Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
जिव्रो

शिक्षकलाई पुनर्योग्यता परीक्षा : बकम्फुसे कुरा !

मंगलबार, १८ मंसिर २०७५

 
स्थायी शिक्षकलाई पुनर्योग्यता परीक्षा लिएर ६० अंक नल्याए अवकाश दिने प्रस्ताव आएछ, ल म त्यसको लागि व्यक्तिगत रुपमा तयार छु । लौ त्यसो भए यसो गरौं – मुख्य सचिव देखि खरिदार सम्म, विश्वविद्यालयका प्राध्यापकहरु र सेना प्रहरीका चिफ देखि सिपाही सम्मको लागि नि फेरि परीक्षा लिऔं । ल ठिक छ, उनीहरुलाई १० अंक छुट नै भयो, ५० अंक नल्याए उनीहरुलाई पनि विदावारी गरौं । के यस्तो गर्न सक्छ सरकार ? 

यी विद्वान भनिनेहरुको दिमागमा यस्ता हावा र बकम्फुसे कुरा कसरी खेल्दा रहेछन् ? यी विज्ञ भनाउँदाहरु नै सबै भन्दा अनभिज्ञ हुँदा रहेछन् । उनीहरु होसमा बोल्छन् कि बेहोसीमा बोल्छन् यस्ता कुराहरु ? यस्ता हावादारी उटपट्याङ कुराहरु किन आउँदा रहेछन् उनीहरुको दिमागमा ? चिया पिएर, जुस खाएर यस्तो त पक्कै बोल्दैनन् होला, भट्टी पसलमा चुस्कीको सुरमा उब्जिएको विचार होला यो !

पुनर्ताजगी तालिम दिऔं, कार्यसम्पादनमा आधारित सेवा सुविधा दिऔं, उनीहरुको वृत्ति विकास हुने खालका कार्यक्रम ल्याउँ, शिक्षक पेशालाई आकर्षक, मर्यादित र सम्मानित बनाउँ, सरुवा बढुवा प्रणाली व्यवस्थित र वैज्ञानिक बनाउँ, योग्यता र क्षमतालाई प्राथमिकता दिने खालका स्किमहरु ल्याउँ, यस्ता कुराहरु पो सोच्नुपर्छ त !

म विना पृथ्वी चल्दैन, सृष्टि चल्दैन, सारा संसार ठप्प र ध्वस्त हुन्छ भन्ने सोच्ने मनोरोगीहरुको दिमागमा मात्र घुस्छन् यस्ता कुरा । १०/१५ प्रतिशत नतिजा दिने विश्वविद्यालयका प्राध्यापकहरुले हामी ४०/५० प्रतिशत नतिजा दिने शिक्षकहरुलाई पाठ पढाउँछन् बा ! 

आफु पार्टीको झोला बोकेर आंशिक, करार प्राध्यापकको रुपमा विश्वविद्यालय छिरेर आन्दोलन र आन्तरिक परीक्षाको बलमा स्थायी भएको कसरी बिर्सेका होलान् ? यस्ता मनोरोगी विचारहरुलाई प्रतिवेदनमा राख्ने प्रशासकहरु कस्ता होलान् ? शिक्षा मन्त्रालयका बादशाहहरु पुनर्योग्यता परीक्षा दिने तागत र ल्याकत राख्न सक्छन् ? 

विद्यालय निरीक्षकहरु नमुना कक्षा दिने र वैज्ञानिक सुपरिवेक्षण गर्ने औकात राख्न सक्छन् ? के निजामतीमा प्रवेश गर्ने मान्छेहरु ९०/९५ प्रतिशत अंक ल्याएर प्रवेश गरेका हुन् ? सर्वोच्चका न्यायाधीशहरु पार्टीको झोला बोकेर प्रवेश गरेका होइनन् ? अनावश्यक र हावादारी कुरा गरेर साधन, स्रोत र समयको बर्वाद किन गरिरहेका छन् विज्ञहरु ?

प्रतिक्रिया