Edukhabar
विहीबार, १५ चैत्र २०८०
अभिभावक / विद्यार्थी

शिक्षकको पत्र विद्यार्थी लाई !

मंगलबार, ०७ जेठ २०७६

प्रिय विद्यार्थी !
सफलताको कामना

केही दिन देखि तिमीसँग भलाकुसारी गर्न मन लागिरहेको थियो । त्यो समय आज जुराएको छु । तिमीसँग अनि तिमी जस्तै विद्यार्थीसँग निकट बनेर तिमिहरुको मुहारमा खुसी छाउँदा आफू पनि खुसी भएको र तिम्रा चेहरामा उदासिनता देखिँदा आफू पनि उदास बनेको एक दशक बितिसकेछ । यी एक दशकका पानाहरू पल्टाएर हेर्दा तिमीसँग विताएका क्षणहरू एकाकार भएर आउँछन् अनि यो मनलाई उद्वेलित पारिदिन्छन् । भावनाका टुक्राहरू छरपष्ट बनिदिन्छन् । कति कुराहरूका हेक्का हुनासाथ आफैँ गौरवान्वित बन्न पुग्छु त कति घटनाहरूको याद आउनासाथ आफैँलाई तिरस्कृत ठान्न पुग्छु ।

तिमीलाई सिकाएर ठुलो मान्छे बनाउने सपना लिएर तिमीसँग सहकार्य गर्न होमिएको मैले के कति सिकाउन सकें वा सकुँला ! ठुलो मान्छे बन्ने तिम्रो इच्छा शक्ति अनि प्रयत्नमा हौसलारूपी ईंट्टा थप्न कति सके वा सकुँला ! त्यो त तिमीलाई नै थाहा होला र हुने छ । त्यसको मूल्याङ्कन अवश्य नै तिमीले गर्ने छौ । तर मैले तिमीबाट धेरै सिकेको छु । अझ धेरै सिक्ने पनि छु । यो सिकाउने वहानामा सिक्ने अवसर मैले पाएको छु र पाइरहने पनि छु । यो क्रम चलिरहेछ र चलि पनि रहने छ । त्यसले त म तिमी प्रति धेरै धेरै आभारी छु ।

प्रिय विद्यार्थी, 

तिमी जुन उद्देश्य पुरा गर्ने अभिलाषा बोकेर विद्यालयमा आएका हुन्छौ त्यो उद्देश्य पुरा गराउनमा मेरो भूमिका धेरै हुनु पर्थ्र्यो र हुनु पनि पर्छ नै । तिम्रो उद्देश्य र मेरो सिकाउने शैली बीचमा तालमेल हुनुपर्दथ्यो अनि भईरहनु पनि पर्ने छ । तिमीले सिक्ने र मैले सिकाउने प्रक्रियामा तालमेल हुन सकेन भने तिमीले देखेको सपना अनि सपना पुरा गर्ने तिम्रो अठोटहरूमा ठेस लाग्न सक्छ । तिम्रो भावी जीवनको भाग्योदयमा अन्धकार छाउन सक्छ । तिमी पुग्ने गन्तव्यमा अवरोधका रेखाहरू देखिन सक्छ । त्यसैले म चाहन्छु कि हामी बिचको तालमेलले तिम्रो जीवनमा एक रति पनि समस्या नआओस् । म तिम्रा चाहना अनि भावनाहरूलाई सम्मान गर्दै तिम्रो अन्र्तनिहित प्रतिभालाई माथि उठाउन चाहन्छु । तिम्रो मुहारमा मुस्कान छर्दै मस्तिष्क भरि सहज जीवन चलाउन सक्ने आत्मविश्वासी सीपयुक्त ज्ञान भर्न चाहन्छु । तिम्रा मन भरि उब्जेका जिज्ञासालाई विना झर्को मानेर आफ्नो कर्तव्य ठानेर मेटाउने विश्वास दिलाउन चाहन्छु । अहिलेको विश्व परिवेशमा आधुनिकताले ल्याएका अत्यावश्यक प्रविधिको प्रयोगद्वारा सहज र सरल तवरले दिगो सकाइमा सहजीकरण गर्न चाहन्छु । तर तिनै आधुनिकताको नाउँमा भित्रिएका नकारात्मक पक्षहरूमा तिमी कहिल्यै नफस्ने आग्रह सहितको सद्विचार तिमीमा जागृत गराउन चाहन्छु ।

