काठमाडौं - स्नातकोत्तर तहको नेपाली विषयको पाठ्यक्रममा भएको परिवर्तनका बारेमा तीन दिन भित्र जानकारी उपलब्ध गराउन प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई निर्देशन दिएको छ । महिला साहित्यकार समूहका संयोजक रीता खत्रीले दिएको निवेदन माथि समिति अन्तरगतको शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमितिले गएको शुक्रबार छलफल गरेको थियो । समितिले पहिलो चरणमा तीन दिनको समय दिई जानकारी माग गर्ने र त्यस पछि विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न समितिका सचिव दशरथ धमलाले आईतबार विश्वविद्यालयका उपकुलपतिलाई पत्राचार गरेका हुन् ।
नयाँ पाठ्यक्रम लैङ्गिक, वैचारिक र क्षेत्रीय समावेशीकरण विपरीत पूर्वाग्रही र निषेधात्मक रहनुका साथै लोकतान्त्रिक र समावेशी सिद्धान्तको विरुद्ध रहेको दावी गर्दै समूहले समितिमा निवेदन दिएको थियो । उक्त निवेदन माथि छलफल गरेर समितिले पाठ्यक्रम स्वीकृत गर्दा अपनाईएका विधि, सरोकारवालासँग छलफल, परामर्श गरी सुझाव लिए नलिएको, निवेदकले भनेजस्तो प्राविधिक त्रुटि भए नभएको, कुनै एक कृतिलाई आधार मानी पाठ्यक्रम निर्माण भए नभएको, पाठ्यक्रम निर्माणमा द्वन्दको स्वार्थ अनुरुप कार्य भए नभएको, नभएको भए सोको पुष्टयाई गर्ने आधार सहित निवेदनमा उल्लेख भएका विषयहरुको बारेमा जानकारी दिन तीन दिनको समय दिएको हो ।
नारीवादी दृष्टिकोणका साहित्यका स्थापित पाठहरु हटाइएको, नेपाली साहित्यको मूल धारमा रहेको प्रगतिवादी धारालाई निषेध गरिएको, डायस्पोराको सैद्धान्तिक स्वरुप कृतिको बिपय सूची हबुहु राखिएको तथा पाठघण्टा र पाठ्यकममा असन्तुलन भएका कारण प्राविधिक रूपले समेत त्रुटिपूर्ण रहेको समूहको निवेदनमा उल्लेख छ ।
विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा नेपाली विषयको नयाँ पाठ्यक्रम लागू गरेको छ । स्नातकोत्तर तहको पठन अवधि चार सेमेष्टरको हुन्छ । मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयले चारै सेमेष्टरको नयाँ पाठ्यक्रम तयार गरी लागू गरेको हो ।
नयाँ पाठ्यक्रम निर्माण गर्दा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ हटाइएको समूहका सदस्यहरुको दाबी छ । तर, व्यक्तिपरक अध्ययनलाई संशोधन गरेर प्रवृत्तिपरक अध्ययन समावेश गरी पाठ्यक्रम तयार भएको डिनको कार्यालयले तर्क गर्दै आएको छ । एउटा लेखकलाई फरक फरक विधामा पढ्नुपर्ने र विशेष अध्ययनमा पनि तिनै व्यक्तिका बारेमा अध्ययन गर्नुपर्ने भएकाले व्यक्तिपरक अध्ययन हटाएर प्रवृत्तिपरक अध्ययन समावेश गरिएको डिनको कार्यालयको तर्क छ ।
विश्वविद्यालयको पाठ्यक्रम विषय समिति, विद्या परिषद्, प्राज्ञिक परिषद्ले अन्तिम रूप दिएपछि लागू हुने व्यवस्था छ । स्नातकोत्तर नेपालीको पाठ्यक्रम मस्यौदा समितिमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. गोविन्दप्रसाद शर्मा र डा. दुर्गाबहादुर घर्ती थिए । साथै विषय समितिका १९ जना विज्ञ पनि पाठ्यक्रम निर्माणमा सहभागी भएको डिनको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया