Edukhabar
सोमबार, १७ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीको अडान चर्कदैं, विधेयक फिर्ता हुँदैन, अध्यादेश आउँदैन

विहीबार, ०३ साउन २०७५

काठमाडौं - चिकित्सा शिक्षाको वेथिती विरुद्ध १९ दिन देखि अनसनरत डा गोविन्द केसीको माग विपरित शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको 'अडान चर्किदैं' गएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले संसदमा गएको विधेयक फिर्ता नहुने र अध्यादेश नआउने अडान ब्यक्त गरेका छन् । 

'संसदमा गएको विधेयक फिर्ता हुँदैन, अध्यादेश अब आउँदैन त्यो सकियो, २० गते सम्म सम्भावना थियो काँग्रेसका कारण आएन' उनले भने, 'विधेयक एउटा प्रकृयामा गईसक्यो संसदको एउटा प्रकृया हुन्छ डा. गोविन्द केसी जस्तो प्राध्यापक डाक्टरसावले प्रजातन्त्रको लागि लडेको मान्छेले निर्वाचित संसदको गरिमा प्रजातान्त्रिक मूल्य मान्यता बुझिदिनु पर्छ ।' 

अब सांसदहरुले संशाधेन राखेको आधारमा विधेयकमा कहीँ कमी रैछन् भने परिवर्तन गर्न सकिने र  माथेमा कार्यदलले नदेखेका कुरा थप्नु पर्ने रैछ राम्रा कुरा भने पनि ती सबै कुरा संसदबाटै सम्बोधन गर्ने उनले बताए । 

संसद र सांसदहरुको अधिकारलाई सम्मान गर्दै अघि बढ्नु पर्ने उनको तर्क छ । 

माथेमा आयोगको प्रतिवेदन नपढिकन टिका टिप्प्णी बहस छलफल आएको तर्क गर्दै उनले माथेमा आयोगको स्प्रीट अनुसार नै आयोग गठनको काम अघि बढाउन खोजेको बताए । गठन गर्न लागेको आयोगलाई मुटुको संज्ञा दिदैं उनले बाँकी समस्य ाआयोग मार्फत् नै हल हुने भन्दै यस अघि जस्तै आयोगको चर्चा गरे ।  

प्रमुख प्रतिपक्षी काँग्रेसले अध्यादेश अनुसार नै विधेयक ल्याउनु पर्ने माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । माग पुरा नभए बिहीबारको बैठक पनि अबरुद्ध गर्ने उसको निर्णय छ । 

सरकारले 'चाहेको भए' यस अघि कै प्रतिस्थापन विधेयक नै पास गर्न सक्थ्यो भन्दै मन्त्री पोखरेलले सम्वाद र छलफलबाटै जान खोजेको पनि दावी गरे ।     

केसीलाई काठमाडौं ल्याउन हेलिकोप्टर  

बुधबार राती अबेर सत्ताधारी दलका नेताहरुको बैठकले केसीलाई जसरी पनि काठमाडौं ल्याउने निर्णय गरेसँगै सरकारले उनलाई लिन हेलिकोप्टर पठाएको छ । 

सरकारले गठन गरेको वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बराल,  सदस्य स्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहनी सहितको टोली पठाएको पोखरेलले बताए । सरकार संरक्षक र अभिभावक भएकोले उनको जीवनरक्षाका लागि गम्भिर रहेको उनको भनाई छ । 

'यति दिन सम्म धैयर्ता पूर्वक पख्र्यौ तर स्वास्थ खस्केपछि राम्रो आईसीयु सेण्टरमा राख्न खोजेको हो' उनले भने, 'यतिखेर पनि कदम चालिएन भने उहाँको जीवन माथि अन्यथा केही हुन गयो भने उहाँ स्वयं र उहाँलाई लैजानेहरु नै जिम्मेवार हुन्छन् । त्यो अवस्था पनि हुन  नपरोस् भनेर लिन पठाएका हौं ।'  

यसैविच डा. केसीले आफ्ना माग पुरा गरिदिने हो भने आफैं काठमाडौं आउने लिन पठाउनु नपर्ने भन्दै काठमाडौं आउन नमानेको जुम्लाबाट खबर प्राप्त भएको छ । उनका समर्थकहरुले अहिले उनका पक्षमा नारावाजी गरिरहेका छन् । 

'डा. गोविन्द केसीको स्वभाव एउटा भयो स्वास्थ्य स्थिती अर्को कुरा हो' केसी आउन नमाने सरकारले के जबरजस्ती गरेर भए पनि ल्याउने रणनीति हो भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले भने, 'स्वास्थ्यका सूचक घटेको रिपोर्ट छ, उहाँलाई राम्रो ठाउँमा राखेर उपचार गर्ने मनशाय सरकारको हो ।'

देशभरका चिकित्सकहरु हड्तालमा

यसैविच डा. केसीको मागमा समर्थन तथा उक्त माग पुरा गर्न सरकार गम्भीर नभएको भन्दै देशभरका चिकित्सकहरु १ दिने हड्तालमा उत्रेका हुन् । नेपाल चिकित्सक संघका अनुसार बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द छन् ।

केसीको स्वास्थ्य र माग प्रति सरकार संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने संघले चेतावनी दिईसकेको छ ।

फाईल फोटो 

प्रतिक्रिया