Edukhabar
विहीबार, ०३ जेठ २०८१
विचार / विमर्श

तीन घण्टा

शनिबार, ०८ पुस २०७४

छवि अनित्य, कथा र कविता लेखनमा सकृय छन् । अहिले शिक्षण पेशामा कार्यरत मकवानपुरको हेटौंडाका अनित्य  केही बर्ष अघि सम्म पत्रकारिता गर्थे । उनका कविता मानवीय स्वभावमा फैलँदै गएका विकृति प्रति झापड हान्ने हैसियतका हुन्छन् । गाउँले जीवन, समाज र प्रकृतिको रङ्ग भर्ने क्रममा शहरिया जीवनमा देखा परेका विसङ्गति उनको लेखनको मुख्य विषय हो । भानु श्री रचना पुरस्कार, २०७० एवम् राष्ट्रिय कविता महोत्सव २०७१, इटहरीमा प्रथम अनित्यको कविता संग्रह ’हल्ला’(२०७१) प्रकाशित छ । शिक्षा साहित्य श्रृखला अन्र्तगत यो साता उनकै कविता तीन घण्टा :

 

तीन घण्टा

के गर्छन् नानीहरू डेस्कमा घोप्टिएर ?

उनीहरू अक्षर लेख्छन् कि भविष्य?

 

यत्रो तीन घण्टा !

के के लेख्छन् नानीहरू

कलम ’क’

अनार ’अ’

एप्पल ’ए’

पँधेराको गाग्री

पखेराको घाँस

गोठालाको बाख्रा

खेतालाको मेलो

खल्तीको गुच्चा

मैदानको भकुण्डो

वनका चरा

खोलाका माछा

गट्टाको पीर

बाँदरको पुच्छर

 

ओहो !

के मात्र लेखिभ्याउनु

दिमागले के मात्र सम्झिनु

 

ए गार्ड बस्ने सर !

एकैछिन चुप लाग्नुस् न

तीन घण्टा पछि गरौँला देश बनाउने कुरा ।

प्रतिक्रिया