Edukhabar
आइतबार, ०९ बैशाख २०८१
अभिभावक / विद्यार्थी

अभिभावक र विद्यार्थी माथि बेईमानी कहिले सम्म ?

बुधबार, १६ साउन २०७५

नेपाली समाजमा पुरानो लोकोक्ति छ – बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन ! समय बदलिएसँगै उक्त लोकोक्तिको प्रयोग विज्ञापनका रुपमा स्थापित भएको छ । 

यो प्रसंग हो निजी विद्यालयहरुले गर्ने विज्ञापनको । इसईई नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा भर्ना गर्न आह्वान गरिएका विज्ञापनले अर्थतन्त्रमा कत्तिको प्रभाव पारेको छ त्यो छुट्टै खोजिको विषय हुन सक्छ । अब कक्षा १२ को नतिजा प्रकाशन पछि एक चरण त्यही रफ्तारमा विज्ञापनको बाढि आउने पक्का छ ।  

त्यसो त यो विषय केवल निजी विद्यालयहरुमा मात्र सिमित छैन । विद्यार्थी संख्याका आधारमा सरकारी अनुदान पाउने भएका कारण सामुदायिक विद्यालय समेत कक्षा ११ मा विद्यार्थी आकर्षण गर्न विज्ञापनलाई हतियार बनाउने बाटो समातिरहेका भेटिन्छन् । तर, दर हेर्ने हो भने विज्ञापनको सवालमा निजीको तुलना कसैसँग हुँदैन । 

हिजो आज तपाई कुनै बस चढ्नुस्,  पैदल हिड्नुस्,  टिभि हेर्नुहोस्,  रेडियो सुन्नुहोस्, पत्रिका पढ्नुहोस् या सामाजिक सञ्जाल तिर बरालिनुस् – यत्र तत्र विद्यालयको  विज्ञापनमा ठोकिनुहुन्छ ।  

त्यसो त विज्ञापन भनेको सरोकारवालालाई जानकारी प्रदान गर्ने उद्धेश्य कै लागि तयार गरी प्रशारण र प्रकाशन गरिन्छन् । जुन अनौठो कुरा पनि हैन । तर जुन तवर र शैलीका विज्ञापन देखिन्छ वा सुनिन्छ ती तौर तरिका जायज लाग्दैनन् । 

कुनै स्थान विशेषमा भएका आधुनिकिकरणको सुविधा आधारमा हेर्ने हो भने वर्तमान सन्दर्भमा नेपालमा  ४ प्रकारका विद्यालय पाउन सकिन्छ । 

पहिलो प्रकारका विद्यालय देशको राजधानी, अन्य महानगरपालिका तथा उपमहानगरपालिकाहरुमा रहेका छन् । यहाँका विद्यालयले आधुनिक प्रविधि र पहुँच सहित विज्ञापन गर्ने हैसियत राख्छन् । 

दोस्रो प्रकारका विद्यालय साना शहर तथा केही जिल्ला सदरमुकामहरुमा रहेका छन् । यीहीहरुले पनि केही प्रयास गरे भने पहिलो प्रकारकै हैसियतमा विज्ञापन गर्न सक्छन् । 

तेस्रो प्रकारका विद्यालयहरु सामान्य भौतिक पुर्वाधारको पहुँच भएका भुभागमा रहेका छन् । यहाँ सिमित रुपमा मात्रै आधुनिक प्रविधिको पहुँच भित्र्याउन सकिन्छ । 

चौथो प्रकारका विद्यालय दुर दराजमा छन् । जहाँ राज्यको आँखा सहजै पुग्दैन र आधुनिक प्रविधिको कल्पना त परको कुरो । 

यसरी विद्यालयको वर्गीकरण गर्नुको तात्पर्य भनेको कुन प्रकारको विद्यालयले कस्तो विज्ञापन गर्छन् र ती कति जायज छन् भनेर मूल्याङ्कन गर्ने कोशिस गरिएको हो ।  

