Edukhabar
बुधबार, ०२ जेठ २०८१
विचार / विमर्श

आयोगको प्रतिवेदनमा आधारभूत शिक्षा : झिना मसिना सुझावले भरिएका पाना (४)

आइतबार, २० माघ २०७५

सरकारले अहिले सम्म पनि औपचारिक रुपमा सार्वजनिक नगरेको 'उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग'को प्रतिवेदनको विश्लेषण गर्ने क्रममा आजको छलफल आयोगको प्रतिवेदनको परिच्छेद ४ “आधारभूत शिक्षामा” केन्द्रित छ । आयोगको प्रतिवेदनले आधारभूत शिक्षा भित्र दुइ खण्डको व्यवस्था गरेको छ । खण्ड १ मा “प्रारम्भिक बाल–विकास र शिक्षा” तथा  खण्ड २ मा “आधारभूत शिक्षा”का बारेमा व्याख्या गरिएको छ । 

प्रारम्भिक बाल–विकास र शिक्षा

प्रारम्भिक बालविकासमा स्रोत विनाका केही तथ्यांक सहित इतिहास कोट्याईएको छ (पेज ३१, ३२) । पुराना दस्तावेजमा भएकै समस्या र चुनौतीलाई यथावत ग्रहण समेत गरिएको छ । यसवाट के सिद्ध हुन्छ भने बिगत ३ दशक यता सरकारले जति गफ गरे पनि प्रारम्भिक बालविकासको क्षेत्रमा बालविकास केन्द्रको संख्या वृद्धि बाहेक गुणस्तरमा ध्यान दिएको छैन । प्रारम्भिक वाल विकासका मापदण्ड समेत आयोगले तयार पार्न सकेको देखिएन ।

बालविकास परिषद् गठन गर्ने र त्यसैले मापदण्ड तोक्ने भन्नका लागि त्यत्रो तामझाम सहितको प्रतिवेदन आवश्यक थिएन र छैन पनि । नीतिगत रूपमा ७ वटा र व्यवस्थापन सम्बन्धी २२ सुझाव दिएको आयोगले प्रारम्भिक बाल विकासको गुणस्तर वृद्धिमा कुनै ठोस सुझाव दिन सकेको देखिंदैन । परिषद्ले समितिलाई मार्ग निर्देश गर्ने भन्ने जस्ता सुझावको नीतिगत उपादेयता के होला ? कि संगठनात्मक चार्ट नै तयार गरेर सुझावमा आउन सक्नु पर्यो नत्र टुटेफुटेका यस्ता सुझावले प्रतिवेदनको पाना भर्ने बाहेक अरु केही लछारपाटो लगाउने देखिंदैन । कमसेकम बालविकास परिषद्को औचित्य र त्यसको कार्यादेश त तयार पार्न सकिन्थ्यो नि । यति महत्वपूर्ण परिषद्को आवश्यकता देख्ने तर निर्क्र्यौल भने गर्न नसक्ने आयोगले आफ्ना कति सुझाव राष्ट्रिय शिक्षा ऐनमा राख्न समर्थ होला त ?

निजी रूपमा बाल हेरचाह केन्द्र खोल्नको लागि आयोगले सिफारिस गर्नु पर्ने हो ? अहिले छैनन् र ? तिनीहरुको व्यवस्थापनका आधारका बारेमा बोल्नुपर्ने हैन र ? त्यस्तै बालविकास समिति र उपसमिति गठन गर्ने भनेर छोडिएको छ, न रणनीति छ न कार्यनीति । बिभिन्न समिति र उपसमिति बनाउने सुझावले बाल विकासमा गुणस्तर आउला भनेर पत्याउन सकिने कुरा भएन । किनभने अहिले पनि त्यस्ता दर्जनौं समिति र उपसमिति बाल विकास क्षेत्रमा कार्यरत छन् । त्यस्ता समिति र उपसमितिको लागि आवश्यक पर्ने स्रोत कसले व्यहोर्ने भन्नेमा पनि प्रतिवेदन मौन रहेकोले समिति निर्माण गर्ने ऐन बनिहाले पनि कार्यान्वयनमा आउन सक्ने देखिंदैन । 

अभिभावकलाई जागृत तुल्याउँदै उनीहरुबाटै अभिभावक शिक्षा सञ्चालन गर्ने भन्ने सुझाव कार्यान्वयन गर्ने समय कति लाग्ने हो ? कसले गर्ने हो ? अहिलेसम्म अभिभावक जागरण अभियानै भएको छैन कि ? त्यसको उपादेयता के रह्यो ? कुनै अध्ययन नै नगरी दिईने यस्ता सुझावको कुनै अर्थ रहला र ? कि प्रविधि परक बाल शिक्षाका लागि अभिभावक समेत समेटेर तीन वटै सरकारले पहल गर्नु पर्ने हो ?

