Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

शैक्षिक क्यालेण्डर के, किन र कसरी ?

शनिबार, ३० चैत्र २०७५

शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलापहरुको संगालो हो वार्षिक शैक्षिक क्यालेण्डर । कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप विद्यार्थीको रूची क्षमता अनुसार तोकिएको समयमा सम्पन्न गर्नका लागि सचेत पार्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बानीको विकास गर्न, शिक्षक र शिक्षाकर्मीहरूलाई स्वमूल्याङ्कन गरेर परिमार्जित एवम् परिस्कृत पेशागत प्रतिष्ठा बढाउन, लगायत शैक्षिक अनुगमन निरीक्षणलाई नियमित गरी पाठ्यक्रकमले लक्षित गरेको उद्देश्यलाई यथार्थमा हासिल गर्नको लागि शैक्षिक पात्रो कोसे ढुङ्गा हो । 

शैक्षिक गुणस्तरलाई सुदृढ गर्न राज्यले विभिन्न निकाय र संरचनाको व्यवस्था गरे पनि आसातित परिवर्तन हुन सकेको छैन्। सामुदायिक विद्यालयको पठनपाठनलाई व्यवस्थित नहुनका कारणबाट गुणस्तर खस्कंदो अवस्थामा छ । निजी लगानीमा खुलेका वोर्डिङको उपलब्धी राज्यको लगानी र निगरानी भएका सामुदायिक विद्यालय भन्दा फराकिलो अन्तरले अगाडी छ । हुनेखानेका बालबालिकाको लागि वोर्डिङ र हुंदा खानेका बालबालिकाका लागि सामुदायिक विद्यालय खुलेको भनाइ सत्यको नजिक पाइन्छ । सामुदायिक विद्यालयमा उपलब्ध साधानस्रोतको अधिकतम प्रयोग  गर्दै विद्यालयका कार्यक्रमलाई व्यवस्थित एवं चुस्तदुरुस्तरुपमा सञ्चालन गरी सुगमतापूर्वक शिक्षाका लक्षित उद्देश्य हासिल गर्न ठीक समयमा  ठीक काम गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा पारदर्शिता, विकेन्द्रित  जिम्मेवारी एवं जवाफदेहिता, कार्यदक्षताको निष्पक्ष र वस्तुनिष्ठ मूल्यांकन, सहभागितामूलक  निणर्य प्रक्रिया जस्ता सुशासनका आधारभूत मान्यतालाई आत्मसात गर्दै अधिकतम उपलब्धी हासिल गर्न शैक्षिक पात्रोले मार्ग दर्शनको भूमिका खेल्छ । सार्वजनिक विदा सबभन्दा धेरै हुने देशहरु मध्ये विश्वमा नै अग्रपङ्तिमा पर्ने नेपालका विद्यालयमा पढाइ हुने दिन कम हुनु अस्वभाविक होइन। कतिपय सामुदायिक विद्यालयमा विभिन्न बहानामा विदा गर्ने प्रबृति निरुत्साहित गर्ने तर्फ सरकार र सरोकार पक्षको खासै ध्यान गएको पाइन्छ ।  तथापि  विद्यमान संशोधित शिक्षा ऐन नियम अनुसार वर्षमा न्यूनतम २२० दिन विद्यालयमा पढाइ हुनुपर्ने तथा सामुदायिक विद्यालयका शिक्षकले हप्तामा कम्तिमा २४ पिरियड पढाउनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै सार्वजनिक विदाको अतिरिक्त हिउंदे वा बर्षे बिदा ४५ दिन तथा व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप ५ दिन स्थानीय विदा दिने र सो भन्दा बढी विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कार्वाही गरिने छ भन्ने कानुनी प्रावधानलाई समेत ध्यान दिएर शैक्षिक पात्रोका विषयवस्तु र क्रियाकलापलाई जवाफदेहीतापूर्वक अनिवार्य समायोजन गरिनु पर्दछ ।

कार्यक्रमहरुको गति र प्रगतिको समीक्षा गरी समयमा नै  सच्याएर  सुधार ल्याउन सचेत पार्ने एक सशक्त सूचक पनि हो शैक्षिक पात्रोे । समयमा तोकिएका कोर्स नसकिने, शैक्षणिक गतिविधिको अतिरिक्त विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक लगायत समग्र शैक्षिक  विकास गर्नेखालका कार्यक्रमहरु सन्तुलित र व्यवस्थितरुपमा सञ्चालन गर्न वार्षिक शैक्षिक गतिबिधि समेटर बनाइएको शैक्षिक पात्रोको गरिमा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि उल्लेख्य रहन्छ ।

सामान्यतया पात्रोलाई तिथीमिति हेर्ने देखि साइत जुराउनेसम्मको कामको लागि प्रयोग गरिन्छ । तिथीमिति, विदा उत्सव, चाहडपर्व शभकार्य साइत जस्ता कतिपय कुराको समेतको जानकारीको लागि साधरण पात्रोकै विषयवस्तु समावेश गरेर शैक्षिक पात्रो ( क्यालेन्डर) निर्माण गरिन्छ । यस पात्रोमा तिथी मितिका साथै शैक्षिक  गतिविधिलाई नियमित र नियन्त्रित गर्नको लागि योजना तर्जुमा गरिएको हुन्छ । पाठ्यव्रmममा तोकिएको विषयवस्तु, त्यसको लागि छुट्याइएको  पाठ्यभार तथा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त व्रिmयाकलाप लगायतका अन्य सूचनामूलक विषयवस्तु समेटेर बनाइने शैक्षिक पात्रोलाई शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा विद्यार्थीलगायतका शिक्षाकर्मीको लागि आफ्नो जिम्मेवारी समयमा सम्पन्न गर्न सहयोग पुरयाउने मार्गचित्रको रूपमा लिन सकिन्छ ।  

