Edukhabar
शनिबार, २१ भदौ २०८२
अन्तैवाट

उठ्दैछ पुरानो शिक्षालय

विहीबार, २४ फागुन २०७४

काठमाडौं २४ फागुन / लहरै बनेका जस्ताको टहरामा विद्यार्थी पढिरहेका छन् । तीनवटा समूहका विद्यार्थीचाहिँ खुला चौरमा प्रयोगात्मक कक्षामा सहभागी हुँदैछन् । उनीहरुको खानेबस्ने र पढ्ने सबै टहरा अस्थायी छन्।  

टहराका माथिल्लो र तल्लो क्षेत्रमा भने धमाधम विदेशी डिजाइनका सुन्दर र आकर्षक भवन बनिरहेका छन्। इँटाका मिलेका वाल, प्रायः एउटै खालका ट्रस्टसहित बन्न लागेका नयाँ भवन समान रुपमा देखिन्छन् । कम्पाउन्डभित्र लगिएका सडकमा एउटै स्वरुपमा सोलिङ हालिँदैछ।

देशकै पुरानो जिरी प्राविधिक शिक्षालयको नवनिर्माणको स्वरुप देखेर दोलखास्थित जिरी नगरपालिकाका मेयर टंक जिरेल निकै उत्साहित देखिन्थे । ‘भूकम्पले नराम्ररी ढालिदिएको यो शिक्षालयलाई अब पुनर्निर्माण गरेर चलाउन सकिँदैन भन्ने षड्यन्त्र बुनेर अन्यत्र लैजान खोजिएपछि हामी यहाँका स्थानीयलाई यो शिक्षालयलाई फेरि उठाउन निकै सकस प¥यो,’ शिक्षालय प्रांगणमा दुई वर्षअघिको विगत सुनाउँदै उनले भने, ‘यसको पुनर्निर्माणका निम्ति दाता स्विस सरकारलाई हात थापेपछि बल्ल देशकै पुरानो शिक्षालयलाई लयमा फर्काउँदैछौं ।’ शिक्षालय पुनर्निर्माण हुँदा स्थानीय निकै उत्साहित देखिन्छन्।

२०४० सालमा स्विस सरकारले बनाइदिएको यो शिक्षालयमा भूकम्पअघिसम्म ५० वटा भवन थिए । सुन्दर पर्यटकीय नगर जिरीबजारको मुटुमा रहेको शिक्षालयका एउटै स्वरुपका भवनले बजार सुन्दरता अझ बढाइदिएको थियो । भूकम्पले सबै भवन ध्वस्त पारिदियो।

शिक्षालय प्रमुख विष्णुहरि अधिकारीका अनुसार ६ महिना शिक्षालय बन्द भयो। ‘६ महिनापछि जिरीबासीको सहयोगमा स्थानीय स्रोतसाधन प्रयोग गरेर टहरा निर्माण गरी बल्ल पढाइ सञ्चालन गर्‍यौं,’ अधिकारीले भने। भूकम्पपछि पहिले चल्दै आएको छात्रावास राख्नै छाडियो । विद्यार्थी बाहिर बस्न थाले।

अस्थायी टहरामा पढिरहेका विद्यार्थीको बिजोग देखेपछि जिल्लाका जनप्रतिनिधि र स्थानीयले स्विस दूतावाससमक्ष सहयोगको हात फैलाए । ५० वर्षअघि देखि आफैँले पूर्वाधार विकास गरेको ठाउँमा भूकम्पले क्षतिग्रस्त भएको संरचना पुनः उठाउन स्विस सरकार सहमत भयो ।

शिक्षालय प्रमुख अधिकारीका अनुसार हाल १२ करोड लगानीमा आठवटा भवन निर्माण हुँदैछन्। ती भवन एउटै स्वरुपका छन् । १० हेक्टर जमिनमा फैलिएको शिक्षालयमा ५० वटा भवन बनाउने गुरुयोजना स्विस सरकारले बनाएको छ । त्यसका लागि १ अर्ब लगानी चाहिने प्रस्ताव गरिएको छ । पहिलो चरणमा शिक्षा मन्त्रालयसँग १२ करोड लगानी गर्ने सम्झौता गरेर काम थालिए पनि गुरुयोजनाअनुसार सबै काम सकिनेमा स्थानीय ढुक्क छन्।

स्विजरल्यान्डको जुरिच सहरसँग मिल्दोजुल्दो भूगोल भएका कारण जिरीको पूर्वाधार विकासमा २०१० साल देखि नै स्विस सरकारले सहयोग गरेको थियो। अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट जिरीसम्म २०४० अघि नै स्विस सरकारले सडक पुर्‍याएको थियो। स्विस विकास नियोगमार्फत त्यही बेलामा जिरी प्राविधिक शिक्षालय खोलिएको थियो।

सर्वोच्च शिखरमा पैदल यात्राको प्रारम्भ यहींबाट सुरु हुने भएकाले जिरीलाई सगरमाथा प्रवेशद्वार भनिन्छ । त्यही कारण जिरी आसपासका दोलखा, ओखलढुंगा, सोलुखुम्बु र रामेछाप जिल्लाका विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्न पाऊन् भनेर स्विस विकास नियोगले शिक्षालयको स्थापना गरेको मेयर जिरेल सम्झिन्छन् । सुरुमा विद्यालय शिक्षा (टेस्ट) पास गरेर उपल्लो तहमा अध्ययन गर्न नसक्नेहरुले दुईवर्षे र १५ महिने प्राविधिक विषय पढ्न भनेर खोलिएको शिक्षालयमा अहिले तीनवर्षे स्नातकसम्म पढाइ हुन्छ।

शिक्षालयमा अहिले चार सय ३२ जना विद्यार्थी अध्ययनरत छन् । प्राविधिक एसइसीतर्फ कृषि विषयको जेटिए, स्वास्थ्यको अनमी र निर्माणको सबओभरसियरको पढाइ हुन्छ। तीनवटै विषयमा ४० वटा कोटाका दरले बर्सेनि विद्यार्थी भर्ना हुन्छन् । यस्तै  स्नातकमा कृषि विषयको आइएससी इन एग्रिकल्चर पढाइ हुन्छ।

यहाँबाट पढाइ सकेर निस्केकामध्ये ८५ प्रतिशतभन्दा माथि रोजगारीमै छन् । ‘पढाइ सकेर निस्कने हरेक विद्यार्थीको रेकर्ड राख्ने चलन छ,’ शिक्षालय प्रमुख अधिकारीले भने,  ‘रेकर्ड पल्टाएर हेर्दा ८५ प्रतिशतभन्दा बढीको संख्यामा विद्यार्थीले जागिर पाउने गरेका छन् । जागिर दिने संस्था र दाताहरुले समेत यो शिक्षालयबाट आएका विद्यार्थीलाई विशेष प्राथमिकता दिन्छन्।’

नागरिकमा रमेश खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया