Edukhabar
आइतबार, ३० कार्तिक २०८२
अन्तैवाट

गाउँपालिका उपाध्यक्षको सट्टामा एसईई परीक्षा दिने परीक्षार्थी पक्राउ

शुक्रबार, १६ चैत्र २०७४

काठमाडौं १६ चैत / जुम्लाको हिमा गाउँपालिका जुम्लाकी उपाध्यक्ष हिमाली रोकायको एसईई परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राहदेव माध्यमिक विद्यालय मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिँदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली परीक्षार्थी विमलाले लिइएको प्रवेश पत्रको फोटोमा केरमेट गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डा.तपनकुमार दाहालले बताए । ‘जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस गरिएको कागजात र परीक्षा हलमा लिइएको प्रवेश पत्र तुलना गर्दा विवरण मिलेको थिएन’ उनले भने, ‘गाउँपालिकाको उपाध्यक्षले नै नक्कली परीक्षार्थी राखेपछि अरुले के गर्लान् भन्ने हो ।’

बिहीबार स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा दिँदै गर्दा उपाध्यक्ष रोकायले राखेको नक्कली परीक्षार्थी विमला पक्राउ परेकी हुन् । राहदेव मावि मोफ्ला केन्द्रमा २ सय २० जना परीक्षार्थी छन् । उपाध्यक्षको सट्टामा परीक्षा दिने नक्कली परीक्षार्थी विमलालाई दस्तखत किर्ते मुद्दा लगाइने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सट्टामा परीक्षा दिन लगाउने उपाध्यक्ष रोकायालाई पक्राउ गरेर कारबाही गर्ने प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष रोकाय फरार रहेको प्रहरीले जनाएको छ ।

विमलाले यसअघिका सबै परीक्षा दिइसकेकी छिन् । यसअघि कालिका माध्यमिक विद्यालय तलिकुडुमा अर्कैको सट्टामा एसईई परीक्षा दिँदै गरेका ४ जनालाई नियन्त्रणमा लिएर दस्तखत किर्तेअन्तर्गत कारबाही गरेको प्रहरीले जनाएको छ । न्यायिक समितिको संयोजक जस्तो व्यक्तिले नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको भन्दै एसईई परीक्षामा चरम विकृति फैलिएको स्थानीयले बताएका छन् ।

कान्तिपुरमा एलपी देवकोटाले लेखेको खबर

प्रतिक्रिया