कक्षा १२ मा बालविकास र मनोविज्ञान बिषय लिएकाले प्रारम्भिक बालविकासको शिक्षक हुने सुझाव आफैंमा ठिक छैन । किन भने कक्षा १२ को मनोविज्ञानको विषयवस्तुले प्रारम्भिक बालविकासका उमेरका केटाकेटीको मनोविज्ञान बुझाउनै सक्दैन । कम्तिमा पनि स्नातक तहमा मनोविज्ञान नपढेका शिक्षक र त्यस माथि पनि महिला शिक्षकको प्रावधान नगरे प्रारम्भिक बालशिक्षा उँभो लाग्दैन । 

आधारभूत शिक्षा

आधारभूत शिक्षाको दस्तावेज पनि पुरानै ढर्राको छ । १२० सुझाव किन ? कुन कुन प्राथमिक हुन् ? कैले सम्म पुरा गरिसक्नु पर्ने हो ? खोई रणनीति ? कार्यनीतिको त कुरै छाडौं । मनमा उब्जेका जति सवै सुझाव हाल्न आयोग चाहिन्छ ? गाउँपालिकाले गाउँ योजना बनाउने अनि नगरपालिकाले नगर योजना बनाउने भन्ने सुझाव दिन आयोग चाहिन्छ ? संविधान प्रदत्त विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारमा गैसकेको समेत ख्याल नगरी केन्द्रीय शासनकै पारामा दिईएका छन् सुझावहरु । स्थानीय सरकारलाई आधारभूत शिक्षामा बलियो बनाउन के गर्ने भन्ने विषयमा प्रतिवेदन मौन छ । अनि संविधान कार्यान्वयनमा आयोगको सिफारिस कत्तिको कामयावी होला ?

आधारभूत शिक्षामा सार्वजनिक विद्यालयमा भर्ना दर नकारात्मक प्रवृत्तिमा उकालो लागेको कुरा प्रतिवेदनले नै तथ्यांक सहित प्रस्तुत गरेको छ । वर्षेनी लाखौँ विद्यार्थी सरकारी विद्यालय छोड्ने क्रममा छन् भने निजी विद्यालयमा विद्यार्थी संख्या बढ्दो क्रममा छ । यो भयावह स्थिति रोक्ने र सार्वजनिक शिक्षा दिगो राख्ने उपाय खै त आयोगका महाशयहरु ? कि गुणस्तर वृद्धिमा ध्यान  दिईनेछ भन्ने सुझावले मात्रै पुग्ला ?

धेरै गाउँपालिका र नगरपालिकाहरुले शिक्षाको योजना बनाएर धमाधम उन्नति प्रगतिको बाटोमा अघि बढिरहेछन् तर ती दस्तावेजको कुनै अध्ययन यो प्रतिवेदनमा उल्लेख छैन । त्यसमा भएका कमी कमजोरी सच्याउन आयोगले सुझाव दिनु पर्ने हैन र ? नत्र राष्ट्रिय त्यो पनि उच्चस्तरीय आयोगको गठन के का लागि ?

यस्ता कामै नलाग्ने झिना मसिना सुझावमा अल्झिनु भन्दा त बरू निःशुल्क तथा अनिवार्य शिक्षा ऐन को नियमावली बनाउने हिसावले सुझाव आएको भए हुन्थ्यो नि ? त्यसको बेवास्ता गर्दै मनगढ़न्ते सुझाव किन ? निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयनका लागि दिईएका १२ सुझाव हेर्दा यस्तो लाग्छ आयोगका पदाधिकारीको नजरमा उक्त ऐन प्राथमिकतामा परेकै छैन । परेकै भएपनि ऐनले सुझाएका कुरालाई गहन ढंगले लिएर त्यसको कार्यान्वयनको सोच भएकै छैन ।

संविधानले किटान गरेको “प्रत्येक नेपाली नागरिकलाई माध्यमिक तहको निःशुल्क शिक्षाको हक” सम्बन्धमा आयोगले बोल्नै चाहेन । कारण प्रष्ट छ आयोग र यसका सदस्यहरु  निजी विद्यालयकै पक्षपोषण गर्न चाहन्छन् । अनि सार्वजनिक शिक्षाको विकासको सुझाव पर्खेर बस्ने हामी सर्वसाधारण निरास हुनुको विकल्प के छ र !

राम्रा गर्ने विद्यालयलाई पुरस्कार दिने, विद्यालय छोड्ने दर घटाउने कार्यक्रम गर्ने जस्ता अति सामान्य सुझाव राम्रा होलान् तर त्यसको प्रक्रिया के हुने ? के गर्दा विद्यालय छोड्ने दर घटाउन मद्दत मिल्छ ? त्यस माथि निजीमा भर्ना हुन जाने प्रलोभन सार्वजनिकमै कसरी गर्न सकिने ? यस्ता सवालका न त कुनै योजना न कुनै सुझाव । अधिकांश सुझाव तथ्यांक संकलन गर्ने र सोही अनुसार योजना बनाउने भनेर पन्छिएका छन् । त्यस्तै ९७ प्रतिशत भर्ना दर पुगेको आँकडा प्रस्तुत गर्ने आयोगले फेरि विद्यार्थी भर्ना अभियानको पुरानै सुझाव दोहोर्याईरहनु पर्थ्यो  र ? भर्ना भएकालाई टिकाउने र सिकाउने तर्फ लक्षित भएको भए हुँदैनथ्यो, कठै !!! 

