Edukhabar
सोमबार, २४ बैशाख २०८१
खबर/फिचर

शिक्षा र स्वास्थ्यको एउटै संसदीय समिति, २४ सदस्य मनोनित

विहीबार, १७ साउन २०७५

काठमाडौं - शिक्षा र स्वास्थ्यका विषयलाई हेर्ने गरी एउटै संसदीय समिति गठन गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्ण बहादुर महराले २४ सदस्यीय शिक्षा र स्वास्थ्य समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए । 

जसमा सांसदहरु अञ्जना विसंखे, उमाकान्त चौधरी, उमेश श्रेष्ठ, एकवाल मिया, खगराज अधिकारी, गगन कुमार थापा र गजेन्द्र बहादुर महत छन् । यस्तै सांसदहरु चित्र लेखा यादव, जीवनराम श्रेष्ठ, तिल बहादुर महत क्षेत्री, दुलारी देवी खत्वेनी, नविना लामा, नमिता  कुमारी चौधरी र नारायण प्रसाद मरासीनी उक्त समितिमा सदस्य छन् । यस्तै भैरव बहादुर सिंह, मन कुमारी जिसी, मानवहादुर विश्वकर्मा, योगेश कुमार भट्टराई, रेखा कुमारी, सन्तकुमार थारु, सरिता न्यौपाने, सुरेन्द्र कमुार यादव, सुरेश कुमार राई र हित बहादुर तामाङ्  उक्त समितिमा रहेको महराले उल्लेख गरे । 

उक्त नामलाई सभाले बहुमतले अनुमोदन गरेको छ । यस अघि शिक्षाका मुद्धा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समिति अन्र्तगत हेरिन्थ्यो ।  

प्रतिनिधि सभा अन्तर्गत यो सहित विभिन्न १० वटा विषयगत समिति गठन गरिएको छ । जसमा अर्थ समिति, अन्तराष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्यव्यवस्था समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।

यस अघि प्रमुख विपक्षी नेपाली कांग्रेसले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएपछि सभामुखले प्रश्न उत्तरको समय नराखेको भन्दै संसद बैठक बहिष्कार गरेको छ ।  सभामुखले संसदीय समितिहरु गठनको सूचना पढ्दा कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरिरहेका थिए । 

त्यस लगत्तै सभामुखले अर्थमन्त्री डा. युवराज खतिवडालाई विमा विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएपछि प्रश्न उत्तरको माग गरिरहेका काँग्रेस सांसदहरु बैठकबाट बाहिरिएका थिए । 

 

प्रतिक्रिया