Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

उत्कृष्ट १२ विद्यालयलाई पुरस्कार

विहीबार, २८ साउन २०७२

काठमाडौं २८ साउन / विभिन्न जिल्लाका १२ वटा विद्यालयलाई ब्रिटिस काउन्सीलले इन्टरनेसनल स्कुल्स अवार्ड प्रदान गरेको छ । कनेक्टीङ् क्लासरुम परियोजना अन्तरगत नौ जिल्लाबाट २२ विद्यालयले आवेदन गरेकोमा, १२ विद्यालयलाई पूर्ण अवार्ड प्रदान गरिएको हो ।

पुरस्कार प्राप्त गर्ने विद्यालयमा कास्कीको सिर्जना सामुदायिक माध्यमिक विद्यालय, पाल्पाको सेन्ट क्यापिटानियो स्कुल, आदर्श अँग्रेजी आवासीय माध्यमिक विद्यालय पर्वत, दुर्गा निम्न माध्यमिक विद्यालय, बाग्लुङ्, दिल्ली पब्लिक स्कुल धरान र अचाने उच्च माध्यमिक विद्यालय, धादिङ् रहेका छन् । यस्तै काठमाडौंका त्रैविद्या शिक्षा सदन, सकल्या स्कुल (युरो किड्स, छाउनी), रिलायन्स इन्टरनेसनल एकेडमी र बेबिलन नेशनल स्कुल     रहेका छन् ।

यसैगरी झापाका कर्णाली एजुकेशन फाउन्डेशन र सूर्यज्योति निम्न माध्यमिक अँग्रेजी आवासीय विद्यालय रहेका छन् ।

पुरस्कार वितरण गर्दै शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक खगराज बरालले विद्यालयले चाहे भने गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने पुष्टि भएको बताए । पाठ्यक्रममा आधारित पढाई र निरन्तर मूल्याँकन गर्ने हो भने विद्यालयको सिकाई स्तर बढ्ने उनले बताए । पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले विद्यालय बाहिर रहेकालाई भित्र्याउने काम लगभग सकिएको तर गुणस्तरीय शिक्षा दिने काम बाँकी रहेको अवस्थामा यस्ता कार्यक्रमले विद्यालयहरुलाइृ प्रोत्साहित गर्ने बताए । चुस्त ब्यवस्थापन र सक्षम शिक्षक भए विद्यालयको सिकाई स्तर बढ्नेमा शंका नरहेको यो परियोजनाले पुष्टि गरेको उनले बताए ।

ब्रिटिस काउन्सीलका कन्ट्री डाइरेक्टर ब्रेन्डन म्याक्शेरीले अवार्डका माध्यमबाट विद्यार्थीको विकासका महत्वपूर्ण तत्वहरुलाई पाठ्यक्रममा समावेश गराउने प्रयत्न गर्ने बताए ।

परियोजनामा सहभागी विद्यालयहरुले पेश गरेको प्रमाण कागजातहरुको फाइलहरु मूल्याङ्कन गरेर विद्यालयहरु छनौट गरिएको काउन्सिलका स्कुल प्रोजेक्ट म्यानेजर अशिम खरेलले बताए । यसका लागि काउन्सील, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरुको समूह निर्माण गरिएको र सोही टोलीले विद्यालयको स्थलगत अध्ययन, विद्यालयले पेश गरेका प्रमाणका आधारमा विद्यालयलाई अवार्ड प्रदान गरिएको उनले जानकारी दिए ।

हरेक बर्ष भदौ असोज तिर इच्छुक विद्यालयहरुबाट आवेदन माग गरिन्छ र उनीहरुकै आवेदनका आधारमा विद्यालयहरु छनौट गरिन्छन् । उनीहरुलाई आफ्ना अन्तर्राष्ट्रिय कार्यको अभिलेख र मूल्याङ्कन गरी पाठ्यक्रममा समावेश गराउन ब्रिटिस काउन्सीलले निश्चित मापदण्ड प्रदान गर्छ । युवायुवतीहरुमा विश्व नागरिकताको भावना हुर्काउन–बढाउन तथा शिक्षण सिकाइलाई अभिबृद्धि गर्ने यसको उद्धेश्य रहेका काउन्सिलले जनाएको छ ।

पूर्ण अवार्ड प्राप्त गर्ने विद्यालयहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनुका  साथै तीन बर्षको अवधिका लागि मसलन्द तथा प्रवद्र्धनात्मक सामग्रीहरुको सहयोग गरिन्छ ।

डिएफआईडीको लगानीमा काउन्सीलद्धारा लागु गरिएको कनेक्टीङ् क्लासरुम्स युवायुवतीलाई विश्वव्यापी अर्थ व्यवस्थामा जिवनयापन र कार्य गर्ने ज्ञान, सीप र मूल्यहरुको विकास गराउनुका साथै स्थानीय र विश्वव्यापी रुपमा सकारात्मक योगदान पु¥याउन तयार गरिएको परियोजना हो ।
शिक्षक र विद्यालय नेतृत्वहरुको पेशागत विकास, बेलायत र नेपालका विद्यालयहरु बीच दीगो साझेदारी, नीति निर्माताहरुका लागि पेशागत संवादको अवसर, सिकाई उपलब्धी प्रदान गर्न शिक्षकहरुलाई सहयोगका निम्ती उच्च गुणस्तरीय स्रोतहरुको अनलाइन पहुँच कनेक्टिङ् क्लासरुम्सको उद्धेश्य रहेको काउन्सिलले जनाएको छ ।

शिक्षा मन्त्रालयले अनुमोदन र सहयोग गरेको उक्त परियोजनाबाट नेपाली विद्यालयहरु पुरस्कृत भएको यो तेश्रो बर्ष हो ।

प्रतिक्रिया