Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

परीक्षा बोर्डमा पौडेल, ऐन जारी भएको १५ महिना पछि बल्ल नियुक्ति

सोमबार, २३ असोज २०७४

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्टार प्रा.डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नियुक्ति गरेसँगै पौडेलले बोर्डलाई स्वायत्त संस्थाका रुपमा विकास गर्ने योजना बनाएको प्रतिकृया दिए ।

'देशको लागि काम गर्ने हो' एडुखबरसँग उनले भने, 'परीक्षाको अन्तर्राष्ट्रिय मान्यताका आधारमा संस्थालाई अघि बढाउने योजना बनाएको छु, विस्तृत योजना पछि औपचारिक रुपमा सार्वजनिक गर्ने छु ।'

शिक्षा ऐनमा भएको आठौं संशोधनले तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्लाई परीक्षा बोर्डमा रुपान्तरण गरेर विद्यालय तहको परीक्षा व्यवस्थापन गर्ने ब्यवस्था गरे पनि ऐन जारी भएको १५ महिना पछि बल्ल अध्यक्षको नियुक्ति भएको हो ।

यस अघिकै शिक्षा मन्त्री धनिराम पौडेलका पालामा प्राप्त निवेदनहरु मध्ये पौडेल सहित ३ जनाको नाम लोकसेवा आयोग पठाईएको थियो । शिक्षा मन्त्रालयमा लामो समय कार्य गरेका पूर्व सचिव द्धय महाश्रम शर्मा र जनार्दन नेपाल सहित पौडेलको नाम सिफरिस गरिएको थियो । लोकसेवा आयोगले साउन १६ मा अध्यक्ष नियुक्ति गर्न पौडेलको सिफारिस गरेको थियो ।

सिफारिस भएको यतिका समय सम्म पनि राजनीतिक स्वार्थका कारण नियुक्ति नगरेको भन्दै शिक्षा मन्त्री गोपालमान श्रेष्ठको आलोचना हुँदै आएको थियो ।  पौडेल मााओवादी निकट मानिन्छन् । आफू निकटका ब्यक्तिलाई नियुक्ति गर्न मन्त्री श्रेष्ठले चलखेल गरेपनि सिफारिस गरिसकेको नाम बदल्न नसक्ने लोकसेवा आयोगको अडानका कारण मन्त्री श्रेष्ठ पौडेलको नियुक्ति गर्न बाध्य भएका हुन् ।

२०२० सालमा कास्कीको रुपा गाउँपालिका (तत्कालिन थुम्कि गाविस) मा जन्मेका पौडेल २०६८ देखि २०७२ सम्म त्रिविको रजिष्टार थिए । रजिष्टार हुँदा हुँदै २०७० सालमा प्राध्यापक भएका उनी ०४२ देखि ०५० साल सम्म नापी विभागमा प्राविधिकका रुपमा कार्यरत थिए । सरकारी जागिर छाडेर विश्वविद्यालय प्रवेश गरेका उनले गोर्खा सहित पृथ्वीनारायण क्याम्पस पोखरामा समेत पढाए । उनले भारतको चण्डिगढबाट तथ्याङ्याकमा विद्यावारिधि गरेका हुन् ।   

प्रतिक्रिया