Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

प्राविधिक शिक्षाको पाठ्यक्रम परिमार्जन गर्न सुझाव

शुक्रबार, १५ फागुन २०७१

भक्तपुर १५ फागुन / प्राविधिक शिक्षाको विकासका लागि समयानूकूल पाठ्यक्रमको परिमार्जन र उद्यमशीलतालाई संग संगै लैजान सरोकारवालाहरुले सुझाव दिएका छन् । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सीटीईभीटीले गरेको अन्र्तकृयाका सहभागिले यस्तो सुझाव दिएका हुन् ।

तालिम प्रदायक संस्थाका चुनौति, नीतिगत रुपमा आवश्यक स्पष्टता, समयानूकुल पाठ्यक्रम परिमार्जन लगायतका कुरामा छलफल भएको छ । ‘प्राविधिक शिक्षाको गुणस्तर सुधारका लागि आआफ्ना पक्षबाट के कस्ता पहल गर्ने भन्नेबारेमा छलफल भएको छ’ अनुसन्धान तथा सञ्चार विभागका निर्देशक सौरभराम जोशिले भने, ‘छलफलमा उठेका कुराहरुलाई कार्यान्वयनको चरणमा लैजान सीटीईभीटी अग्रसर हुने छ ।’

प्राविधिक शिक्षा पढाउँदै आएका संस्था, राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, यूएनडीपी, ईएफ लगायत प्राविधिक शिक्षामा लगानी गरिरहेका विभिन्न दातृ संस्थाका प्रतिनिधिलाई एकै ठाउँमा राखेर सीटीईभीटीले छलफल गरेको हो ।

कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव डा. रामहरी लामिछानेले पाठ्यक्रम परिमार्जन, शिक्षकहरुलाई आवश्यक तालिम जस्ता सुझावलाई संस्थाले गम्भिरताका साथ लिएको बताए । नीजि क्षेत्रको सहभागितालाई अझै धेरै विस्तार गर्दै प्राविधिक शिक्षाको बढोत्तरी गरिने पनि उनले बताए । दातृ निकायको सहयोग भईञ्जेल संस्था चलाउने, परियोजनाको अवधि सकिएपछि संस्थापनि हराउने चलनको अन्त्य गर्न नीजि क्षेत्रलाई उनको सुझाव थियो ।

सम्बन्धनका बारेमा पुर्नविचार आवश्यक भएको ठहर गर्दै उनले सीटीईभीटीले यसबारेमा कडाई गर्ने पनि बताए । ‘एउटै संस्थाले ३५ वटा सम्म विषय पढाउने सम्बन्धन लिएको छ, तर त्यहि अनुसार तालिमको संख्या नभएको फेला परेको छ ।’ उनले भने, ‘क्षेत्रगत हिसावमा सम्बन्धनको ब्यवस्था गर्ने योजना छ ।’

परिषद्ले ४० वटा आँगिक, ७३ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, ३ सय ७५ वटा सम्बन्धन प्राप्त निजी प्राविधिक शिक्षालय सञ्चालनमा रहेको जनाएको छ ।

प्रतिक्रिया