शैक्षिक पात्रो सामान्यतया शैक्षिक सत्रको प्रारम्भ बैशाख देखि नै लागू हुनेगरी चैत्र महिना भित्र बनाउनुपर्दछ । पात्रो बनाउनको लागि विषय शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, आवश्यक्ता अनुसार अभिभावक लगायतका पात्रोमा समावेश गरिने विषयवस्तुसँग सरोकार राख्ने व्यक्तिहरूको सहकार्यमा बनाउनुपर्दछ । पात्रोमा शैक्षिक सत्रभरी पढाइने विषयका पाठहरूको विभाजन यथाशक्य विस्तृत एवम् आकर्षक रूपमा प्रस्तुत गरिनुपर्दछ । वर्षभरी विद्यालय खोलिने दिन, सार्वजनिक बिदा, विभिन्न परीक्षा समय, अतिरिक्त क्रियाकलाप, सूचना तथा सन्देशमूलक भनाईहरू एवं शिक्षक विद्यार्थीले पालना गर्नुपर्ने आचरसंहिता लगायतका विषयवस्तुलाई समावेश गर्न सकिन्छ। स्थानिय सामाजिक मूल्य मान्यत, संस्कार, सँस्कृति र परम्पराको संवेदनशिलतालाई समेत हेक्का राखेर मात्र पात्रो   बनाउनुपर्दछ ।
सामान्य पात्रोमा जस्तै यसमा पनि तिथिमितिहरू उल्लेख हुन्छन् । तर यसमा यति फरक हुन्छ कि, सबै कक्षाका सम्पूर्ण विषयका पाठ्यक्रम र पाठ्यांशहरू समावेश  । शिक्षकले कुन पाठ के, कति दिन लगाएर अध्यापन गर्ने, तोकिएका सिकाइ उपलब्धी  हासिल भए नभएको एकिन गर्न के कस्ता मूल्यांकन बिधि अपनाउनुपर्छ, कस्ता कस्ता शैक्षिक सामाग्री र  शिक्षणविधी उपयुक्त हुन्छ आदी प्रश्नहरुको उत्तर हो शैक्षिक पात्रो।

शैक्षिक पात्रो कतिपय सम्पन्न र जाँगरिला विद्यालयहरुले आफूसँग भएको साधन र स्रोतको परिचालन वा सहयोग जुटाएर बनाउने गर्छन।  तर विकट गाउँ ठाउँका सीमित साधनस्रोत भएका विद्यालयको लागि पात्रो बनाउन कठिन नहोला भन्न सकिन्न । त्यसकारण जिल्ला शिक्षा कार्यालय वा शिक्षकका जिल्ला एवम् केन्द्रियस्तरका पेसागत सँघसस्थाले विज्ञापन लगायतका सहयोग जुटाएर पात्रो बनाई वितरण गर्न सकेमा अझ सहज र सार्थक हुन्छ । किनकि शैक्षिक पात्रोका मूख्य प्रयोगकर्ता शिक्षक हो। यसले शिक्षकको पेशागत दक्षता, मर्यादा एवं कार्यक्षतामा अभिबृद्धि गरी समाजमा सम्मानित जीवनयापन गर्न प्रोत्साहित गर्दछ। विभिन्न कारणले सबै विद्यार्थीको हातमा समयमा पाठ्यपुस्तक पु¥याउन नसकेको अवस्थामा , कतिपय विद्यालयमा पाठ्यक्रम नै नभएका र भएपनि त्यसको प्रचुर प्रयोग हुन नसकेको अवस्थामा , पर्याप्त ज्ञान र सूचनाको अभावमा शैक्षणिक कार्यक्रम सञ्चालनमा एकरूपता समेत नहुने हुँदा विस्तृत योजना भएको पात्रो पाठ्यक्रम विकास केन्द्र वा  शिक्षा तथा मानव श्रोत विकास केन्द्रले  केन्द्रबाटै प्रकाशित गरेर वितरण गर्ने व्यवस्था भएमा शैक्षिक सुव्यवस्थाको लागि उदाहरणीय काम हुनसक्छ ।  शैक्षिक उपलब्धी उच्च बनाउन स्थानीय निकायहरुले बिस्तृत बार्षिक कार्यक्रमयुक्त  शैक्षिक पात्रो सबै विद्यालयहरुको सहकार्यमा निर्माण र प्रयोग गरी शैक्षणिक गतिविधीलाई नियमित र नियन्त्रित गर्न सकेमा विद्यमान शैक्षिक क्षति, विकृति र विसंगतिलाई न्यूनिकरण गर्न अहम भूमिका खेल्नेछ ।

कार्की शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।

प्रतिक्रिया