Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

भूकम्प पछि कसरी पढाउने ? शिक्षकले पढ्ने सामग्री प्रकाशन

शुक्रबार, २२ जेठ २०७२

काठमाडौं २२ जेठ / शैक्षिक जनशक्ति विकास केन्द्रले भूकम्प पछिको अवस्थामा विद्यालय सञ्चालन गर्दा शिक्षक, विद्यार्थी तथा अभिभावकले खेल्नु पर्ने भूमिका, अपनाउनु पर्ने काईदा र सिक्नु पर्ने कुराहरु समेटिएको पुस्तिका प्रकाशन गरेको छ ।

भूकम्पले सिर्जना गरेको आपतकालीन अवस्थामा शिक्षक तथा विद्यार्थीहरूमा परेको मानसिक पीडामा मल्हम लगाउँदै विद्यालयहरू सञ्चालनमा ल्याउन सक्दो सहयोग पुर्याउने उद्धेश्यले पुस्तिका प्रकाशन गरेको केन्द्रले जनाएको छ । केन्द्रले निकै छोटो समयमा तयार गरेको पुस्तिकालाई शिक्षालयहरुको व्यवस्थापन, शिक्षकहरुका लागि स्वाध्ययन सामग्री भनेको छ ।

पुस्तिकामा विभिन्न ६ शिर्षकमा फरक फरक सामाग्री समाबेश गरिएको छ । भूकम्प पछि आपतकालीन  शिक्षाको आवश्यकता, विपद् पछि खानेपानी, सरसफाइ र स्वच्छतामा दिनु पर्ने ध्यान, भूकम्पका कारण अपाङ्गता भएका बाल बालिकाका लागि शिक्षाको व्यवस्था तथा बाल संरक्षण कसरी गर्ने भन्ने बारेमा जानकारी, शिक्षाका लागि मनोसामजिक सहयोग, भूकम्पपछिको आपतकालीन अवस्थामा पाठ्यव्रmम तथा शिक्षण र अस्थायी सिकाइ केन्द्रका बारेमा पुस्तिकामा भिन्ना भिन्नै सामाग्री समाबेश गरिएको छ ।

यस्तै विभिन्न ४ अनुसुचीमा विभिन्न संस्थाले तयार पारेका श्रोत सामाग्री सहित विपद्को समयमा आवश्यक पर्ने कुराहरु समेटिएको छ ।
पुस्तिकाले भूकम्प पछिको आपतकालीन अवस्थामा विद्यालयसँग सरोकार राख्ने शिक्षक विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिती जस्ता सरोकारवालाहरूलाई सुरक्षाको आवश्यक प्रवन्ध मिलाई विद्यालय सञ्चालनमा ल्याउनको लागि प्रेरित गर्ने अपेक्षा गरिएको केन्द्रका कार्यकारी निर्देशक खगराज बरालले बताए । ‘भूकम्पले उब्जाएको डर तथा मनमा भएको पीडालाई कम गर्दै संकटका बेला विद्यार्थी तथा विद्यालयको उचित व्यवस्थापन होस् भनेर पुस्तिका प्रकाशन गरेका हौं’ उनले भने ।

शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रले विगतदेखि नै शिक्षक तथा शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूका पेसागत विकास तथा दक्षता अभिवृद्धि गर्न विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन एवं सामग्रीहरू विकास र प्रकाशन गर्दै आएको छ ।

उक्त पुस्तिकाको सामाग्री एडुखबरले क्रमैसंग प्रकाशन गर्ने छ ।

प्रतिक्रिया