Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

सुरक्षा भए बन्दमा पनि विद्यालय खोल्ने

शुक्रबार, ०४ भदौ २०७२

काठमाडौं ४ भदौ / सरकारले सुरक्षा दिएमा बन्दका बेला पनि विद्यालय खोल्न तयार रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले जनाएको छ ।

सीमांकनको विरोध गर्दै विभिन्न दल तथा संघ संगठनले बन्द गर्ने क्रम बढेपछि प्याब्सनले सुरक्षा र उचित क्षतिपुर्तिको ब्यवस्था गरेमा विद्यालयहरु खोल्न सकिने बताएको हो ।

राजनीतिक अस्थिरताले शिक्षा क्षेत्रलाई असर परेको भन्दै प्याब्सनले बन्द, हड्तालका बेला पनि विद्यालयहरु खुल्न पाउनु पर्ने माग समेत राखेको छ । विरोधका नाममा गरिने बन्दले शिक्षा क्षेत्र र बालबालिकामाथि प्रतिकुल असर परेको तथा अध्ययनका लागी विदेशीने प्रवृत्तिले बढवा पाएको भन्दै प्याब्सनले राज्यको ध्यानाकर्षण समेत गराएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्याब्सनका वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फेले बन्दको अघिल्लो दिनै धम्की आउनाले असुरक्षित महसुस हुने र बाध्य भएर विद्यालय बन्द गर्नु परेको बताए ।

कार्यबाहक महासचिव राजेन्द्र बाँनियाले कैलाली, बाँके, झापा लगायतका जिल्लामा जस्तै राजनीतिक दलहरुले सहमती गरेर आन्दोलनका बेलामा पनि शैक्षिक संस्था खुल्ने वातावरण बनाउन माग गरे । उनले दलहरुलाई विद्यालयलाई शान्ति क्षेत्र घोषणामा जनाएको सहमती सम्झन पनि आग्रह गरे ।

राज्यले सुरक्षाको व्यवस्था गर्न नसकेकाले बन्दको बेलामा आँट गरेर विद्यालय खोल्न नसकेको उनको भनाई छ । 

प्याब्सनले शिक्षा क्षेत्रलाई अबरोध शुन्य क्षेत्रमा परिणत गरी विना रोकटोक शिक्षण संस्था सञ्चालन हुने र बालबालिकाले भयरहित तवरले अध्ययन गर्न पाउने वातावरण सृजनाका लागि सहयोग पु¥याउन सरकार, राजनीतिक दल, पेशागत तथा मानव अधिकार संघ–संस्था एवं नागरिक समाजलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया