Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

सामुदायिक विद्यालयको उत्तिर्ण प्रतिशत ७३ !

शनिबार, ०५ असार २०७२

ललितपुर ५ असार / सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि काम गर्दै आएको संस्था टीच फर नेपालका स्वयंसेवक आवद्ध ललितपुरका विद्यालयहरुको एसएलसी नतिजा ७३ प्रतिशत रहेको छ । दुई बर्ष अघि देखि ललितपुरका विभिन्न १५ सामुदायिक विद्यालयमा संस्थाले स्वयंसेवक खटाएर पठन पाठन गराउँदै आएको छ । उक्त विद्यालयहरुबाट एसएलसीमा सहभागि ३ सय ७० विद्यार्थी मध्ये ७३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको संस्थाले जनाएको छ । देशभर रहेका सामुदायिक विद्यालयको उत्तिर्ण प्रतिशत ३३ दशमलव १८ प्रतिशत छ  ।

'दुई बर्ष अघि पढाउन आउँदा, एक जना विद्यार्थी पनि पास भएका थिएनन् तर दुई बर्ष पछि ५० प्रतिशत विद्यार्थीहरु पास भएका छन् र विद्यालयको इतिहासमा पहिलो पटक दुईजना विद्यार्थी प्रथम श्रेणीमा पास भए' चण्डेश्वरी मा.वि सिम्ले, ललितपुरमा स्वयंसेवक रहेका  विजय मणि पौडेल भन्छन्, 'मैले पढाउने विज्ञान विषयमा सत् प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।'

'मैले पढाउने विषय अंग्रेजीमा सत प्रतिशत विद्यार्थी उत्तिर्ण भए' नारायणी उच्च मा वि, गिम्दीमा अंग्रेजी पढाउने प्रज्जवल खड्का भन्छन्, 'विद्यालयमा ८७ प्रतिशत विद्यार्थीहरु यसपाली उत्तिर्ण भएका छन् पोहोर साल जम्मा ३६ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण भएका थिए ।'
'हाम्रा विद्यार्थी र प्रज्ञार्थीले हासिल गरेको उपलब्धीमा हामीलाई गर्व छ, नतिजाले टिच फर नेपालको अभियानले सार्थकता पाएको छ' संस्थाका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले भने, 'यो बर्ष टिच फर नेपालका प्रज्ञार्थीले पढाउने बिद्यालयबाट उत्तिर्ण मात्र नभएर विशिष्ठ श्रेणी र प्रथम श्रेणीमा उत्तिर्ण भएका विद्यार्थीहरु पनि बढेका छन् ।'

उत्तिर्ण प्रतिशतलाई मात्रै भन्दा पनि विद्यार्थीको समग्र सिकाईलाई प्राथमिकतामा राखेर पठन पाठन गर्दै आएको संस्थाकी सञ्चार अधिकृत श्वेता बानियांले बताईन् । 

संस्थाले ललितपुर बाहेक सिन्धुपाल्चोकमा गतसाल र धनुषामा यहि बर्षबाट कार्यक्रम विस्तार गरेको छ । तीन जिल्लाका ३२ विद्यालयहरुमा आफ्ना स्वयंसेवक खटाए पनि एसएलसी दिने विद्यार्थीलाई भने स्वयंसेवकहरुले ललितपुरमा मात्रै पढाउँदै आएका छन् । ती स्वयं सेवकहरुले अन्य दुई जिल्लामा भने कक्षा ६ देखि ९ सम्म मात्रै पढाउँछन् ।

प्रतिक्रिया