Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

विद्यालयको स्तरोन्नतीका लागि महायज्ञ

शुक्रबार, १८ पुस २०७१

काभ्रे १८ पुस / मथुरापाटी, फूलबारीमा रहेको भिमेश्वर निमावीले विद्यालयको शैक्षिक कृयाकलाप विस्तारका लागि आवश्यक आर्थिक श्रोत जुटाउन लगाएको सप्ताह महायज्ञ सकिएको छ । विद्यालयलाई मावि बनाउने तथा विद्यालयको स्तरोन्नतीका लागि लगाईएको महायज्ञमा १७ लाख ७५ हजार ९ सय ९६ रुपैंया उठेको छ ।

खर्च कटाएर ८ लाख ५५ हजार ७ सय ७५ रुपैंया बचत गरेको महायज्ञ समापन कार्यक्रममा जानकारी दिईयो । पुस १० गते देखि लगाईएको महायज्ञको समापन गर्दै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.चिरञ्जिवी नेपालले महायज्ञमा उठेको रकमले विद्यालयको स्तर उन्नतीमा सहयोग पुग्ने अपेक्षा गरे । उनले विद्यालयलाई आवश्यक पर्ने नीतिगत सहयोगका लागि आफू तयार रहेको पनि बताए । ‘स्थानीय स्तरमा हुने यस्ता कृयाकलापले एकातिर धार्मिक सद्भाव बृद्धि गरेका छन् भने अर्का तिर आर्थिक गतिविधि चलायमान बनाएको छ,’ उनले भने, ‘सरकारको सिमित श्रोतका बाबजुत हुन नसक्ने विकासका काममा यस्ता कृयाकलाप सहयोगि भएका छन् ।’

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहन दास श्रेष्ठले शैक्षिक विकासका लागि सहयोगि हातहरु पाएकोले आफूहरु उत्साही भएको बताए ।

कार्यक्रममा विद्यालयलाई आर्थिक सहयोग गर्ने समाजसेवी रवीन्द्र पुरी, राधा मास्के, विद्यालयका संस्थापक बसुनारायण श्रेष्ठ, स्थानीय गोविन्द घिमिरे, सप्ताह बाचक मुकुन्द नेपाल, उपबाचक मनोज नेपाल लगायतलाई सम्मान समेत गरियो ।

२०४६ साल चैत ७ गते स्थापना भएको विद्यालयमा अहिले २ सय ५० विद्यार्थी छन् । विद्यालय ब्यवस्थापन समितका अनुसार विद्यालयमा ४ शिक्षक दरबन्दि छ भने ५ जना शिक्षक निजी श्रोतबाट राखिएको छ ।

प्रतिक्रिया