Edukhabar
शुक्रबार, २० असार २०८२
विचार / विमर्श

एसईई नतिजा विश्लेषण : अपेक्षा र वास्तविकताबीचको खाडल

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकारको कम्पनिको वेब पोर्टलमा सीमित विषयका सामग्री मात्र उपलब्ध छन्, जसले दाबी गरिए बमोजिमको अनलाइन कक्षा वा रेकर्डेड भिडियोको व्यवस्था नभएको पुष्टि गर्छ ।

शुक्रबार, २० असार २०८२

कक्षा १० को अन्तिम परीक्षा एसईई २०८१ मा ६१ दशमलब ८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् । यो गत वर्षको तुलनामा करिब १४ प्रतिशतले बढी हो । प्रधानमन्त्री केपी ओलीले आगामी एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम गर्ने घोषणा गरेसँगै प्रधानमन्त्री कार्यालयको संयोजनमा कक्षा १० का विभिन्न विषयमा अनलाइन कोचिङ कक्षाहरू सञ्चालन गरिएको दाबी गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयमा खटाइएकी शाखा अधिकृत उषा ढकाललाई सचिवस्तरीय निर्णयबाट सामुदायिक विद्यालयहरूसँग समन्वय गरी बढीभन्दा बढी विद्यार्थीलाई कार्यक्रममा जोड्ने जिम्मेवारी दिइएको थियो । विद्यालयलाई परिपत्र गर्ने, कक्षा अवलोकन गरी शिक्षकलाई पृष्ठपोषण दिने, सहजीकरण र निरीक्षण गर्ने लगायतका जिम्मेवारी पनि दिइएको भनिएको थियो । अनलाइन कक्षा सञ्चालन गर्ने जिम्मा प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलीको कम्पनिले पाएको थियो । उक्त कम्पनिको कार्यालयबाट भर्चुअल कक्षा सञ्चालन तथा व्यवस्थापन भएको र स्नातकमा राम्रो जीपीए ल्याएका तथा माष्टर्स गरिरहेकाहरूलाई पढाउनका लागि छनोट गरिएको भनिएको थियो ।

यद्यपि, यस कार्यक्रमको सञ्चालन प्रक्रिया, शिक्षकको छनोट तथा मापदण्ड, स्थानीय तह, विद्यालय, शिक्षक र अभिभावकको सहभागिता आदिका बारेमा कुनै स्पष्ट ‘गाइडलाइन’ नबनाएको कारणले अधिकांश स्थानीय तह र विद्यालयहरूले यस कार्यक्रमबारे जानकारी समेत पाएनन् । अनलाइन कक्षामा विद्यार्थीको खासै उपस्थिति पनि देखिएन । उक्त कम्पनिको वेब पोर्टलमा सीमित विषयका सामग्री मात्र उपलब्ध छन् जसले दाबी गरिए बमोजिमको अनलाइन कक्षा वा रेकर्डेड भिडियोको व्यवस्था नभएको पुष्टि गर्छ । 

नतिजा वृद्धिको कारण : बहस र शंका

प्रधानमन्त्रीले आफूले गरेको गरेको ७० प्रतिशत पुर्याउने घोषणा र लिएको पहललाई आधारमा मानेर हुन सक्छ, एसईई नतिजा प्रकाशित हुनु सात दिनअघि नै प्रधानमन्त्रीले यस पटक ६० देखि ६४ प्रतिशत नतिजा आउने भनेर सार्वजनिक रूपमा बताएको खबर सार्वजनिक भएको थियो । यही कुरालाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्रीको दबाबमा यस वर्षको एसईई नतिजा बढ्यो भनेर टिप्पणी गर्नेहरूको संख्या उल्लेख्य छ । प्रधानमन्त्रीको निर्देशनले नम्बर थपेर झण्डै ६२ प्रतिशत उत्तीर्णदर पुर्याइएको शिक्षा सरोकार केन्द्रका कार्यकारी निर्देशक डा. मीनबहादुर शाहीको पनि तर्क छ ।

