Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

एडुखबरका प्रधान सम्पादक ‘बोर्डरलाइन राइटर सर्कल’ मा छनौट

शनिबार, १६ साउन २०७२

क्यानडा १६ साउन / एडुखबर डट कमका प्रधान सम्पादक तथा कथाकार अनमोलमणि ‘बोर्डरलाईन राइटर सर्कल–२०१५’ मा छनौट भएका छन् । क्यानडाको अल्बर्टा राज्यस्थित एडमण्टन निवासी आप्रवासी लेखकलाई राइटर्स गिल्ड अफ अल्बर्टा (डब्ल्युजिए)ले खुला प्रतिस्पर्धाका आधारमा उनी सहित ६ जना आप्रवासी लेखकलाई छनौट गरेको हो ।

डब्ल्युजिएले आफ्नो वेवसाइटमा चीलीकी सुसना चलौट (कवि), बंगलादेशका फाहिम हसन (ब्लगर तथा निबन्धकार), रसियाकी मारिना इभानोभा (कथाकार तथा स्क्रिप्ट लेखक), इजिप्टका यासिर अब्देल लतिफ (कवि, उपन्यासकार तथा अनुवादक) र म्याक्सिकोकि अल्मा मान्सिला (उपन्यासकार तथा कवि) छनौटमा परेको डब्लुजिएले जनाएको छ ।

क्यानडामा आप्रवास आउनु अघि आफ्नो मुलकमा लेखनलाई पेशाका रुपमा अपनाएका, निरन्तर लेखिरहेका र भोलि पनि लेखनलाई निरन्तरता दिनेहरुको प्रतिभालाई यथावत राख्न, क्यानेडियन वातावरणमा लेखन अवसर दिन र क्यानेडियन लेखनको प्रवृत्तिलाई नजिकबाट चिनाउन हरेक वर्ष ४ देखि ६ जना लेखकलई बोर्डरलाईनमा छनौट गर्ने गरिएको पनि संस्थले जनाएको छ ।

यसअघि राइटर सर्कलमा छनौट भएका लेखकहरुको पुस्तक सार्वजानिक गर्न जुलाई २८ मा आयोजित कार्यक्रममा राइटर्स गिल्ड अफ अल्बर्टाकी जुलियन रविन्सनले यसवर्ष कार्यक्रममा छनौट भएका लेखकहरुबारे जानकारी दिएकी थिइन ।

छनौटमा परेका प्रत्येक लेखकलाई अल्बर्टा प्रान्तमा रहेका स्थापित लेखकको मेण्टरसिप प्रदान गरिनेछ । १० महिना अवधिको यस कार्यक्रममा आप्रवासी लेखकहरुले आफ्नो भाषामा मौलिक सिर्जना गरेर अंग्रेजी अनुवाद गरी तोकिएको मेण्टरसित आफ्नो सिर्जनाबारे छलफल गर्नेछन् । १० महिनापछि उनीहरुको सिर्जना संग्रहित भएर प्रकाशित हुनेछ ।

कार्यक्रम अवधीको १० महिनासम्म छनौटमा परेका लेखकहरु एडमण्टनमा हुने साहित्यि, कला तथा अन्य सिर्जनात्मक कार्यक्रमहरुमा सहभागिता जनाउने, यहाका प्रकाशक तथा लेखकहरुसित अन्तरक्रिया गर्ने अवसर पाउने छन् । लेखकहरुलाई रेजिडेन्सियल राइटिंगको अवसर पनि प्रदान गरिने संस्थले जनाएको छ ।

डेढ दशकभन्दा बढी मूलधारको पत्रकारितामा सक्रिय अनमोलमणिका सुन्ने किताब (अडियो बुक) सहित कथा संग्रह ‘नीलिमा र गाढा अँध्यारो‘ (२००९), कविता संग्रह ‘सबुत‘ (२०११) पचासको दशकका युवा कथाकारका कथाहरुको संग्रह ‘आजका नेपाली कथा‘(संपादन २०११) र गजल संग्रह ‘नदी किनारमा उभिएर‘ (२००४) प्रकशित छन् । गायक तथा संगीतकार हरि लम्सालको स्वर संगीत तथा उनको शब्दको गीति एल्बम अमूल्य २०१५ पनि प्रकाशित छ ।

अन्तराष्ट्रिय बजारमा पहुँच नभएका आप्रवासी लेखकहरुको सिर्जनालाई प्रभावकारी बनाउन यसले मद्यत गर्ने अनमोलमणिले बताए । ‘सिक्नका लागि यो एउटा राम्रो अवसर हो भन्ने ठानेको छु’, उनले भने, ‘स्थानीय तहको कार्यक्रम भए पनि यसले लेखनमा नया पन दिन सक्छ । सिर्जनामा आफ्नो स्तर मापन गर्न, थप सिर्जना गर्न र अन्तराष्ट्रिय बजारमा आफूलाई उभ्याउन हौसला प्रदान गर्न सक्छ ।’

दश महिनाको उक्त कार्यक्रम अवधीमा १० वटा कथा लेख्ने उनले बताए । ‘मेरो अंग्रेजी कथानै लेख्ने स्तरको छैन, नेपाली भाषामा लेखेर अंग्रेजीमा अनुवाद गर्नेछु’, उनले भने । यसअघि छनौट भएका नेपाली लेखक शर्मिला पोखरलेलले ‘परदेशमा मेरो देश‘ (माइ कन्ट्रिी इन फरेन ल्यान्ड(२०१४) प्रकाशित गरेकी थिइन् । पुष्पराज आचार्यको कविता संग्रह (अंग्रेजीमा) प्रकाशनको तयारीमा छ ।

कार्यक्रममा यसअघि बोर्डरलाइन राइटर सर्कलको छनौटमा परेका चार पुष्पराज आचार्य, शर्मिला पोखरेल र युकारी मेलड्रमको कविता तथा कलाकार टिफेनी एडाएरको कला समेटिएको पुस्तक यही सार्वजानिक गरिएको थियो ।

सन् २०१२ बाट सुरु भएको यस कार्यक्रममा हरेक वर्ष एकजना नेपाली लेखकले अवसर पाएका छन् । पहिलो वर्ष कवि शर्मिला पोखरेल र दास्रो वर्ष पुष्पराज आचार्यले पनि यो अवसर पाएका थिए । अनमोलमणि छनौटमा परेका तेस्रो नेपाली लेखक हुन् ।

क्यानडा जानु अघि उनी कान्तिपुर दैनिकको सहायक वरिष्ठ उपसम्पादक तथा उपत्यका व्यूरोको संयोजक थिए । उनीसित नेपाल समाचारपत्र दैनिक लगायत विभिन्न साप्ताहि मासिक पत्रिका तथा रेडियोमा काम गरेको अनुभव छ । उनी एडुखबर डट कमका संस्थापक प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया