Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

आन्दोलनरत शिक्षकसँग सहमती, स्थायीको प्रकृया तोके बमोजिम

विहीबार, २३ फागुन २०७५

काठमाडौं - स्वतः स्थायीको माग सहित आन्दोलनमा उत्रिएका राहत कोटा तथा बालविकासका शिक्षकहरु आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । बुधबार राती अबेर शिक्षा मन्त्रालयसँग भएको वार्तामा उनीहरुले स्थायीको प्रकृया 'तोके बमोजिम' हुने गरी सहमती जनाएका हुन् । 

तीन बुँदे सहमतीपत्रको बुँदा नम्बर १ मा पहिले लेखिएको विबरणमा तोके बमोजिम भन्ने शब्द थप गरेर सहमती भएको हो । 

उक्त बुँदामा 'सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्विकृत दरबन्दीमा परिणत गरी आन्तरिक/खुल्ला प्रतियोगितात्मक परीक्षामा एकपटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि आवश्यक प्रवन्ध गर्ने' लेखिएको थियो । 

उक्त बुँदामा 'तोके बमोजिम' शब्द थप गरेर हस्ताक्षर गरिएको हो । 

उनीहरुको आन्दोलनमा भएको घटनाप्रति दुःख ब्यक्त गर्दै घाईतेहरुको उपचारका लागि आवश्यक प्रवन्ध गर्ने पनि सहमती भएको छ । शिक्षक महासंघका पदाधिकारीहरु सहित भएको उक्त वार्तामा पठन पाठन अवरुद्ध हुने गरी काठमाडौं केन्द्रित आन्दोलनका सम्पूर्ण कार्यक्रम बन्द गर्ने ÷फिर्ता लिने सहमती पनि भएको छ । आन्दोलनरत नेपाल राहत तथा बालविकास शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्ण बहादुर मगर, शिक्षा सचिव खगराज बराल, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा सहित शिक्षकका नेता कार्यकर्ता सहित भएको छलफल पछि २१ जनाले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

शिक्षक अभाव टार्न विभिन्न समयमा नियुक्त करिब ४० हजार राहत शिक्षकलाई दरबन्दीलाई परिणत गरी ८० प्रतिशत खुल्ला र २० प्रतिशत आन्तरिक प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने शिक्षा ऐनको प्रस्ताव विरुद्ध स्वतः स्थायीको माग सहित शिक्षकहरु ५ दिन देखि आन्दोलनमा थिए । खास परिस्थितीमा निश्चित समयका लागि नियुक्त उनीहरुको स्वतः स्थायीको माग सार्वजनिक शिक्षा सुधारका लागि घातक भन्दै आलोचना हुँदै आएको छ ।  

यो पनि पढ्नुहोस् : मौका यही हो – गरिहालौँ आन्दोलन, भईहालौँ स्वतः स्थायी !

प्रतिक्रिया