Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

शिक्षा सम्मेलन : कलाकार भन्छन् 'शिक्षकको काम पढाउने'

बुधबार, ११ बैशाख २०७६

भक्तपुर - राम्रा गरेका सामुदायिक विद्यालयको अभ्यास र अनुभवलाई विस्तार गर्ने र सोही आधारमा सुधारका न्यूनतम खाका निर्माण गर्ने उद्धेश्य सहित शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी राष्ट्रिय सम्मेलन शुरु गरेको छ । विभिन्न जिल्लाका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु सहित शुरु दुई दिने सम्मेलनको उद्घाटन सत्रमा कलाकारहरुलाई पनि सहभागी गराईएको थियो । राष्ट्रिय जीवनका ख्याती प्राप्त कलाकारहरुलाई समेत सुधार अभियानमा संलग्न गराउँदा समाजमा सकारात्मक शन्देश प्रवाह हुने अपेक्षा सहित उनीहरुलाई कार्यक्रममा सहभागी गराईएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए । 

शिक्षा क्षेत्रमा भएको दलगत राजनीति प्रति कलाकारहरुले भने कटाक्ष गरेका छन् । खास गरी शिक्षकहरुले गर्ने दलगत राजनीतिले सामुदायिक विद्यालय खस्केको बताउँदै उनीहरुले शिक्षकले पढाउने बाहेकका अन्य काममा ध्यान नदिने हो भने सामुदायिक विद्यालय सुधार हुने दावी गरे । कलाकार मदनकृष्ण श्रेष्ठले अनावश्यक राजनीतिक प्रभावबाट समाजका सबै क्षेत्र मुक्त गर्नु पर्ने उल्लेख गर्दै शिक्षा क्षेत्रमा त दलगत राजनीतिलाई बन्दै गर्नु पर्ने बताए । 

'शिक्षकको काम शिक्षा दिने हो राजनीति गर्ने हैन, शिक्षा क्षेत्रमा धेरै संगठनहरु पनि आवश्यक छैन, चाहिने नै हो भने अभिावकहरुको संगठन चाहिएला नत्र अरुको संगठन आवश्यक छैन' जसको जे काम हो त्यही गर्नु आवश्यक रहेको बताउँदै उनले भने,  'मुग्राले मुग्राको काम, करौँतीले करौँतीको काम, सियोले सियोको काम गर्दा हुन्छ राजनीति गर्नु पर्दैन, शिक्षकको काम पढाउने ।'

अर्का कलाकार दिपकराज गिरीले पनि राजनीति समाज बनाउने भन्दा पनि विगार्ने कारक तत्व रहेको बताउँदै शिक्षा क्षेत्रबाट यसलाई मुक्त गर्न आवश्यक रहेको बताए । 

'पछिल्लो समय त विकासको वाधक संगठनहरु भईरहेका छन्' शिक्षकहरुका संघ संगठन प्रति लक्षित गर्दै उनले भने 'शिक्षा क्षेत्रमा रहेका यस्ता वाधक हटाउन जरुरी छ ।'

कलाकारहरुको धारणा पछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीतिको महत्व रहेको तर शिक्षामा दलीय राजनीतिको अन्त्य आवश्यक भएको बताए । 

'राजनीति गन्धा छ भनेर हैन, राम्रो स्वस्थ्य राजनीति कसरी निर्माण गर्ने भन्ने सोच्नु जरुरी छ' उनले भने, 'यो विषयका बारेमा अर्को कुनै फोरममा छलफल गरौंला अहिले सार्वजनिक विद्यालय सुधारमा भएका असल अभ्यासका बारेमै छलफल गर्ने हो ।' 

सम्मेलनमा सहभागी विद्यालयले गरेका असल अभ्यास र त्यसले भएको सुधारका बारेमा प्रस्तुती हुने र अन्त्यमा स्वयंले परिवर्तनको अनुभुत गर्ने गरी दिशाबोध हुने विश्वास लिएको मन्त्री पोखरेलले बताए । शिक्षाको अवस्था र सुधारका लागि आवश्यक कार्यका बारेमा लामो लिखित भाषण गरेका मन्त्री पोखरेलले पनि गुणस्तर र सिकाइमा शिक्षकको भूमिकाको व्याख्या गरेका थिए । 

