Edukhabar
शनिबार, १२ पुस २०८२
खबर/फिचर

एसईईमा लापरवाही : अघिल्लो दिन २४ जना, भोलीपल्ट ७४

मंगलबार, १२ असार २०७५

काठमाडौं - शनिबार सार्वजनिक एसईईको नतिजामा ४ जीपीए ल्याउने २४ जना थिए । आईतबार यो संख्या बढेर ७४ पुग्यो । परिर्वतन यति मात्रैमा सीमित छैन । ३.९६ जीपीए ल्याउने १० जना थिए भने सच्चाएको भनिएको नतिजामा ३.९६ ल्याउने विद्यार्थी शुन्य छ । त्यस्तै ३.९५ जीपीए ल्याउनेको संख्या २ सय भन्दा बढी थपिएका छन् । अघिल्लो नतिजामा ३.९५ ल्याउने १ सय १३ जना मात्रै थिए । तर, राष्ट्रिय परीक्षा बोर्डले सच्याएको नतिजामा ३ सय ५८ पुग्यो । ३.९२ जीपीए ल्याउने पनि पछिल्लो नतिजामा ८ जना थपिए । शनिबारको नतिजामा  ३.९१ ल्याउने विद्यार्थी शुन्य थिए । भोलि पल्टकोमा एक जना भए । त्यस्तै ३.९ जीपीए ल्याउने विद्यार्थीको संख्या धेरै थपिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.९ जीपीए ल्याउने अघिल्लोे दिन छ सय ४७ जना थिए भने भोलिपल्ट १ हजार १ सय ७१ जना पुगे ।

एसएलसी सुरु भएको ८१ र एसईईको तीन वर्षको इतिहासमा पहिलो पटक विद्यार्थीको नतिजा फरक फरक सावर्जनिक भएको हो । परीक्षा नियन्त्रण कार्यालयले शनिबार तोकेको समय भन्दा ५ घण्टा ढिला गरी नतिजा सार्वजनिक गर्दा पनि त्रुटी देखिएको हो । नतिजा सार्वजनिक भएको १२ घण्टा पनि नपुग्दै विद्यार्थीको जीपीए परिवर्तन भएपछि परीक्षा प्रणालीमै प्रश्न उठेको छ ।

शिक्षाविद् प्रा.डा. महेशनाथ पराजुली यसलाई मानवीय गल्ति भनेर उम्कन नमिल्ने 'अक्ष्यम्य गल्ती'को संज्ञा दिन्छन् । कुनै स्तरको क्षमाको अर्थ नहुने गल्ती भन्दै उनले परीक्षा जस्तो सम्बेदनशील कुरामा भएको लापरवाही 'लज्जास्पद' भएको प्रतिकृया दिए ।

'समाचारहरु पढ्दा परीक्षामा संलग्न प्राविधिक सक्षम थिएनन् भन्ने कुरा बुझिन्छ तर यो कुनै एक ब्यक्तिको सवालनै हैन' उनले भने 'यति ठूलो खेलवाड भएको छ, यसमा शिक्षा मन्त्रालय र परीक्षासंग सम्बन्धित सबै तह र ब्यक्तिले जिम्मेवारी लिनु पर्छ ।'

परीक्षा नियन्त्रण कार्यालयद्धारा भएको यो हद सम्मको लापरवाहीले पुरै परीक्षा प्रणालीमै प्रश्न उठेको छ । शिक्षा मन्त्रालयमा लामो समय काम गरेका पूर्व सचिव महाश्रम शर्मा परीक्षा प्रणालीमा सुधार गर्ने भनेर नयाँ पद्दतीको विकास गरे पनि सो अनुसार नभई झन् 'उल्टा कार्य' हुनुले संयन्त्रको कार्यक्षमतामै प्रश्न उब्जेको  बताउँछन् । परीक्षामा केही मानवीय गल्ति हुनु स्वभाविक भएकोले 'रिटोटलिङ्' जस्ता प्रावधान राखिएको बताउँदै उनले यसरी अघिल्लो दिनको गल्ति भयो भोली पल्टको ठिक छ भन्दै पुरै परीक्षाफलमै परिवर्तन गर्नु लज्जास्पद भएको उनले बताए ।

'नतिजा सार्वजनिक गर्नु अघि पूर्ण रुपमा सही छ छैन यकिन गरेर मात्रै गर्नु पर्नेमा किन हतार गरिएको हो ? अघिल्लो दिनको नतिजा त्रुटि भएछ फेरी भोली पल्ट गर्यौं भन्नु ज्यादै लाजमर्दो कुरा हो' उनले भने 'सबै ठिक छ छैन अघिल्लै दिन परीक्षण गरेर, हेरेर ल सब ठिक छ भने पछि मात्रै नतिजा सार्वजनिक गर्नु पर्छ ।'

निजी विद्यालय सञ्चालकहरुको संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाए । नतिजा प्रकाशनमा भएको यो हद सम्मको लापरवाहीले कापी जाँचमा कुन स्तरमा लापरवाही भयो होला ? भन्ने शंका हुन थालेको उनले बताए ।

परीक्षाफल प्रकाशनमा भएको लापरवाहीको छानविन गर्न शिक्षा मन्त्रालयले सोमबार एउटा समिति गठन गरेको छ । शिक्षक सेवा आयोगका प्रकाशकीय प्रमुख डा. तुलसी थपलियाको संयोजकत्वको उक्त समितिलाई ५ दिनको म्याद दिईएको छ । तर उक्त समिति 'झारा टार्ने नीयत'ले बनाईएको भन्दै सिलवालले विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग, परीक्षा बोर्ड कोही पनि गम्भिर नभएकोले उक्त समिति प्रति विश्वासको आधार नभएको बताए ।

नतिजा सार्वजनिक गर्ने दिनमा भएको ढिलाईलाई शिक्षा मन्त्रालयमा सचिव खगराज बराल, नियन्त्रक अम्बिका प्रसाद रेग्मी र परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल सबैले एकै स्वरमा प्राविधिक समस्या भन्दै बचाउ गरेका थिए ।

यस अघि कार्यालयले दक्ष जनशक्तिको आभवमा काम गर्नु पर्दा धेरै समस्या परेको बताउँदै आएको थियो ।  

नतिजाको प्राविधिक कार्य गर्दै आएका ईञ्जिनियर अनुप न्यौपानेको सरुवाले गर्दा काममा असजिलो भोग्नु परेको कार्यालयको भनाई थियो । न्यौपानेको बढुवा सँगै कम्पनी रजिष्टारको कार्यालयमा सरुवा भए पछि पाठ्यक्रम विकास केन्द्रका प्राविधिक नसिव आचार्य मार्फत् कार्यालयले प्राविधिक काम गराएको थियो ।

'काममा को ब्यक्ति संलग्न भयो भन्नु भन्दा पनि उसको कामको प्रभावकारीता छ छैन हेर्ने भनेको  जिम्मेवार ब्यक्तिले हो' पराजुलीले भने, 'काम गरेका ब्यक्ति साँच्चिकै सक्षम थिएन थिएनन् यकिन गरेर सो अनुसार ब्यवस्थापन गर्न नसक्नुको जिम्मा कार्यालय बोर्ड हुँदै मन्त्रालय तह सम्मका जिम्मेवार अधिकारीले लिनु पर्छ ।'

प्रतिक्रिया