भूकम्प पछि समाज सामान्य बनाउन शिक्षकलाई सामान्य बनाउँदै छौं : बराल


- खगराज बराल, कार्यकारी निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र

भूकम्प पछि विद्यालयहरु खोल्ने मिति नजिकिदैं छ, तर कतिपय ठाउँमा शिक्षकहरु मानसिक रुपमा तयार नभएको जस्तो देखिन्छ, शैक्षिक जनशक्ति विकास केन्द्र शिक्षकलाई तालिम दिने निकाय, शिक्षकलाई कसरी अभ्यस्त बनाउने योजना छ ? 

त्यहि भएर केन्द्रले नीयमित शिक्षक तालिम कार्यक्रमलाई पनि भूकम्प पछिको अवस्थासंग ढाल्दै शिक्षकहरुलाई सामान्य बनाउने गरी तालिम चलाई राखेको छ । भूकम्पका कारण शिक्षकहरु आफैं पीडामा हुनुहुन्छ, विद्यालय भत्केको छ । विद्यार्थीहरु पीडामा छन् आफन्तहरु गुमाएको स्थिती छ । यो अवस्थामा शिक्षकहरुले विद्यालय जाने बातावरण बनाउने र आफू पनि पीडाबाट बाहिर आउने र विद्यार्थीको मनोभावनामा स्फूर्ति ल्याउनको निम्ति तालिमलाई त्यता पट्टि लैजानु पर्छ भनेर हामी लाग्यौं । अहिले धेरै चर्चाको विषय आएको छ – मनोसामाजिक परामर्श, वास्तवमा यो गाह्रो काम हो ।

यसलाई सरलीकरण गर्न हामीले मनोसामाजिक सहयोग भनेका छौं । किन भने हाम्रा सब शिक्षक प्रशिक्षक काउन्सिलर बन्न सक्दैनन् तर मन, चित्त बुझाउनको निम्ति उहाँहरुले धेरै तरिकाहरु प्र्रयोग गर्न सक्नु हुन्छ भनेर हामीले तीन दिने तालिम चलाईरहेका छौं । विद्यालय कसरी खोल्ने ? किन खोल्ने ? के के तयारी गर्नु पर्छ ? अपाङ् भएका बालबालिकासंग कसरी ब्यवहार गर्ने भन्ने उल्लेख गरेका छौं । दोश्रो चाँही हामीले तीन दिने तालिम चलाएका छौं । हामीले तालिम दिएपछि उहाँहरु जिल्लामा गएर दुई दिन तालिम चलाउनु हुन्छ । हाम्रो अपेक्षा के हो भने भूकम्पले धेरै क्षती भएका १४ जिल्लामा क्षती भएका ६ हजार विद्यालयका हरेक विद्यालयको एक शिक्षकले यो तालिम पाउन् र उनले आफ्ना सहकर्मीलाई पनि सिकेका कुरा आदान प्रदान गरुन् र विद्यार्थी संग पनि सिके अनुसार ब्यवहार गर्न सकुन् भन्ने हो ।

कसरी छनौट गर्नु भयो तालिममा शिक्षक ?

अहिले हामीले मुख्य प्रशिक्षक छनौट गरेर प्रशिक्षण दिएका हौँ । हामीले जिल्ला शिक्षालाई भन्यौं उहाँहरुले पठाउनु भयो । अव हरेक जिल्लमा हरेक श्रोत केन्द्र अन्र्तगत एउटा समूह बनाएर यहाँ सिक्नुभएका शिक्षकहरु जानुहुन्छ । अहिले शिक्षक, विद्यालय निरिक्षक श्रोत ब्यक्ति सबै छन् । शिक्षक महासंघको समेत सहयोगमा शुरु गरिएको तालिम अन्र्तगत पहिलो चरणमा जेठ ६ गतेबाट तीन दिन र दोश्रो चरणमा १० गते बाट १२ सम्म को तालिम हो । प्रत्येक पटक २६– २६ जनालाई प्रशिक्षण दिएका छौं । भूकम्पले धेरै क्षती पुर्याएका १४ जिल्ला मध्ये पहिलो चरणमा उपत्यकाका तीन सहित काभ्रे, सिन्धुपाल्चोक र धाँदिङ्का शिक्षकलाई तालिम दियौं । उहाँहरु अहिले जिल्लामा तालिम चलाउन शुरु गरी सक्नु भएको छ । दोश्रो चरणमा सहभागि ८ जिल्लाका शिक्षकहरु पनि तत्कालै जिल्लाका विभिन्न ठाउँमा पुग्नु हुन्छ ।

के सिक्छन् त शिक्षकहरुले यो तालिममा ?