अघिल्लो वर्ष झण्डै ४८ प्रतिशत मात्रै उत्तीर्ण भएपछि प्रधानमन्त्रीले शिक्षकहरूलाई गाली गरे, परीक्षा बोर्डका अध्यक्षलाई पेलियो, त्यही भएर उत्तीर्णदर झण्डै ६२ प्रतिशत पुर्याइयो । शिक्षा सुधार भएर होइन, नभए बिदा हड्ताल चल्यो, विद्यार्थी पढ्न पाएनन्, कसरी एकै वर्षमा झण्डै १४ प्रतिशत उत्तीर्णदर बढ्यो ? यो अचम्मकै कुरा होइन र ? प्रधानमन्त्रीले लोकप्रियताका लागि यसरी पास गराइएको शाहीको तर्क छ । 

कक्षा ८ को परीक्षाको उदाहरण दिँदै स्थानीय तहले परीक्षा लिँदा केही विद्यालयको उत्तीर्णदर शून्य हुने र समग्र उत्तीर्णदर ५० प्रतिशत पनि नपुग्ने तर एसईईमा भने कसरी ६२ प्रतिशत पुग्छ ? शाहीको प्रश्न छ । अघिल्लो वर्ष असफल भएपछि प्रधानमन्त्रीले सफल हुन यस्तो गरेको शाहीको बुझाइ छ । 

स्थानीय पहल र नतिजामा यसको योगदान

अर्को तर्फ, केही सरोकारवालाहरूले एसईईको नतिजामा सुधार ल्याउन अनलाइन मार्फत विशेषज्ञ शिक्षकहरूबाट तयारी कक्षाहरू चलाएको र हजारौं विद्यार्थी कक्षामा जोडिएको दाबी गरेका छन्, जसले नतिजामा गत वर्षभन्दा वृद्धि गर्न मद्दत पुगेको उनीहरूको भनाइ छ । यद्यपि, प्रधानमन्त्रीले भनेको जस्तो कुनै राष्ट्रिय स्तरको अनलाइन कक्षा सञ्चालन भएको वा विद्यार्थी जोडिएको कुरा धेरैले थाहै पाएनन् ।

बरु, विद्यालयहरू आफैँले एसईई उपलब्धि सुधार कार्यक्रमहरू सञ्चालन गरेको पाइएको छ । लेखक स्वयं संलग्न श्री अमरज्योति माध्यमिक विद्यालय लगायत सुर्खेतको वीरेन्द्रनगरका धेरै विद्यालयहरूले यस्ता कार्यक्रमहरू गरेका थिए । त्यसैगरी, वीरेन्द्रनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले एसईईलाई लक्षित गरी एसईई उपलब्धि सुधार गर्ने उद्देश्यले ४५ दिने अनलाइनमा आधारित एसईई भर्चुअल बुष्टर क्लास समेत सञ्चालन गरेको थियो । यो कार्यक्रममा हाम्रै विद्यालयका अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरुले सहजिकरण गरेका थिए । देशभरका थुप्रै पालिकाहरूले यस्ता कार्यक्रम सञ्चालन गरेका थिए । यी गतिविधि र कार्यक्रमहरूले पनि यस वर्षको एसईई नतिजा सुधारमा थप योगदान पुगेको विश्वास गर्न सकिन्छ ।

