Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

निमाविका प्रअ र विश्वविद्यालयका पूर्व उपकुलपति सम्मानित

मंगलबार, ०५ फागुन २०७१

काठमाडौँ ५ फागुन / शिक्षामा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको कदर स्वरुप कास्कीको भरतपोखरी स्थित शिशु कल्याण निमाविका प्रधानाध्यापक मन्त्रीलाल पौडेल र काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. सुरेशराज शर्मालाई सम्मान गरिएको छ । शिक्षा पत्रकार समूहको १५ औं वार्षिकोत्सवका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

सामुदायिक विद्यालय प्रति घट्दो आकर्षणका विचमा विद्यालयलाई अब्बल बनाएको भन्दै पौडेललाई सम्मान गरिएको हो । यस्तै प्राविधिक र व्यावसायिक शिक्षा तथा निजी क्षेत्रको पहिलो विश्वविद्यालय काठमाडौं विश्वविद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै शर्मालाई सम्मान गरिएको हो ।

सम्मान छनोट समितिका संयोजक सुदर्शन घिमिरेले, शिक्षा सुधारका लागि योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान गर्ने परम्परा अनुसार यस पटक शिक्षामा समर्पित व्यक्ति मध्ये शर्मा र पौडेललाई छनौट गरेको बताए ।

सम्मानित भएपछि शर्माले शिक्षा क्षेत्रमा लागेकाहरुले आफूले आफैंलाई पत्याउने हो शैक्षिक सुधार हुन बेर नलाग्ने बताए । अर्का सम्मानित पौडेलले आफ्नो विवेक बुद्धि र क्षमताले भ्याए समम राम्रो गर्न खोजेको बताउँदै सम्मानले थप प्रेरित गरेको बताए । 

कार्यक्रमका प्रमुख अतिथी परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र शिक्षाविद् प्रा. केदारभक्त माथेमा र समूहका अध्यक्ष सुदर्शन सिग्देलले उनीहरुलाई संयुक्त रुपमा सम्मान गरेका हुन् । मन्त्री पाण्डेले शिक्षाका नीति र कार्यक्रम तर्जुमा गर्दा बहुसंख्यक विद्यार्थीलाई राम्रो हुने गरी गर्नु पर्ने बताए ।

शिक्षाविद् माथेमाले सार्वजनिक शिक्षा नसुध्रे सम्म गरिब जनताको उत्थान नहुने भन्दे सबै भन्दा पहिले सार्वजनिक शिक्षाको सुधार गर्नु पर्ने बताए ।

शिक्षा मन्त्रालयका निमित्त सचिव डा. लवदेव अवस्थीले पत्रकारहरुको सूचना र समाचार सम्प्रेषणका माध्यमबाट शिक्षा सुधारमा टेवा पुगेको बताए ।

कार्यक्रममा पत्रकार युवराज घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले व्यावसायिक र विधागत पत्रकारितालाई बचाउन पत्रकार स्वयं प्रतिवद्ध र उत्तरदायी हुनुपर्ने बताए ।

समूहका अध्यक्ष सुदर्शन सिग्देलले शिक्षा पत्रकारिताको विकासका लागि समूहले पुरस्कार स्थापना गर्ने जानकारी दिए ।
यस अघि भएको बन्द सत्रमा महासचिव रोश्ना सुव्वाले साँगठनिक तथा कोषाध्यक्ष प्रदीप न्यौपानेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया