Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

विज्ञानलाई गणित विषय अन्र्तगत राखेकोमा आपत्ति

आइतबार, ०६ असार २०७२

काठमाडौं ६ असार / त्रिभुवन विश्वविद्यालयले शिक्षा शास्त्र संकाय अन्र्तगत ४ बर्षे विएड्को विज्ञान विषयलाई गणित विषय अन्र्तगत राखेकोमा सरोकारवालाहरुले आपत्ति जनाएका छन् । त्रिविले विज्ञान शिक्षा भित्रका फिजिक्स, बायोलोजी र क्यामेष्ट्रिलाई ९ सय, गणितलाई ६ सय र अन्य अनिवार्य विषयहरु गरी चार बर्षका लागि २ हजार पूर्णाङ्कको अंकभार हुने गरी पाठ्क्रम निर्माण गरेको छ । दुई बर्षे विएड्मा २ वटा विषय मुख्य हुनेमा चार बर्षेमा एउटा मुख्य र अरु सहायक विषय बनाईएको छ । विज्ञानका तीन विषय गणित अन्र्तगत सहायक विषय बनाएर पठन पाठन गर्न लागिएको हो ।

विज्ञान र गणित छुट्टा छुट्टै विषय भएकोले विज्ञानलाई गणित अन्र्तगत राख्नु उचित नहुने उनीहरुको तर्क छ । नेपाल विज्ञान शिक्षा समाजले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले दुई फरक विषयको संरचना नै फरक भएको भन्दै एकै ठाउँमा राखेर पठन पाठन गर्न नहुने बताएका छन् ।

कार्यक्रममा बोल्दै विषय समितिका अध्यक्ष रजनि राजभण्डारीले * विश्व ब्यापीरुपमा पनि यी दुई विषय फरक भएको भन्दै विज्ञान अन्र्तगतका तीनवटै विषयलाई मुख्य र सहायक मानेर पठन पाठन हुँदै आएको बताए । अहिलेको पूर्णाङ्क नै अपुग भएकोले बरु विज्ञानको पूर्णाङ्क थप गर्नु पर्ने उनको तर्क छ ।

शिक्षा मन्त्रालय योजना महाशाखा प्रमुख डा.लवदेव अवस्थीले पाठ्यक्रम निर्माण डिन कार्यालयले र कार्यान्वयन मन्त्रालयले गर्दा संयोजन गर्न कठिनाई भएको बताए । विद्यालय तहमा समेत विज्ञान विषयको पठन पाठन कमजोर देखिएकोले यसलाई छुट्टै बनाउनु उपयुक्त हुने उनको राय थियो ।

कार्यक्रममा समाजका अध्यक्ष प्रा.डा. केदार मान श्रेष्ठ, विषय समितिका सदस्य मोहन पौडेल, महेन्द्ररन्त क्याम्पसका प्रमुख कृष्णभक्त महर्जन, समाजका सदस्य ईन्द्रराज रिजाल लगायतले विज्ञान विषय छुट्टै बनाउनु पर्नाको आवश्यकताका बारेमा आआफ्ना धारणा ब्यक्त गरेका थिए ।

* सच्याईएको - सं

तस्विर : ईन्टरनेट

प्रतिक्रिया