थियो । उनको तीन महिनाको कार्यकाल सकिएपछि मन्त्रिपरिषद्को कार्यालयले भुसाललाई थप तीन महिनाको लागि नियुक्ति गरेको छ । 

प्रतिक्रिया