पहिलो प्रकारका विद्यालयले विज्ञापनको लागि राष्ट्रिय पत्रिकाहरु, अनलाईन, टेलिभिजन तथा शहरका होडिङवोर्डहरु प्रयोगमा ल्याईएको देखिन्छ । आकर्षक भवनका चित्र, खेल मैदान,  विज्ञानको प्रयोगशालाहरु विज्ञापनमा देखाईन्छ । सुन्दर अनुहार भएका युवा युवतीलाई विज्ञापनमा प्रयोग गरिन्छ – मानौ यो विद्यालयले सुन्दर सुन्दरी उत्पादन गर्छ । विद्यालय शिक्षा पुरा गरेका विद्यार्थीको मापन अंकमा छाडेर अक्षरमा गर्ने पद्धती शुरु भयो तर यस्ता विद्यालयहरु अझै पनि बोर्ड फस्र्ट गर्न सफल भनेर विद्यार्थीको फोटो सहित विज्ञापन गरिरहेका छन् । 

कतिपय विद्यालयले विद्यार्थी आकर्षण गर्न भनेर Smokers Section / Refreshment Room समेतलाई अपनाएको पाउन सकिन्छ । यस प्रकारका विद्यालयमा उच्च आर्थिक–सामाजिक हैसियत भएका अभिभावकका सन्तान पुग्ने गर्दछन् । यस्ता विज्ञापनको पछि लागेर भर्ना गर्नेहरु गलत संगतमा परेर सन्तान विर्गेपछि मात्रै झल्याँस्स भएका प्रसस्त उदाहरण भेटिन्छ । अर्थात् कतिपय अभिभावकहरु विज्ञापनकै पछि लागेर पछुताएका समेत छन् ।

दोस्रो प्रकारका विद्यालयहरुलाई समेत विज्ञापनको सवालमा पहिलो वर्गकै विद्यालयलाई पछ्याउने गरेका छन । कति सम्म देखिन्छ भने विद्यालयको भित्तेपात्रोमा Miss Teen, First Runner Up of SEE, Miss  फलानो cast भनेर समेत लेखेको देख्न सकिन्छ । यस्ता विद्यालयले स्थानीय शहरका अभिभावकलाई राजधानी विद्यार्थी नलैजाउन भनेर झुटा प्रचार समेत गर्छन् । जुन तवरको सुबिधाको प्रचार गरिएको हुन्छ । जब वास्तबिकतामा प्रवेश गरिन्छ विज्ञापनमा वताईएको सुविधा प्रयोगमा भेटिदैंन । 

तेस्रो प्रकारका विद्यालयले विज्ञापनमा सिको त पहिलो र दोस्रो प्रकारका विद्यालयकै गर्छन् तर टिभि र राष्ट्रिय पत्रिकामा पहुँच पुग्न सक्दैन । त्यसैले स्थानीय पत्रिका, अनलाईन र स्थानीय रेडियोको प्रयोग गर्दछन् । यस्ता विद्यालयले आफू्संग भएका सुविधालाई वढाईचढाई गर्दछन् । जस्तो कि विद्यालयमा १ थान प्रोजेक्टर भएमा मल्टिमिडियाको माध्यमबाट कक्षा सञ्चालन गरिन्छ भनेर विज्ञापन गरिन्छ । केहि थान कम्प्युटर भएको खण्डमा सुबिधा सम्पन्न कम्प्युटर ल्यावको विज्ञापन गरिन्छ । यस्ता विद्यालयमा स्थानीय विद्यार्थी नै अध्ययन गर्ने हँदा विज्ञापनको खासै प्रभाव नै पर्दैन ।