'शिक्षक र सिकाइ प्रकृयामै रुपान्तरण गर्नु आवश्यक छ' उनले भने, 'शिक्षाको गुणस्तर शिक्षकको भन्दा माथि पुग्न सक्दैन, त्यसैले शिक्षकमा उच्च नैतिक आचरणको पनि खाँचो छ ।'

शिक्षकलाई जागिरे मानसिकताबाट माथि उठ्न आह्वान गर्दै मन्त्री पोखरेलले ब्यूरोक्रेसीको ढंगले मात्रै शिक्षा बदलिन गाह्रो भएकोले सार्वजनिक जीवनका कलाकारलाई पनि जोडेर रुपान्तरणको खाका कोर्नु पर्ने भन्दे कलाकार सहभागी गराउनुको कारण पुष्टिको प्रयास गरे ।  

कार्यक्रममा कलाकार आनी छोईङ् डोल्माले शिक्षा सुधारका लागि प्रतिवद्धता व्यक्त गरिन् । कलाकार भन्दा अघि बोलका शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले आजै परेको लोकतन्त्र दिवसको शुभकामना दिदैं सम्मेलनले विद्यालय सुधारमा भूमिका खेल्ने अपेक्षा गरे । अभिभावक राष्ट्रिय महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यार्थीलाई केन्द्रमा राखेर सुधारको छलफल आवश्यक रहेको बताए । संघीय संसद अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तिले शिक्षाको गुणस्तर र शिक्षालाई जीवन व्यवहारमा प्रयोग गर्ने तर्फ सम्मेलनले समाधान निकाल्ने अपेक्षा गरिन् । राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाले शिक्षा सुधारका लागि सरोकारवाला पक्षको प्रतिवद्धताको खाँचो औल्याउँदै  सम्मेलनलाई औपचारिक मात्रै भन्दा पनि त्यसका निष्कर्शलाई व्यापक वहस गरी  लागू गर्न सुझाव दिईन् । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले शिक्षा र रोजगारी निर्माणमा तादात्मयताको खाँचो रहेकाले त्यस तर्फ ध्यान दिने गरी शैक्षिक कृयाकलाप सञ्चालनको खाँचो औल्याए । 

शिक्षा सचिव खगराज बराल तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सम्मेलनको आवश्यकता र उद्धेश्य बारे चर्चा गरेका थिए ।  

भक्तपुरको बोडेमा शुरु सम्मेलनमा विभिन्न ५ विषय क्षेत्र निर्धारण गरिएको छ । सोही विषय क्षेत्रका आधारमा विद्यालयका तर्फबाट हने प्रस्तुतीलाई विषय विज्ञ र शिक्षा मन्त्रालयका सहसचिव सहित कर्मचारीको टोली मिलेर निचोड निकाल्ने प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिए । 

निर्धारण गरिएका विषय क्षेत्र अन्र्तगत  हुने प्रस्तुतीका आधारमा शिशिर खनाल सहितको टोलीले कक्षा कोठा र शिक्षण सिकाइको विषयलाई हेर्ने छ भने शिक्षक तयारीका सन्दर्भमा जनार्दन नेपाल सहितको टोलीले कार्य गर्ने छ । यसै गरी समुदाय परिचालन तथा अभिभावक सहभागिताको विषयमा गुरु बराल सहितको टोली, विद्यालयको सुशासनका विषयमा डा. प्रमोद भट्ट सहितको टोली र प्रारम्म्भिक बाल शिक्षा तथा अनिवार्य शिक्षाका सवालमा डा. शुसील कँडेल सहितको टोलीले कार्य गर्ने छ । 

सम्मेलनको पहिलो दिन भएको प्रस्तुतीको आधारमा दोश्रो दिन हुने समूह छलफल पछि उक्त टोलीले निचोड सहित दस्तावेजलाई अन्तिम रुप दिने छ । जसका आधारमा बोडे घोषणा पत्र जारी गर्ने कार्यसूची रहेको अर्यालले बताए । 

सम्मेलनमा सहभागी विद्यालयका बारेमा यो खबर पढ्नुहोस् : सार्वजनिक विद्यालय सुधार्न सम्मेलन

प्रतिक्रिया