Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

नेपालका विश्व विद्यालयसँग सहकार्य गर्ने प्रस्ताव

बुधबार, २६ कार्तिक २०७१

काठमाडौं २६ कात्तिक / लिड्स बेकेट विश्वविद्यालय बेलायतका उपकुलपति प्रा. सुजान प्राईसले आफूहरु त्रिभुवन विश्व विद्यालय लगायतका नेपालका विश्व विद्यालयहरुसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छन् । बुधबार द ब्रिटिस कलेजले थापाथलीमा गरेको पत्रकार सम्मेलनमा उनले त्यसका लागि त्रिविका पदाधिकारीहरुसँग कुरा गर्ने बताइन् । विश्वविद्यालयले नेपालमा द ब्रिटिस कलेजसँग सहकार्य गरिरहेको छ ।

कलेजकै निमन्त्रणामा प्राईस सहित नायब उपकुलपति प्रा. पाउल स्मिथ र डिन मोहम्मद डास्टबेज सहितको टोलि मंगलबार काठमाडौं आएको हो । कलेजले गरेको स्वागत कार्यक्रममा उनले लिड्स बेकेट विश्वविद्यालय संसारभर उच्चस्तरीय शैक्षिक संस्थाहरुसँग सहकार्य गर्ने बताईन् । ‘हामी संसारभरका उच्चस्तरीय शैक्षिक संस्थाहरुसँग सहकार्य गर्न चाहन्छौं’ उनले भनिन् । उनले विश्वविद्यालयका तर्फबाट नेपाली विद्यार्थीहरुलाई छात्रबृतिको ब्यवस्था गर्न पहल गर्ने पनि बताइन् ।

यसैगरी, नायब उपकुलपति स्मिथले युकेको विश्वविद्यालयको डिग्री नेपालमा उपलब्ध गराएर नेपालमै राम्रो जनशक्ति उत्पादनमा सहयोग गर्न तत्पर रहेको बताए ।

कलेजका कार्यकारी निर्देशक राजन कडेंलले आफूहरुले अहिले लिड्स विश्वविद्यालयसँगको सम्बन्धमा बिएस्सी कम्प्युटिङ अध्यापन गराइरहेको जानकारी दिए । ‘माष्टर्स इन पब्लिक हेल्थ, मास्ष्टर्स इन इन्फर्मेशन म्यानेजमेण्ट र एमबीए एक्जुकेटीभलगायतका कोर्सहरु आगामी सत्रदेखि पढाउने तयारी भइरहेको छ,’ उनले भने । विश्वविद्यालयको टोलीसँग कलेजका विद्यार्थी, अभिभावक र कर्मचारीहरुले समेत अन्तक्रिया गरेका थिए ।

नेपाल भ्रमणमा रहँदा टोलीले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको कलेजका मार्केटिङ एण्ड पिआर म्यानेजर सुमन श्रेष्ठले जानकारी दिए ।

कलेजमा ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । लिड्क बेकेट विश्वविद्यालयका कोर्स अध्ययन गर्ने विद्यार्थी भने १ सय १८ जना रहेको कलेजले जनाएको छ । कलेजले लिड्स बेकेट बाहेक  युनिभर्सिटी अफ वेष्ट अफ इङ्ल्याण्ड सँग पनि सम्बन्धन लिएर बिएस्सी कम्प्युटिङ, बिबिए, बिबिएम, एमस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबीए एक्ज्युटिभ लगायतका विषय पढाइरहेको छ ।

प्रतिक्रिया