Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

भूकम्पका कारण अभिभावक गुमाएका विद्यार्थीलाई वार्षिक शुल्क मिनाहा

मंगलबार, २२ असार २०७२

काठमाडौं २२ असार / भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई बानेश्वर क्याम्पस शान्तिनगरले विभिन्न प्रकारको सहयोग घोषणा गरेको छ । क्याम्पसले भूकम्पका कारण अभिभावक गुमाएका विद्यार्थीलाई एक वर्षको सम्पूर्ण मासिक शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । सरकारबाट भूकम्प प्रभावित भएको परिचयपत्र प्राप्त गरेका विद्यार्थीलाई दुई महिना शुल्क मिनाहा र क्याम्पसमा हाल अध्ययनरत भूकम्प प्रभावित १४ जिल्लाका सम्पूर्ण विद्यार्थीलाई एक महिनाको शुल्क मिनाहा गरेको क्याम्पसले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर क्याम्पसले प्लस टु र स्नातक तहका विभिन्न संकायमा नयाँ भर्ना हुने भूकम्प प्रभावित १४ जिल्लामा स्थायी बसोवास भएका विद्यार्थीलाई एक महिनाको शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ । 

यस सुविधाबाट क्याम्पसमा हाल अध्ययनरत विद्यार्थीमध्ये झण्डै ४ सय बढी विद्यार्थी लाभान्वित हुने क्याम्पस प्रमुख रमेश कोइरालाले जानकारी दिए । सामाजिक उत्तरदायित्वको निर्वाह गर्दै भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न प्रेरित गर्ने हाम्रो उद्धेश्य हो, उनले भने, महंगो शुल्ककै कारण एसएससी पास भएका ती जिल्लाका कुनै पनि विद्यार्थी प्लस टु पढ्नबाट बञ्चित नहुन् भनेर सहायता घोषणा गरेका हौं ।  

भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई दिएको यो सहुलियतका अतिरिक्त छात्रवृत्ति कार्यक्रम पनि यथावत् रहने क्याम्पसका सह–प्राध्यापक कृष्णदेव यादवले बताए । जसअन्तर्गत प्लस टुमा भर्ना हुने ८५ प्रतिशत भन्दा माथि अंक प्राप्त गरेका विद्यार्थीलाई १२ महिना, ८० देखि ८५ प्रतिशत अंक प्राप्त विद्यार्थीलाई ९ महिना, ७५ देखि ८०  विद्यार्थीलाई ६ महिना, ७० देखि ७५ प्रतिशत अंक प्राप्तलाई ३ महिनाको शुल्क मिनाहा गर्ने कलेजले जनाएको छ । पत्रकार सम्मेलनमा प्राध्यापक संघ बानेश्वर क्याम्पस इकाइका सभापति कृष्ण हमालले सामुदायिक क्याम्पसहरु मध्येबाट बानेश्वर क्याम्पसले नै पहिलो पटक भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई लक्षित गरी सहयोगको घोषणा गरेको बताए । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०४८ सालमा स्थापित क्याम्पसमा स्नातकमा ब्यवस्थापन र मानविकि तथा कक्षा ११ मा यी सहित विज्ञान विषयको पठन पाठन हुन्छ । क्याम्पसमा अहिले १७ सय धेरै विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ । 

प्रतिक्रिया