Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

सूर्योदयद्धारा साना निर्देशकलाई सम्मान

बुधबार, १३ फागुन २०७१

काठमाडौं १३ फागुन / सबै भन्दा सानो उमेरमा चलचित्र निर्देशन गरी गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सौगात विष्टलाई उनी पढ्ने विद्यालयले सम्मान गरेको छ । सूर्योदय आवासीय माध्यमिक विद्यालय, डिल्लीबजारमा कक्षा २ मा अध्ययनरत विष्टलाई विद्यालयमा भएको विशेष कार्यक्रममा जर्मन शिक्षाविद् प्रो डा. डां एफ. जे. राडामाकरले सम्मान गरेका हुन् ।

आठ वर्षका  विष्टले ‘लभ यू बाबा’ नामक चलचित्रको निर्देशन गरेका छन् । सम्मानित भएपछि विष्टले आमा, बुबा र विद्यालयको संयुक्त मिहिनेतबाटै आफूले सफलता पाएको बताउँदै समग्र देशकै इज्जत राख्न सफल भएकोमा खुसी व्यक्त गरे ।

यसैविच विद्यालयले बुधबार वार्षिक खेलकुद कार्यक्रम पनि सम्पन्न गरेको छ । कक्षा नर्सरीदेखि तीनसम्मका विद्यार्थीले मार्चपास लगायत विभिन्न आकर्षक खेलकुद ट्रयाक एण्ड फिल्ड एवम् मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

स्वस्थ विचारका लागि स्वस्थ शरीर र स्वस्थ शरीरका लागि खेल भएकोले सानै उमेरदेखि खेलकुदमा ध्यान दिदैं आएको विद्यालयका खेल संयोजक राजेन्द्र कपालीले बताए ।

विद्यालयका प्रिन्सिपल एवम् निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याव्सनका अध्यक्ष  लक्ष्य बहादुर के.सी. ले बालबालिकाको सर्वाङ्गीण विकास नै विद्यालयको उद्देश्य भएको बताए । सोही अनुसार अध्ययन अध्यापन र अतिरिक्त कृयाकलाप सँगसँगै लगिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि जर्मनी शिक्षाविद् राडामाकरले शारीरिक, मानसिक तथा आत्मिक सन्तुलन नै सफल जीवनको आधार भएको बताउँदै यसका लागि खेलकुदको भूमिका ठूलो हुने बताए । विद्यालयले गरेको बालकेन्द्रित एवम् बालसुलभ कार्यक्रमप्रति उनले प्रशंसा ब्यक्त गरे । कार्यक्रमका अवसरमा खेलकुदमा सहभागी उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई पुरस्कृत पनि गरियो ।

कार्यक्रममा दुई वर्षदेखि विद्यालयमा चाइनिज भाषा प्रशिक्षण गर्ने चाइनिज शिक्षिका वाङ् इङ् इङ् लाई पनि सम्मान गरियो ।

प्रतिक्रिया