भनिएको छ निःशुल्क शिक्षा सही रूपमा भए नभएको अनुगमन गर्न समिति बनाउने त्यो पनि सही रुप भनेको के हो र कुन कुन मुख्य कुराको अनुगमन गर्ने भन्ने चुरो कुरो बेगर !

आयोगवाट जनताले अपेक्षा गरेको अर्को कुरा थियो स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारलाई दिएको शिक्षाका २३ अधिकार कार्यान्वयनको सुझाव । के यो कुरा आयोगका पदाधिकारीले अध्ययन गर्नै छुटाएका हुन् त ? कि महत्वपूर्ण नमानेर वास्ता नगरेका हुन् । एकातर्फ संविधानको अनुसूची ८ र ९ मा संघीय सरकार र स्थानीय सरकार बीच किचलो कायम छ, अर्को तर्फ स्थानीय सरकार सञ्चालन ऐनले अस्पष्ट रूपमा संविधानले स्थानीय सरकारलाई दिएको अधिकारमा कटौती गरेको छ । फेरि अर्को तर्फ स्थानीय सरकारले आफ्नो व्यवस्थापिकाबाट ऐन बनाएर कार्यान्वयन गर्न पाउने कुरामा संघीय सरकारले भाँजो हालिरहेछ । तर आयोग केही बोल्दैन । किन ? कि आयोगका सदस्य माथि उनीहरुका नियुक्तिदाताको दवावले यस्तो हुन गएको हो ?

आधारभूत शिक्षालाई विद्यार्थी संख्याको आधारमा २०० भन्दा कम, ४०० सम्म र ४०० भन्दा बढीको तीन किसिमको आधारभूत विद्यालय वर्गीकरण गर्न भनिएको छ । कति छन् त त्यस्ता विद्यालय ? कहाँ कहाँ छन् ? त्यसको रणनीति के ? बिना आधारका सुझाव के काम ? साँच्चै भन्ने हो भने २०० भन्दा कमका नै अधिकांश आधारभूत विद्यालय सञ्चालनमा छन् भन्दा अनुपयुक्त नहोला । अझ बर्षेनी घट्दो क्रममा विद्यार्थी भर्ना र विद्यालय छोड्नेको ज्यामितीय प्रवृत्तिले भएको वृद्धिले यो छिट्टै १०० भन्दा तलका विद्यालयमा रूपान्तरित हुनेछ, हेर्दै जानुहोला । किनभने सार्वजनिक शिक्षा सुधारको लागि यो खण्डमा कुनै तात्विक सुझाव छैनन् ।

स्कूल जोनिङ्को सुझाव राम्रो छ, तर जोनिङ्को मापदण्ड दिन नसक्नु आयोगको कमजोरी मान्न सकिन्छ ।  कमसेकम न्यूनतम मापदण्ड त दिन सक्नु पर्यो नि, हैन र ? अनि मापदण्ड संघीय मन्त्रालयले तोक्ने भनेर सुझावै नदिने हो र ? आयोगले नै सुझाव नदिए पछि संघीय सरकारले केका आधारमा तोक्ने ? फेरि यो जिम्मा त स्थानीय सरकारको हो नि ? किन संघीयमा लान खोजेको ? शायद आयोगले संघीय भूमिका बढी खोजेकोले होला स्कूल जोनिङ्को उही सुझाव २ स्थानमा उल्लेख छन सुझाव अन्तर्गत ।

१२० सुझाव अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कुन हुन् प्रष्ट छैन । यसो गर्ने, उसो गर्ने, भनेर टुंग्याइएको छ । यो प्रतिवेदन छापिनु अघि एकपल्ट ध्यान दिएर हेर्न र प्रष्ट रूपमा रणनीति सहित संविधान, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, स्थानीय सरकार सञ्चालन ऐन, स्थानीय सरकारले जारी गरेका ऐन, नियम एकै ठाउँमा राखेर अध्ययन गर्ने र अझ जल्दोबल्दो रूपमा रहेको नकारात्मक भर्ना दर र विद्यालय छोड्ने प्रवृत्तिको चित्र समेत समेटेर पुनर्लेखन गर्न सके अझै पनि राष्ट्रिय शिक्षा ऐनमा पस्ने गरी गतिला सुझाव आउन सक्छन भन्ने मेरो ठहर छ ।

आयोगको प्रतिवेदनका बारेमा यस अघि गरिएका विश्लेषण पढ्नुहोस् :

आयोगको प्रतिवेदन : पिँध बिनाको लोटा (१)

आयोगको प्रतिवेदन : घाँटी भन्दा हाड ठुलो (२)

आयोगको प्रतिवेदनमा उच्च शिक्षा : १०० भन्दा बढी सुझाव पुरानै (३)

सरकारले अहिले सम्म पनि आयोगको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरेको छैन । तर, विशेष श्रोतबाट प्राप्त प्रतिवेदन हामीले प्रकाशित गरिसकेका छौं ।

पढ्नुहोस् : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदन 

प्रतिक्रिया