Edukhabar
शुक्रबार, ०१ असार २०८१
अभिभावक / विद्यार्थी

सर मिसको भविष्यका लागि किन हाम्रो भविष्य बर्वाद मन्त्री ज्यू ?

बुधबार, २१ कार्तिक २०७५

आदरणीय शिक्षा मन्त्री ज्यू
नमस्कार

सञ्चो विसञ्चो कसरी सोधुँ !

हामी दुर्गमका अधिकाँश मान्छे अनुमान गछौं शहरका मान्छे त सँधै सुखि खुसी र सम्पन्न होलान् !

त्यसमा पनि काठमाडौंको सिंहदरवारमा बस्ने, देशकै शिक्षा क्षेत्रको नेतृत्व गर्ने तपाईको सञ्चो विसञ्चो कसरी सोधुँ !

तपाई शिक्षा क्षेत्रको मुख्य मान्छे भएकोले मलाई यताको हालखबर बताउँदा हाम्रै विद्यालयका कुरा सुनाउन मन लागेको छ ।

मन्त्री ज्यू, हामी पढ्ने विद्यालयहरु लामो समय देखी सुसारे विना नराम्ररी थलिएका छन् । तपाई त आरामै हुनुहोला त्यसैले म हाम्रै विद्यालयको आरामीको कामना गर्न चाहन्छु ।  

हुन त हाम्रा विद्यालयका हालखबर तपाईलाई थाहा नहुने कुरै भएन । बनाउने, जनाउने र भनाउने पनि तपाई नै भएकाले यत्ति भनेँ, गल्ति भए माफ पाउँ ।

मैले मेरा सर मिसहरुसँग पनि माफ माग्नु पर्ने छ किन भने मैले उहाँहरुका कुरा तपाईलाई लगाएको ठान्नु भयो भने उहाँहरुलाई निको लाग्ने छैन ।

हाम्रा विद्यालयका सर मिसहरु आन्तरिक परीक्षा हुने भयो भन्दै गएको २०७४ सालै भरी कुदिरहे । किसानलाई असार लागे झैँ सर मिसलाई भएको चटारोले हामी विद्यार्थीलाई पो हैरान भयो । हाम्रो जस्तो हिमाली क्षेत्रका विद्यालयहरुमा वर्षमा सबै खाले विदाहरु कटाएर ४ – ५ महिना मात्रै पढाई हुन्छन् । म पढ्ने विद्यालयमा पछिल्लो ४ – ५ वर्ष भएको थियो, नियमित पढाइ भएर कोर्ष पुरा हुन थालेको । रिजल्ट पनि राम्रै हुँदै आएको थियो । गएको साल सर मिसहरु परीक्षा तयारीमा भन्दै ब्यस्त भए पछि हाम्रो पढाइ पो विथोलियो । सरहरुले नम्वर मिलाइदिनु भयो कि कुन्नी खै के हो ? थाहा भएन हामी त पास भयौं । तर एस.इ.इ. को वोर्ड परीक्षामा त्यो के सम्भव होला र ?

यो वर्ष पनि त्यहि प्रक्रिया दोहोरियो फेरी । आन्तरिकमा जाने पहिल्यै गए , खुल्लाका लागि जानेहरु पनि तयारी गर्ने भन्दै स्कुल आउनै छाडे । सर मिसलाई पढाईदिनु न भन्दा भोलि हाम्रो भविष्य कसले हेर्छ ? भन्दै गाली नै गरे ।

लगत्तै दशैँ विदा । तिहार विदा शुरु हुने बेला सम्म परीक्षाका लागि भन्दै गएका सरहरु फर्किएनन् । हामी भने विरामी कुरुवा झैँ विद्यालय जाने आउने मात्र गरिरह्यौं । सर मिसको भविष्यका लागि किन हाम्रो भविष्य बर्वाद मन्त्री ज्यू ?

यही ताल हो भने पक्का भयो अब हामीलाई, पोहोरका दाई दिदी जस्तै अहिले हामी पनि नपढेरै एस.इ.इ. मा सामेल हुने भयौँ । हाम्रा लागि त्यो परीक्षा औपचारिकता मात्रै त हुने भयो हैन र ?

सर मिसको परीक्षा जिल्लामै भएको भए पनि विद्यालय बन्दै त हुन्थेनन् की ।  परीक्षाको सुरक्षा गर्न भन्दै अन्तै केन्द्र तोकिएको रे ! हाम्रो गाउँमा परीक्षा भएको भए कसरी असुरक्षित हुन्थ्यो र मन्त्री ज्यू ? कमसेकम हाम्रा सर मिसलाई लामो समय सम्म पढाउन आउन नपर्ने वहाना त मिल्थेन । भन्दिनु भएको भए त बरु हामीले नै सुरक्षा गथ्र्यौं नी परीक्षाको पनि ।

मन्त्री ज्यू, एकपटक थोरै समय खर्चेर ठण्डा दिमागले हाम्रो ठाउँमा उभिएर सोचिदिनु होस् न है । भन्ने बेला त हामीलाई भविष्यका कर्णधारको संज्ञा दिइन्छ तर, ब्यवहारामा त्यस्तो पाएका छैनौं मन्त्री ज्यू !
हाम्रो त विद्यालय शिक्षा सकिने बेला भै सक्यो, हाम्रा भाई बैनीको पनि यस्तै बनाउने हो र ?

देशमा राम्रो ब्यवस्था आएको छ भन्दै सर मिसले पढाउनु हुन्छ । हामीले हाम्रा सर मिसहरुबाट पढ्न पायौं भने हामीले पनि भनौंला यो ब्यवस्थामा पढ्न पाहिन्छ ।

अब बोलिमा हैन व्यवहारबाट हामीलाई पटक पटक थला पार्ने नबनाई दिनुहोस् कृपया बिन्ति छ ।  

धेरै बोलेको भए माफि पाउँ !

हवस् त यत्ति भनेर पत्र बन्द गरेँ ! नमस्कार !

शाही मान्धारा माध्यमिक विद्यालय खार्पुनाथ, ५, हुम्लामा कक्षा १० मा पढ्छन् ।

प्रतिक्रिया