पहिला त भूकम्पको बारेमा सामान्य जानकारी छ । भूकम्पमा के गर्ने भन्ने । भूकम्प आउँदा कसरी बच्ने भन्ने बारेमा यस पूर्व हामीले सिकेका सिप ज्ञान कतिपय अवस्थामा काम लाग्दो नभएको जस्तो पनि देखियो । भूकम्प जहिले पनि जान सक्छ भन्ने सोचेर भूकम्पको बेला के गर्ने ? भूकम्प आईसकेपछि गर्ने के ? अनी अहिले त सामान्य पराकम्पनहरु आईरहेका बेला यसलाई सामान्यिकरण कसरी गर्ने ? भन्ने नै हो । यो बेला कतिपय ठाउँमा विद्यार्थीसंग कापी कलम, किताव नभएको अवस्था पनि छ । यो बेला विद्यालय बोलाएर   बिना पाठ्य पुस्तक पनि कसरी पढाउने ? विद्यार्थी पीडामा छ भने उसलाई कस्तो किसिमको कृयाकलाप गर्ने ? जस्तो गीत गाउने, खेल खेल्ने, चित्र कार्ने, अन्य मनोरञ्जनका कार्य गर्ने र आफ्ना मनमा भएका पीडा साथी भाई संग शेयर गर्ने बातावरण बनाउन शिक्षकले कसरी सघाउने भन्ने नै मुख्य ध्येय हो । भूकम्पको निउँमा बालबालिका दुरुपयोग हुने सम्भावना पनि छ । त्यो बाट कसरी जोगिने ? बा आमालाई कसरी सहयोग गर्ने ? घर भत्केको छ अथवा भत्कन लागेको छ भने कसरी सुरक्षित बन्न लगाउने भन्ने कुरा नै यो तालिमको मुख्य कुरा हो ।

यहाँले अघि नै भन्नु भयो यो नीयमित तालिमकै रुपमा भूकम्प केन्द्रित गरेका हौं भनेर । त्यो हो भने तालिम पनि केन्द्रकै प्रशिक्षकबाट दिदैं हुनु होला यी सबै कुरा उनीहरुले सिकाउन सक्छन् त ?

पाठ्यक्रम र शिक्षण पद्धती कसरी गर्ने भन्ने बारेमा हाम्रै प्रशिक्षकहरु दक्ष हुनुहुन्छ । तपाईले भने जस्तो अन्य विषय र क्षेत्रका लागि हामीले विषय विज्ञहरु जुटाएका छौं । जस्तै संगीत अन्र्तगत छुट्टै हुनुहुन्छ । उहाँहरुले गीत संगीतका कुरा सिकाउनु हुन्छ । कक्षागत गितहरु गाएरै पनि त विद्यार्थीलाई मनोरञ्जन दिन सकिन्छ नी । कक्षा १ देखि ५ सम्मका बाल गीत नै रेकर्ड भैसकेकै छन् । त्यसैले यस्ता कृयाकलापबाट विद्यार्थीलाई घुलमिल बनाउनु पर्छ भनेर हामीले कक्षा र विषय विज्ञ तय गरेका छौं ।

कत्तिको प्रभावकारी होला त तालिम ? किन भने यस अघि शिक्षकलाई दिएको तालिम कक्षा कोठामा नपुगेको हामीले पनि देख्दै आएकै छौं । यो पटक कसरी विश्वस्त हुनुहुन्छ की शिक्षकलाई दिएको तालिमले विद्यार्थीको मनमा रहेको भूकम्पको त्रास घटेर खेल्दै रमाउँदै विद्यालय शुरु होलान् भन्ने ?

तालिम प्रभावकारी नभएको त हैन । तर कक्षामा प्रयोग नभएको मात्रै हो । तर अहिलेको अवस्था अलिक विशेष पर्यो के । विद्यालयमा पठन पाठनको विशेष अवस्था यो भन्दा पहिला थिएन । शिक्षक, सञ्चारकर्मी, दलका कार्यकर्ता, सामाजिक कार्यकर्ता सबैले भूकम्पको पीडालाइ कसरी कम गर्ने भनेर लागिरहेको अवस्था छ नी अहिले त । यसकारण शिक्षक पनि अलिक संवेदनशील हुनु भएको छ अहिले ।

विद्यार्थी अभिभावक अलिक पीडामै छन्, घरबार आफन्त गुमेका छन् । यस्तो अवस्थामा शिक्षकहरुले विद्यार्थीलाई कसरी सामान्य बनाउन सक्लान् भन्ने ...

तपाईले भनेको कुरा एकदमै सान्दर्भिक के भने जुन बच्चाले आफन्त गुमाएका छन्, आँखै अगाडी घर ढलेको देखेका छन् । ती बच्चाहरुलाई अलिक गम्भिर नै हुनु पर्छ । जो बालबालिका भूकम्पको बेला अभिभावकसंग थिए उनीहरुलाई हामी ठूला मान्छेको तुलनामा कम सक परेको छ । यस्ता बालबालिकाको सक अलिक रमाईलो बातावरण पाए भुल्ने खालको हुँदो रैछ । त्यसैले विद्यालयमा अलिक रमाईलो बातावरण बनाऔं भनेको हो । शिक्षकको दायित्व धेरै छ । एक त उहाँहरु आफैंले आफँलाई सम्हाल्नु पर्ने छ । अर्को विद्यार्थीलाई सम्हाल्नु पर्ने छ । तेश्रो उहाँको पनि परिवार छ त्यता पनि ध्यान दिनु पर्यो । त्यसैले यत्रो विपत्ति पछि समाजलाई सामान्य बनाउन अथवा विद्यालयहरुलाई सामान्य बनाउन शिक्षकलाई नै सामान्य बनाउन लागेका हौं ।