चौथो प्रकारका विद्यालय दुर दराज मै रहे पनि उही सिको गरेर स्थानीय रेडियो, अनलाईन, स्थानीय पत्रिका र सामाजिक सञ्जालको प्रयोग गरी विज्ञापन गर्न पछि पर्दैनन् । अधिकांश विद्यार्थी आर्थिक–सामाजिक रुपमा पछि परेका समुदायका अधिकांश विद्यार्थी यस प्रकारका विद्यालयमा अध्ययन गर्ने कुरा कतै छिपाउनु पर्दैन । अर्को अर्थमा बुझ्दा विज्ञापनले यस्ता विद्यालयमा भर्ना हुने विद्यार्थी संख्यामा कुनै अन्तर ल्याउदैन ।

सबै प्रकारका विद्यालयहरुले वढाईचढाई गर्ने कुरा चाँही समान हुन्छ । जस्तो कि योग्य, दक्ष र तालिम प्राप्त शिक्षक भनिन्छ जुन सवै अवस्थामा संभव भएको पाईदैन । अर्को वढाईचढाई भनेको व्यावहारिक र गुणस्तरीय शिक्षा संग सम्वन्धित छ । गुणस्तरको विषयमा कुनै मानक विनाको प्रचार गरिन्छ । यसका अलवा विद्यार्थी केन्द्रित शिक्षण, नियमित परामर्श, नियमित मूल्याङ्कन र पृष्ठपोषक जस्ता शब्दावली समान नै हुन्छन् । 

त्यसो त संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ ले विद्यालयहरुले गर्न पाउने विज्ञापनका बारेमा स्पष्ट ब्यवस्था गरेको छ । उक्त निर्देशिकाको परिच्छेद – ४ मा भएको शैक्षिक व्यवस्था सम्वन्धी प्रावधानमा विद्यार्थी भर्नाका लागि विद्यालय कम्पाउण्ड भित्र बाहेक अन्य स्थानमा होडिङ्ग बोर्ड राख्न नपाइने ब्यवस्था छ । 

निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले विद्यार्थी भर्नाको लागि विज्ञापनको विषयवस्तु र त्यसमा हुने खर्चबारे सरकारी निकायबाट पूर्व स्वीकृति लिई गर्न पाइने र सो वापत आधारभूत तहका विद्यालयहरुले रु ३ लाख र माध्यमिक तहसम्मका विद्यालयहरुले बढिमा रु ५ लाखसम्म खर्च गर्न पाउने ब्यवस्था गरिएको छ ।

संस्थागत विद्यालयहरुले आफ्नो संस्थाको बारेमा प्रचार प्रसार गर्दा विद्यालयको वेभ साइडमा सम्पूर्ण विवरण राखी सो अनुसार आवश्यक व्यवस्था गर्न स्पष्ट तोकिएको छ । 

तर, अहिले जारी रहेका विज्ञापनमा कति खर्च भएको छ भन्ने यकिन अध्ययन नभए पनि उक्त ब्यवस्था कार्यान्वयन नभएको बुझ्न कठिन पर्दैन । 

यो त भयो विज्ञापनको कुरा । तर यो भन्दा पनि डरलाग्दो पक्ष त निजी विद्यालय सञ्चालकहरुको आर्थिक प्रभावमा परेर विद्यालयकै बढाई चढाई गर्दै समाचारकै शैलीमा लेखिने प्रोफाईल मार्फत् अभिभावकमा भ्रम छर्ने काम पनि केही मिडियाले गरेकै छन् । विना कुनै वैज्ञानिक आधार टप टेन शिर्षकमा बर्गीकरण गर्ने अर्को लज्जास्पद कृत्य पनि केही मिडिया मार्फत जारी रहनु अभिभावक र विद्यार्थी माथिको बेईमानी नै हो । 

अभिभावक विद्यार्थी सचेत हुनु एउटा कुरा, नियामक निकायको प्रभावकारी उपस्थिती र उचित कारवाही विना पिठो बिकिरहन्छ चामलले भाउ पाउँदैन !

प्रतिक्रिया