Edukhabar
सोमबार, १६ चैत्र २०८२
गतिविधि

विरोधाभाषमा रहेका शिक्षामन्त्रीको प्रष्टोक्ति

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री पोखरेलको उत्तर : विद्यार्थी तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो ।

सोमबार, १६ चैत्र २०८२

काठमाडौ - ब्रिज कोर्षका कक्षा सञ्चालनमा रोक लगाउने आफ्नो निर्णयमा आफै विरोधाभाषमा फसेका शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा ११ लक्षित ट्युसन सेण्टर र ब्रिज कोर्षलाई मात्रै रोक्ने निर्णय भएको प्रष्टोक्ति दिएका छन् । 

सोमबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नमा उनले एसइई दिइसकेका र कक्षा ११ मा जाने तयारीमा रहेका विद्यार्थीलाई ध्यान दिएर ब्रिज कोर्षका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय भएको बताएका हुन् । 

'यो कहाँबाट शुरु भयो भन्ने कुरा बुझ्नु जरुरी छ । अहिले हामीले एसईईको परीक्षा सकेका विद्यार्थीलाई प्राथमिकतामा राखेका छौं । तत्कालका लागि अहिले रोकिने भनेको एसईई सकेर कक्षा ११ मा जानेहरुका लागि खुलेका ट्युसन सेण्टर र ब्रिज कोर्षलाई भनिएको हो, एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्षले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको' उनले भने 'त्यो भन्दा माथिका विश्वविद्यालय तहका वा एमविविएस र ईञ्जिनियरिङ्का विद्यार्थी लक्षित सेण्टरहरु कानून बमोजिम दर्ता भएका हुनु पर्यो ।'

मन्त्रालयले आइतबार विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्नाका लागि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्षका कक्षा आगामी बैशाख १ गते देखि बन्द गर्ने निर्णय सहितको प्रेस विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्ति सार्वजनिक भएको केही घण्टामै मन्त्री पोखरेलले आफ्नो फेसबुक मार्फत् कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका अतिरिक्त कक्षाहरु ईन्ट्रान्स प्रिपरेसन र ब्रिज कोर्षहरु मात्रै बन्द गर्ने निर्णय भएको उल्लेख गरेका थिए । 

मन्त्रालयको वेवसाईट मार्फत् सार्वजनिक गरिएको उक्त विज्ञप्ति मन्त्री पोखरेलले हटाउन लगाएका थिए । यो घटनाले मन्त्रालय सम्हालेको दुई दिनमै शिक्षामन्त्री पोखरेल र मन्त्रालयका कर्मचारीबिच टसल भएको प्रष्ट देखिएको छ । ब्रिज कोर्षका नाममा हुँदै आएका कक्षा सञ्चालनमा रोक लगाउने विषयमा भएको निर्णयले राजनीतिक र प्रशासनिक नेतृत्वबिचको टसल छताछुल्ल बनाएको हो ।

पढ्नुहोस् : शिक्षामन्त्री र कर्मचारी बिच शुरुमै टसल 
 

प्रतिक्रिया