एसईई नतिजाको विविधता : व्यक्तिगत भिन्नता र वास्तविक पक्ष

यी सबै प्रसङ्गहरूका बाबजुद, मेरो मुख्य चिन्ता ती व्यक्तित्वहरूले बुझ्न नचाहेको वा बुझ्न नसकेको यथार्थमा छ । त्यो के भनेः हरेक वर्ष एसईईको नतिजा सधैँ उच्च मात्र कसरी आउन सक्छ ? जबकी हरेक वर्ष एसईईमा सामेल विद्यार्थी फरक फरक हुन्छन् । उनीहरूको पारिवारिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमि, पूर्व सिकाइ स्तर, सिकाइ क्षमता र वातावरण समेत फरक फरक हुन्छ । यस्तो अवस्थामा हरेक वर्ष एउटै नतिजाको अपेक्षा गर्नु आफैंमा हास्यास्पद होइन र ? फरक परिवेश र फरक विद्यार्थीबाट एउटै नतिजाको अपेक्षा गर्नु विद्यार्थीको व्यक्तिगत भिन्नता नबुझेको संकेत हो ।

एउटै नतिजा आउनका लागि त समय, परिवेश, पृष्ठभूमि, वातावरण सबै कुरा एउटै हुनुपर्छ । यो त कारखानाबाट एउटै मानकमा उत्पादन भएका वस्तुबाट मात्र सम्भव हुन्छ तर मानव मष्तिष्क र सिकाइ प्रक्रियाबाट सम्भव हुँदैन । परीक्षा केन्द्रको वातावरण, उत्तरपुस्तिका परीक्षणमा संलग्न जनशक्तिको आचरण र परीक्षा बोर्डको निर्देशनको भूमिका पनि नतिजा केही हदसम्म प्रभावित हुन्छ । हरेक वर्षको एसईई नतिजा एउटै वा राम्रै आउनु पर्ने भन्नु विद्यार्थी नबुझेको, विद्यार्थीको पृष्ठभूमि नबुझेको र पाठ्यक्रम नबुझेको हो । 

लगभग तीन दशकको मेरो शिक्षण अनुभवले पनि हरेक वर्ष एउटै नतिजा आउन नसक्ने कुरा बुझेको छ । जुन वर्ष विद्यार्थीको सिकाइ स्तर र क्षमता राम्रो हुन्छ, अभिभावकहरु सचेत र सहयोगी हुन्छन्  त्यो वर्ष पक्कै पनि नतिजा राम्रो आउँछ, यो हामी पहिले नै भन्न सक्छौं । म कार्यरत विद्यालयको हकमा यस वर्ष नतिजा केही बढ्ने कुरा ग्यारेण्टी नै थियो, किनकि राम्रा विद्यार्थी थिए, विद्यालयले पनि एसईई उपलब्धि सुधार कार्यक्रम संचालन गरेको थियो । म फेरि पनि भन्न सक्छु, विद्यार्थीको आनीबानी, घरपरिवारको व्यवहार सहयोग र विद्यालयको सिकाइ वातावरण बिग्रिएन भने आउने वर्षको एसईई नतिजा बढ्छ नै । केही प्रतिशत विद्यालयले दिने थप सिकाइ कार्यक्रमले पनि यसमा योगदान गर्छ, यसमा दुई मत छैन । तर, हरेक वर्ष नतिजा उत्कृष्ट आउनै पर्ने भन्ने कुरा मेरो अनुभवले मान्दैन र स्वीकार्दैन ।

अतः नतिजा विश्लेषण गर्दा एकपक्षीय ‘भेरिअबल’लाई मात्र आधार मानेर विश्लेषण गरेर हुँदैन । धेरै ‘भेरिअबल’को आधार लिनु पर्छ । जिम्मेवार व्यक्ति, शिक्षाविद्, शिक्षक, बुद्धिजीवी, अभिभावक लगायत सरोकारवाला निकायहरू सबैले जिम्मेवार भएर सोच्न, बुझ्न र विश्लेषण गर्नु पर्दछ । अनि मात्र आफ्नो विचार र तर्कको प्रयोग उचित र वैध हुन्छ । एसईई नतिजाको वास्तविक विश्लेषण भएको मानिन्छ ।

राई, श्री अमरज्योति माध्यमिक विद्यालय, वीरेन्द्रनगर सुर्खेतका शिक्षक हुन् । 

प्रतिक्रिया