Edukhabar
विहीबार, ०६ बैशाख २०८१
गतिविधि

निजी विद्यालय सञ्चालक ईमान्दार नहुँदा समस्या

सोमबार, १४ असार २०७२


ललितपुर १४ असार /
शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमालले स्थायी संरचना विनानै निजी विद्यालयहरुलाई अनुमति दिँदा विद्यार्थीको सुरक्षाको मुद्धा चुनौतीपूर्ण भएको बताएका छन् । निजी विद्यालय सञ्चालकहरु ईमान्दार नहुँदा थप समस्या भएको भन्दै उनले विद्यालय संधै अर्काको घरमा राख्ने तर त्यहि विद्यालयको कमाईले आफ्ना नाममा अन्तै जग्गा किनेर सम्पत्ति जम्मा पार्ने क्रम बढेको पनि बताए । निजी विद्यालयहरुलाई आवश्यकता भन्दा धेरै स्वतन्त्र छाड्दा समस्या भएको बताउँदै उनले कति बर्ष सम्म अर्काको घरमा विद्यालय चलाउने ? भन्ने बारेमा आफूहरु पनि समयमा स्पष्ट हुन नसक्दा समस्या भएको स्विकारे ।  

सुरक्षित विद्यालय हाम्रो आवश्यकता विषयक कार्यशालामा बोल्दै उनले विद्यार्थीको सुरक्षा दैविप्रकोपबाट मात्रै नहुने भन्दै एक दशक लामो द्धन्द्धका कारण पनि विद्यार्थीले असुरक्षा भोगेको बताए । शिक्षकको ब्यवहार, विद्यार्थी विद्यार्थी बिचको भेदभाव, कुपोषण लगायतका कुराहरुले समेत विद्यार्थीको सुरक्षा निर्धारण गर्ने उनले बताए । विद्यालयको संरचनागत सुरक्षाका लागि सरकार कृयाशिल रहेको उनको दावि थियो । 

कार्यक्रममा प्याब्सनका उपाध्यक्ष दिपिका रिमाल थापाले सुरक्षालाई ध्यान नदिई सुविधालाई मात्रै ध्यान दिएको स्विकार गर्दै घरबेटीले जस्तो विद्यालय बनाए त्यस्तैमा सञ्चालन गर्दा असुरक्षा बढ्दो रहेको बताईन् । त्यसैले सरकारले निजी क्षेत्रलाई सफ्ट लोन दिनु पर्ने उनले बताईन् ।  

कार्यक्रममा बोल्दै प्लान नेपालका कार्यक्रम ब्यवस्थापक सुभाकर वैद्यले विद्यालय र विद्यार्थीको सुरक्षाको पहिलो सर्त नै भौतिक संरचना भएको भन्दै भूकम्प जस्ता विपद्का बेला कमसेकम क्षती हुने गरी संरचना बनाउनु पर्ने बताए । विपद्का विषयमा पाठ्यक्रम नै बनाउनु पर्ने उनको सुझाव छ । 

सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले समुदायको सहभागिता विना सुरक्षित विद्यालय बन्न नसक्ने बताए । विद्यालयबाट अभिभावकलाई विमुख बनाउँदा दात्रृ निकायको मात्रै मुख ताक्ने प्रबृत्ति बढेको भन्दै उनले बर्षौ अघि विद्यालय खोल्दा श्रमदान गर्ने अभिभावक विद्यालय सुरक्षित बनाउन अहिले पनि उत्तिकै कृयाशिल हुने बताए । 

कार्यक्रममा शैक्षिक जनशक्ति विकास केन्द्रका उप निर्देशक डा. रोजनाथ पाण्डेले सुरक्षित विद्यालय अवधारणा र यसको आवश्यकता तथा सरकारको प्रयास विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्र माथि केन्द्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले टिप्पणी गरेका थिए । यस्तै ईको नेपालका अध्यक्ष रामचन्द्र न्यौपाने र शिक्षा विभागका ईञ्जिनयर झप्पर सिंह विश्वकर्माले सुरक्षित विद्यालयका आधारभूत औजार विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रम प्लानको सहयोगमा शिक्षा विभाग, ईको नेपाल र सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गरेको हो । 

प्रतिक्रिया