Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

चिकित्सा शिक्षा अध्यादेश पास, ६ महिना भित्र आवश्यक जनशक्तिको प्रक्षेपण

मंगलबार, २० चैत्र २०७४

काठमाडौं - प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्णायार्थ पेश गरेको अध्यादेशलाई बहुमतले पास गरिएको हो ।

संसदको छलफलमा नेपाल मजदूर किसान पार्टिका सांसद प्रेम सुवालको अध्यादेश विरुद्ध संशोधन दर्ता गराए पनि बहुमतले अस्वीकृत भएको थियो ।

सुवालले उठाएका प्रश्नको जवाफ दिदैं मन्त्री पोखरेलले ऐनमा गरिएको ब्यवस्था अनुसार उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न लगाइएको प्रतिबन्धका विषयमा छलफल गर्ने आश्वासन दिए । प्रतिस्थापन विधेयक ल्याउन मन्त्रिपरिषद् बैठकले स्विकृती दिईसकेको छ ।

संसदबाट विधेयक पास भए पछि एडुखबरसँग कुरा गर्दै मन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका सवालमा यो निकै ठूलो उपलब्धि भएको बताए ।

'हामीलाई चाहिने जनशक्ति कति हो भन्ने यकिन प्रक्षेपण नभएको अवस्था छ' मन्त्री पोखरेलले भने, 'उक्त काम छ महिना भित्र सक्ने गरी मन्त्रालयले काम अघि बढाउँछ ।'

चिकित्सा शिक्षाको बेथिती विरुद्ध सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीको माग पुरा गर्न अघिल्लो सरकारले अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेशले १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाउने लगायत केसीका माग सम्बोधन गरेको छ ।

विधेयक पास गर्ने तयारी गरेर पनि दलहरूबीच सहमति नभएपछि यस अघिको सरकारले अध्यायदेश जारी गरेको थियो । ऐन सरह कार्यान्वयनमा आएको अध्यादेश संसद सुरु भएको ६० दिन भित्र पास गर्नुपर्ने ब्यवस्था अनुसार मन्त्री पोखरेलले गत बुधबार उक्त विधेयक संसदमा टेवुल गरेका थिए ।

संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा देशको शिर निहुरिने कुनै सहमति, सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् । ‘मेरो भ्रमणमा नेपाल भारत सम्बन्धलाई अझै मजबुद बनाउने विषयमा मेरो प्रयास रहनेछ’ ओलीले भने, ‘स्पष्ट, मैत्रीपूर्ण र विश्वासका साथ आफ्ना हितलाई न्यायोचित राख्यो भने सम्बन्ध सुदृढ हुँदै जान्छ ।’

यो संगै सभामुख कृष्णबहादुर महराले मध्यरात १२ बाट अधिवेशन अन्त्य हुने राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।

संसदको पहिलो बैठकमा ९ दिन बैठक बस्यो, जसले सभामुख र उपसभामुख चयन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिए, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिन् । यही बैठकले विभिन्न तीन अध्यादेश पनि पास गरेको छ ।

प्रतिक्रिया