Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

शिक्षक आन्दोलन झण्डा बोकेर हैन पढाएर

आइतबार, २४ फागुन २०७१

काठमाडौं २४ फागुन / एकीकृत माओवादी निकट शिक्षक संगठनले अबको शिक्षक आन्दोलन झण्डा बोकेर नभई कक्षाकोठामा पढाएरै हुने निष्कर्ष निकालेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंको जिल्ला भेला पछि नव निर्वाचित अध्यक्ष भिम प्रसाद पोखरेलले सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने  बताए । ‘म अव सम्पूर्ण शिक्षकहरुलाई साथमा लिएर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लाग्नेछु ।’ उनले भने ‘शिक्षकहरुको आशा र भरोसालाई खेर जान दिन्न ।’

भेलाले संगठनका पदाधिकारीले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउने कृयाकलापलाई रोक्ने जनाएको छ । पहिलो चरणमा केन्द्रिय नेताहरुबाट शुरु गर्ने अभियान दोश्रो चरणमा सबै साधारण सदस्यहरुमा लागू गर्ने बताएको छ । 

भेलामा संगठनका केन्द्रिय अध्यक्ष भोला सापकोटाले कक्षा कोठाबाट  शैक्षिक सुधार गरेर शिक्षकहरुको आन्दोलन नयाँ दिशामा बढाउन नवनिर्वाचित समितिलाई आग्रह गरे ।

भेलाले पोखरेलको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा बासुदेव घिमीरे, उपाध्यक्षमा कमालदिन मिया, महिला उपाध्यक्षमा छाँया रेग्मी निर्वाचित भएका छन् । त्यस्तै सचिवमा नानीराम सापकोटा, सह सचिवमा सुमन लाल लामा र कोषाध्यक्षमा बाबुराम घिमिरे निर्वाचित भएका छन् ।

संगठनका केन्द्रिय महासचिव शंकर अधिकारी, उपाध्यक्ष रामप्रसाद अधिकारी, निर्वतमान जिल्ला अध्यक्ष बद्री दाहाल लगायतले गुणस्तरीय शिक्षा सुधारमा संगठनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया