Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

पाँच करोडको भवन, साढे तीन सय विद्यार्थी !

बुधबार, २९ जेठ २०७६

ललितपुर - २०४९ सालमा एसएलसी दिएका गायक सत्यराज आचार्य आफूले पढेको टीका विद्याश्रम माध्यमिक विद्यालयमा रहेका कूल विद्यार्थी संख्या थाह पाउँदा छक्क परे ! भूकम्पले विद्यालय भवन भत्काएको चार बर्ष पछि बल्ल बनेको विद्यालयको नयाँ भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन आएका आचार्य पुराना स्कुले दिन सम्झन आग्रह गर्दा केही बेर सोचमग्न देखिए ! 

'हाम्रो स्कुलकोे अगाडि यो स्कुलको के हैसियत थियो र ! सय जना विद्यार्थी पनि थिएनन् होला, अहिले त्यो स्कुलको हैसियत कहाँ पुग्यो हाम्रो स्कुल के भयो हेर्नुस् त ?' पूर्व पट्टि विद्यालयसँगै जोडिएको निजी विद्यालय (जेम्स) लाई देखाउँदै उनले भने, 'सरकारी त हो नी भनेर हेलचेक्र्याईं भयो, अरु सरकारी संस्था जस्तै यहाँ पनि पक्कै घुसखोरी र कमीसनले नै त काम गरेको होला, पढाई गतिलो भएन विद्यार्थी घटे !'

गायक दाजु भाई सत्य–स्वरुपले पढेको ललितपुर महानगरपालिका - २, सानेपा स्थित उक्त विद्यालयको प्राङ्गण बुधबार विहान ध्वजापताकाले झकिझकाउ थियो । भवनको अघिल्तिर बनाईएको मञ्चमा विशिष्ठ ब्यक्तिहरुले भाषण गर्दै थिए । अघिल्तिर रहेका विद्यार्थी, अभिभावक र आमन्त्रितहरु उनीहरुका भाषण सुन्दै थिए । तर यी दुई दाजु भाई विद्यालयमा वितेका विगत सम्झदैं थिए शायद ! मञ्चबाट लुसुक्क बाहिरिए । मञ्चको वायाँ पट्टीबाट नयाँ भवन हेर्दै गर्दा उनीहरुसँग हामीले भलाकुसारी गर्यौं । 

केही बेर अघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र जापानी सहयोग नियोग जाईकाका दक्षिण एसियाली निर्देशक सोही हाराले उद्घाटन गरेको प्लेट अघिल्तिर उभिएर दुई दाजु भाईले फोटो पनि खिचाए । 

२०५१ सालमा एसएलसी दिएका स्वरुपलाई पनि विद्यालयमा विताएका पुराना दिन सम्झन आग्रह गर्दा अनुहार फुङ्ग उडेको थियो ! 

'कहाँ यति मात्रै विद्यार्थी हो र ! अहिले भए जति विद्यार्थी त २–३ कक्षाका जोड्दा नै पुग्थ्यो होला' पुराना दिन सम्झदैं उनले भने 'यो अघिल्तिर हरियो चौर थियो, हामी साथी भाइ दगुर्ने खेल्ने गथ्र्यौं !' 

२०१९/२०२० साल ताका केही समय उक्त विद्यालयमा पढाएका शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा पनि आफ्नो समय र अहिलेको अवस्था देख्दा दिक्क भए ।  

'मैले त केही समय मात्रै यहाँ पढाएको हुँ, तर विद्यार्थी खचाखच हुन्थे, समाजको सबै वर्ग, जाति, पेशाका बालबच्चा पढ्थे, विद्यालयमै पुरै समाज देखिन्थ्यो' उनले भने, 'तर विस्तारै सार्वजनिक शिक्षा प्राथमिकतामा पर्न छाड्यो र आज यो दुर्दशा भयो ।'

उनले आफ्नो सम्बोधनका क्रममा विद्यालय भवन बन्नु मात्रै उपलब्धि नठान्न र सिकाइमा जोड दिन आग्रह गरे । 

'सार्वजनिक विद्यालयलाई जनताको आस्थाको केन्द्रका रुपमा विकास गर्न आवश्यक छ' उनले भने 'यसका लागि सबै भन्दा जरुरी विद्यार्थीको पढाई सुधार नै हो ।' 

२००८ सालमा स्थापना भएको कक्षा १२ सम्म पढाई हुने यो विद्यालयको पछिल्लो रेकर्डमा जम्मा ३ सय ५० जना विद्यार्थी रहेको उल्लेख छ । यो संख्या गत बर्ष भन्दा पनि घटेको हो । पोहोर विद्यालयमा ३ सय ७१ जना विद्यार्थी थिए । 

'वरीपरी सबै भीआईपी बस्ति छ, उनीहरुका सन्तान यहाँ पढाउँदैनन्, उनीहरुको घरमा काम गर्नेहरु र न्यून आर्थिक अवस्थाका बच्चा मात्रै हुन् हाम्रा विद्यार्थी' विद्यालयका शिक्षक गणेश अधिकारीले भने, 'अर्को बर्ष कम्तिमा ५ सय विद्यार्थी पुर्याउने लक्ष्य छ, कक्षा ११ मा कम्प्युटर र सिभिल गरी प्राविधिक विषय पढाउने प्रकृया पनि शुरु गरिसकेका छौं ।' 

विद्यालयमा जनशक्तिको अभाव भने देखिदैंन । बालविकासका एक कार्यकर्ता सहित विद्यालयमा २४ जना स्थायी शिक्षक कार्यरत छन् । जबकी देशका कतिपय विद्यालयमा आवश्यक दरबन्दी नै नभए पनि उल्लेख्य शैक्षिक सुधार भएका उदाहरण देखिन्छ । 

त्यसैले त होला शायद शिक्षा मन्त्री पोखरेलले आफ्नो सम्बोधनका क्रममा विद्यालयलाई सिकाइ केन्द्रित बनाउने काम शिक्षक कै भएको स्मरण गराए । विद्यालय जब सम्म सिकाइ केन्द्रित हुँदैन तब सम्म भवनले मात्रै केही नहुने भन्दै उनले त्यस तर्फ आफ्ना कृयाकलापलाई केन्द्रित गर्न विद्यालय प्रशासन र ब्यवस्थापन समितिलाई आग्रह गरे । 

'राम्रो भवन बनेको छ, तर यो भवन गुणात्मक शिक्षा दिने बन्छ की बन्दैन त्यो महत्वपूर्ण कुरा हो' उनले भने, 'विद्यालयले सिकाइ केन्द्रित वातावरण निर्माण गरेर विश्वास आर्जन गर्नु पर्ने छ यो काम शिक्षककै हो ।'

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्नु पर्छ भनेर जबरजस्ती गरेर नहुने बताउँदै उनले यसको सुधार शिक्षकबाट गर्नु पर्ने बताए । 

'आफूले पढाउने स्कुलमा आफ्ना सन्तान पढाउनु हुँदैन भने, आफू माथि नै विश्वास लाग्दैन भने स्कुल कसरी बदलिन्छ ?' उनले प्रश्न गर्दै भने , 'हरेक विद्यार्थीसँग केही न केही प्रतिभा हुन्छ त्यो पहिचान गर्ने जिम्मा शिक्षकको हो ।'

नयाँ भवनका चिटिक्क कक्षा कोठा ! 

कार्यक्रममा प्रतिनिधि सभाकी सांसद पम्फा भुसाल र महानगरका मेयर चिरीबाबु महर्जनले सार्वजनिक शिक्षा सुधारको प्रतिवद्धता ब्यक्त गरे भने प्रधानाध्यापक विमला देवी लामिछानेले शिक्षण सुधारमा आफूहरु प्रतिवद्ध रहेको जनाईन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बंशीधर पौडेल, नेपालका लागि जापानिज राजदूत मासामिचि साइगो, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी लगायतले नयाँ भवन सँगै विद्यालयमा नयाँ सुधार हुने अपेक्षा गरे । 

जापान सरकारको ४ करोड ७३ लाख ७० हजार ९ सय ९९ रुपैंया ७३ पैसाको ऋण सहयोगमा निर्माण गर्ने गरी केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को सहजीकरणमा विद्यालयको नयाँ भवन बन्ने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार एउटा २ तले र एउटा ३ तले गरी २ वटा भवन र एउटा शौचालय बनेको छ । निर्माण गर्दै जाँदा प्राविधिक कारणले लागत बढेको जिल्ला आवासीय ईञ्जिनीयर प्रेम राईले जानकारी दिए । 

'सबै काम सकिदाँ ५ करोड ६ लाख रुपैंया खर्च हुने देखिएको छ, माटोको प्रकृतीका कारण र विद्यालयका पुराना केही संरचना मर्मत गर्दा रकम बढेको हो' उनले भने, 'यो सामान्य कुरा हो, अन्तिम बिल बनाउँदा यी सबै खर्च जोडे पछि मात्रै यकिन रकम भन्न सकिने अवस्था हुन्छ ।'

प्रतिक्रिया