Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षक परीक्षाको सबै तयारी पुरा, आवश्यक सामग्री सहित आयोग टोली मुकाममा

मंगलबार, २६ असार २०७५

भक्तपुर  - पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षाका लागि आवश्यक सबै तयारी सकिएको छ । आउँदो शुक्रबार र शनिबार हुने उक्त परीक्षाका लागि आवश्यक सामग्री सम्बन्धित मुकाममा पुर्याईसकिएको शिक्षक सेवा आयोगले जनाएको छ । 

परीक्षाका लागि आवश्यक सामग्री सहित आयोगले क्षेत्रगत रुपमा कर्मचारीको टोली परिचालन गरिसकेको छ । उक्त परीक्षाका लागि पूरानै संरचना अनुसार विकास क्षेत्र अन्र्तगत हुने गरी तोकिएका विभिन्न ५ क्षेत्रमा परीक्षा केन्द्र निर्धारण भईसकेका छन् । सोही आधारमा उपसचिव अनिल शर्माको टोली सुदुरपश्चिमका लागि कञ्चनपुर पुगिसकेको छ भने मध्यपश्चिमको लागि उपसचिव दामोदर आचार्य नेतृत्वको टोली नेपालगञ्ज पुगेको छ । 

पश्चिमाञ्चलका लागि उपसचिव द्धारिका पोखरेल सहितको टोली पोखरा र मध्यमाञ्चलका लागि अर्का उपसचिव भरत श्रेष्ठको टोली काठमाडौंमा परिचालन भएको छ ।  

सम्बन्धित क्षेत्रमा पुगेका मध्ये केही टोलीले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिको बैठक राखेर परीक्षाका पूर्व  तयारी पनि सकिसकेका छन् । यस अघि गत शुक्रबार गृह सचिवको संयोजकत्वमा रहेको केन्द्रिय परीक्षा समन्वय समितिको बैठकले सबै जिल्लाहरुको तयारी चुस्त राख्न मातहतका निकायलाई निर्देश गरेको थियो ।  

उल्लेखित विभिन्न पाँच क्षेत्रमा तोकिएका १ सय १६ परीक्षा केन्द्रमा आवश्यक सुरइाा सहितका प्रवन्ध गर्न जिल्ला स्थित परीक्षा समिति परिचालन भईसकेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । 
परीक्षाको सुरक्षाका लागि आवश्यक सञ्चारसेट सहित सुरक्षाकर्मी परिचालन हुने उनले बताए । 

'हामीले परीक्षाका लागि आवश्यक पूर्व तयारी सकिसकेका छौं, परीक्षाका लागि आवश्यक गोप्य सामग्री सहित हाम्रा कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्' उनले भने, 'निर्धक्क भएर परीक्षाको तयारीमा रहन तपाई मार्फत् शिक्षकहरुलाई आह्वान पनि गर्दछु ।' 

परीक्षाका लागि आवश्यक प्रवेश पत्र लिन छुटेका उम्मेद्वारहरुका लागि बुधबार र बिहीबार सम्बन्धित परीक्षा केन्द्रबाट प्रवेश पत्र लिन सक्ने ब्यवस्था गरिएको पनि उनले बताए । 

उक्त परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको छ । पहिलो दिन निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुने छ ।

प्रतिक्रिया