काठमाडौं - त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्त लगायत सहभागी थिए ।
यस अघि ओलीले दिउँसो अर्याललाई नियुक्त गरेका थिए । शिक्षा मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको तीन जनाको नाम मध्येबाट प्रधानमन्त्रीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् । सिनेट बैठकको अघिल्लो दिन ओलीले अर्याललाई नियुक्त गरेका हुन् । गत २२ गतेका लागि तोकिएको सिनेट बैठक रोकेर प्रधानमन्त्री ओली सडक उद्घाटन गर्न हुम्ला गएका थिए । सिनेट रोकिँदा आगामी बर्षको बजेट पास गर्ने र दिक्षीत हुने ९० हजार विद्यार्थीको ग्रेस लिष्टसमेत पारित गर्ने कार्य रोकिएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तोकिएको सिनेटले त्रिविको नीति तथा कार्यक्रम र बजेट पारितको औपचारिकता पुरा गर्ने छ ।
२०५२ सालमा त्रिवि प्रवेश गरेका अर्याल चर्चित हास्यव्यङ्यकार एवं साहित्यकार स्व.भैरव अर्यालका दुई भाई छोरा मध्ये जेठा हुन् । उनी त्रिवि सेवा प्रवेश गरे देखि अहिले सम्म लगातार जल तथा मौसम विज्ञान केन्द्रीय विभाग मै कार्यरत रहेका छन् ।
प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयको उपकुलपति छनोट गर्ने दुई बर्ष अघिको थितीलाई वेवास्ता गर्दै मन्त्री पन्तले अर्याल सहित अहिले कुलपतिको जिम्मेवारी सम्हाली रहेका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र विज्ञान तथा प्रविधि संकायका पूर्व डिन प्रा डा विनिल अर्यालको नाम सिफारिस गरेका थिए ।
दुई बर्ष अघि नियुक्त प्रा.डा केशरजंग बरालले दलगत राजनीतिक हस्तक्षेपले स्वतन्त्रता पूर्वक काम गर्न नपाएको गुनासो गर्दै गत चैत १६ गते राजिनामा दिएर बाहिरिएपछि विश्वविद्यालय नेतृत्व विहीन थियो । नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा मन्त्री पन्त संयोजकत्वमा गत जेठमा गठन गरिएको सिफारिस समिति सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव सदस्य थिए । प्रतिस्पर्धाका आधारमा उपकुलपति छनोट गर्ने थिती बिगारेर सिफारिस समितिले यस पटक अपनाएको शैली प्रति आलोचना भईरहेको छ ।
उक्त आलोचनाका बिच मन्त्री पन्तले गत सोमबार तीन जनाको नाम प्रधामन्त्री एवं कुलपति समक्ष सिफारिस गरेका थिए ।
दलगत राजनीतिक दबाबका कारण स्वतन्त्र तरिकाले काम गर्न नदिएको भन्दै अघिल्ला उपकुलपतिले राजिनामा गरेको चार महिना पछि अर्याल विश्वविद्यालय भित्रिएका छन् । उक्त पृष्ठभूमीमा नियुक्त भएका अर्यालका अघिल्तिर विश्वविद्यालयमा बढ्दो दलगत राजनीतिक प्रभाव निस्तेज पार्दै प्राज्ञिक र शैक्षिक वातावरणको विकास गर्नु पर्ने मुख्य चुनौती छ ।
विश्वविद्यालयमा कुन हद सम्म दलगत राजनीतिक हस्तक्षेप र प्रभाव छ भन्ने कुरा प५िछलो समय भएका तालाबन्दी र ताला खुलाउन अदालतले आदेश दिनु पर्ने अवस्थाबाटै छर्लङ्ग हुन्छ ।
प्रतिक्रिया