Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

पुस्तकालय ऐन निर्माणको प्रकृया तत्कालै शुरु गर्ने शिक्षा मन्त्रीको भनाई

मंगलबार, १५ भदौ २०७२

काठमाडौं १५ भदौ / शिक्षा मन्त्री देखि मन्त्रालयका उच्च पदस्थ कर्मचारीले पुस्तकालय ऐन निर्माणको प्रकृया तत्कालै शुरु गर्ने बताएका छन् । मंगलबार परेको आठौं पुस्तकालय दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै शिक्षा मन्त्री चित्रलेखा यादव स्वयंले पुस्तकालयलाई व्यवस्थित गर्न आवश्यक नीति र कानुनको अभाव रहेको भन्दै कानुन बनाउन शिक्षा मन्त्रालय तत्पर रहेको बताईन् । नीति र कानुन बने मात्र काम गर्न सहज हुने भएकाले काम गर्ने नीति बनाउन शिक्षा मन्त्रालय सकारात्मक रहेको उनको भनाई थियो ।

कार्यक्रममा शिक्षा सचिव विश्व प्रकाश पण्डितले सबैको सहयोगमा पुस्तकालय ऐन बनाउने बताए । उनले सरकारी क्यालेण्डरमा आगामी वर्षदेखि पुस्तकालय दिवस राख्ने तयारी गरेको जानकारी दिए । उनले बैशाख १२ गतेको महाभुकम्पमा राष्ट्रिय पुस्तकालय लगायत विभिन्न क्षेत्रका पुस्तकालयमा क्षति पुगेकाले बजेट विनियोजन गरेर समयमा नै तिनीहरुको पुर्नसंरचना गर्ने बताए ।

त्यस्तै सह–सचिव डा. लवदेव अवस्थीले पुस्तकालयलाई सजाउने भन्दा ज्ञानको माध्यम बनाउनमा जोड दिनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनीधि न्यौपानेले सरकारले राष्ट्रिय पुस्तकालयलाई स्थान उपलब्ध गराउन नसक्ने हो भने त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराउन सक्ने बताए । उनले राष्ट्रिय पुस्तकालयको आफ्नो भवन नभएकाले शिक्षा क्षेत्रको अवस्था एकदमै नाजुक रहेको टिप्पणी गरे । 

कार्यक्रममा गौरिशंकर उमावि, हेम्जा; श्री सिद्ध उमावि, पोखरा; श्री चण्डी मावि, भरतपोखरी; र हाइवान सामुदायिक पुस्तकालय, लेखनाथ नगरपालिकालाई एसिया फाउण्डेसनले पुस्तक उपलब्ध गरायो । अझै ६५ वटा विभिन्न विद्यालय र पुस्तकालयलाई १० हजार पुस्तक वितरण गर्ने जानकारी दियो । कार्यक्रममा पुस्तकालय क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै स्मारिकाको विमोचन समेत गरियो ।

प्रतिक्रिया