प्रिय विद्यार्थी

तिमीलाई मैले मेरा भावनाहरू सुनाउँदा अनि तिम्रो सिकाइका खातिर तिमीलाई यी शब्द वाणीहरू सुनाउँदा केवल भावनाका पोकाहरू मात्र लाग्न पनि सक्लान् । तर यी मेरा भावनाको पोकाहरू होइन अनि मनोबिम्ब मात्र पनि होइन । यो त मेरो शिक्षण पेशा प्रतिको दायित्व र त्यस दायित्व पुरा गर्ने अठोट पनि हो । तिमीलाई सक्रीय उर्जाशील मेधावी नागरिक वा सामाजिक अगुवा बनाउने आत्मविश्वास पनि हो । तसर्थ तिमीलाई एक होनहार युवा बनाउन मैले माथि प्रस्तुत गरेका धारणाहरूमा तिमी सहमत हुनै पर्छ । तिमी स्वयं सक्रीय बन्नै पर्छ । तिमीले आफूले आफैँलाई आत्मैदेखि असल पात्र भन्नै पर्छ । तिमी सफलताको शिखर चढ्नलाई आजैबाट मेहनेतको सोपान चढ्नै पर्छ ।

प्रिय विद्यार्थी 

तिमीलाई यहाँ बसीरहँदा मनमौजी बोल्न मन लाग्छ । मैले विषय वस्तुको वर्णन गरिरहँदा तिमीलाई साथीसँग खुसुखुसु गर्न मन लाग्छ । एक आपसमा भलाकुसारी गर्दा आनन्द लाग्छ । दुई शब्द लेख्नु भन्दा पनि दुई कुरा बोल्नुमै स्वाद लाग्छ । केही तर्क सुन्नु भन्दा पनि कुतर्क गर्न मै मज्जा लाग्न सक्छ ।

तर त्यसले तिमीलाई फाइदा गर्ला र ? 

के तिम्रो सिकाइले ठोस आधार पाउला र ?

तिम्रो वौद्धिकताको विकास होला र ?

तिम्रा प्रतिभाहरूले फल्ने र फुल्ने मौका पाउलान् र ?

अनि मैले मेहनेतका साथ गरेको प्रस्तुतीकरणले सार्थकता पाउला र ?

यी र यस्ता यावत प्रश्नहरूको उत्तर तिमीले आफैँले आफैँलाई सोधी हेर त जवाफ आफैँ भित्र पाउने छौं मैले यो कदापि ठिक गरेको छैन भनेर । अनि पक्कै पनि सोच्ने छौ, अब देखि यस्तो कहिल्यै गर्दिनँ भनेर । 

त्यसैले प्रिय विद्यार्थी 

तिमीले मेरो अनि मैले तिम्रो कदर गर्नै पर्छ । एकले अर्कोलाई विश्वास गर्नै पर्छ । तिमीमा क्षमता छ । तिमीमा प्रतिभा छ । तिमी भविष्यमा उज्वल नक्षत्र बन्न सक्ने सम्भावना छ । तिमीमा आफैँ अनि सारा दुनियाँलाई रूपान्तरण गर्न सक्ने शक्ति छ । तिमीमा तिमीले चाहे आफुले आफैँलाई सर्वोत्कृष्ट प्रमाणित गर्न सक्ने मस्तिष्क छ । त्यसैले तिमी संयमित बन । अनुशासित बन । सदाचारी अनि मेहनती बन । त्यसो गर्यौ भने तिमी महान् बन्ने छौ । तिम्रो महान् बन्ने उद्देश्यमा मेरो साथ हुनेछ । सहयोग हुनेछ । म तिम्रो समस्या समाधानमा सदैव तत्पर रहने छु । तिम्रो उज्वल भविष्यको निम्ति आफ्नो क्षमताले भेटेसम्म लागि रहने छु । 

अन्त्यमा मेरा यी भनाईलाई आफ्नै लागि ठानी दिनु । 

यो शिक्षक मेरो सिकाइका खातिर चिन्तित छ भन्ने जानी दिनु । 

सदैव मेरो अनुरोध स्विकारी दिनु । 

अहिलेलाई विदा चाहन्छु । उही तिम्रो सदा उन्नति चाहने तिम्रो शिक्षक ।

लम्साल जनज्योति मावि भिमाद – ६ तनहुँका शिक्षक हुन् ।

प्रतिक्रिया