Edukhabar
सोमबार, १७ बैशाख २०८१
खबर/फिचर

विधेयकको विरोध गर्दै संसद अवरुद्ध

सोमबार, ३२ असार २०७५

काठमाडौं - सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेको आरोप लगाउँदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । 

सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । सांसदहरुलाई बस्न भनेपनि नमानेपछि सभामुख कृष्णबहादुर महराले काँग्रेस सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएका थिए । 
उनले चिकित्सा शिक्षाका वेथिती विरुद्ध उठेका आवाज विरुद्ध सरकार अघि बढेर समस्या बल्झाउन खोजेको भन्दै उनले जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै चिन्ता ब्यक्त गरे । 

विगतका सरकारले पटक पटक सम्झौता गरेर समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर भएको स्मरण गराउँदै उनले माथेमा कार्यदलको प्रतिवेदनका आधारमा जारी अध्यादेशको विपरित विधेयक आएको भन्दै आपत्ति जनाए ।  

शिक्षा स्वास्थ्यलाई राज्यको जिम्मेवारी हो भन्ने हुँदा हुँदै पनि माफियाको प्रभावमा परेर सरकारले विधेयक प्रस्तुत गरेको भन्दे आपत्ति जनाए । चौतर्फि विरोध हुँदा पनि सरकार पेलेर जाने मनस्थितीमा रहेको भन्दै उनले सरकारको नियत गलत भएको आरोप लगाए । 

संसदमा एक दुई जना मानिस मर्दैमा विपत्ति आउँदैन भन्ने सरकारका जिम्मेवार ब्यक्तिबाट कुरा आउनु लाजमर्दो भन्दै उनले सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सार्वजनिक सञ्चार र चोक चौतारीमा संसदलाई मजाक उडाएको आरोप समेत लगाए । 

उनको विरोध पछि सभामुख महराले विरोधको सूचना प्राप्त भएकोले प्रकृया स्विकार गरेको ठकर्ने भन्दै प्रकृया अघि बढ्न दिन आग्रह गरे । गोविन्द केसीको विषयमा सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले विधेयकमा समर्थन विरोध बाँकी नै भएकोले प्रकृया अघि बढाउन दिन आग्रह गरे । 

काँग्रेस सांसदहरुले उठेर विरोध जनाउन नछाडेपछि सत्ताधारी दलका सांसद कृष्णभक्त पोखरेलले विधेयक अध्यादेश मार्फत् ल्याएर प्रतिस्थापन विधेयक ल्याउँदा पनि विरोध अहिले फेरी नियमित प्रकृयालाई चल्न नदिनुको अर्थ संसदको अधिकार कुण्ठित गरेको आरोप लगाए । 

कानून निर्माण गर्दा कोही उभिदैंमा संसद अवरुद्ध नहुने बताउँदै उनले यसरी संसद अवरुद्ध गर्ने विश्वको कुनै दृष्टान्त नभएको जिकीर गरे ।

यस्तै सत्ताधारी दलकै अर्का सांसद खगराज अधिकारीले पनि सभामुखलाई पनि सहयोग नगर्ने संसंदको नियमावीको पनि पालना नगर्ने भन्दै काँग्रेसको गतिविधि प्रति आपत्ति जनाए । 

बैठक चलेको जस्तो गरी नियम आपत्ति गर्न दिएको भन्दै विकले फेरी विरोध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेको घोषणा गरे । 

 

प्रतिक्रिया