Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

गुरु स्तर र गुणस्तरको चर्चा विना अपूरो गुरु पूर्णिमा

मंगलबार, ३१ असार २०७६

“गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”

( गुरु नेै ब्रह्मा हुन, गुरु नै विष्णु हुन अनि गुरु भनेकै  भगवान शंकर हुन, गुरु नै हुन साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु। )

वेदको रचयिता कृष्ण द्वैपायन व्यास जन्मेको आषाढ पूर्णिमाको दिनमा गुरुहरुको सम्झना र पूजा गरेर मनाइँदै आएको छ । गुरुलाई देवता र पिता समान सम्मान  दिने हिन्दु संस्कार र संस्कृति जगजाहेर छ । पौराणिक काल देखि नै गुरु अर्थात शिक्षकको महिमा अतुलनीय रहंदै आयो ।  संस्कृतमा गु भनेको अन्धकार र रु को अर्थ उज्यालो अर्थात अज्ञानरुपी अन्धकारबाट चेतनास्तर बृद्धि गरी उज्यालो तिर लानु हो । 
पौराणिककालको जस्तो गुरु शिष्यको सम्बन्धमा आत्मियता र सर्मपणको भावना वर्तमानमा पाईँदैन । गुरु शिष्यको सम्बन्ध सौहार्दता भन्दा पनि कृतिमता बढी पाइन्छ । गुरु पूर्णिमाको महिमालाई आत्मसात गर्नु भन्दा पनि कर्मकाण्डी पाराले मनाउनुले यसको गरिमा जोखिममा पर्दै गएको भान हुन्छ । शिक्षकले विद्यार्थीलाई माया र स्नेह भन्दा पनि दण्ड र यातना दिएर अंगभंग र मृत्यु सम्म भएका घटना बढ्दो छ । विद्यार्थीले शिक्षकलाई अपमान, हातपात एवं कालोमसो दल्ने जस्ता निन्दनीय कार्यहरु सामान्य बन्दै जानु गुणस्तरीय र संस्कार युक्त शिक्षाको लागि शुभ संकेत होइन । गुरु पूर्णिमाको महिमा र गरिमा गुरुको आचरण, विचरण र उच्च नैतिकतामा मात्रै फस्टाउन र निष्कलंक रहने कुरामा दुइमत हुन सक्दैन । 

गुरु भन्नाले पुरेत र शिक्षक ÷ प्रशिक्षकलाई बुझाउँछ । यो आलेखका गुरुलाई शिक्षकको रुपमा प्रस्तुत गरिएको छ । वर्तमानमा कतिपय शिक्षकले सम्मान भन्दा पनि सम्पत्तिलाई महत्व दिने प्रचलन हावी भएकोले शिक्षण पेसा अन्यको तुलनामा उपेक्षित हुन गएको गुनासो गर्नेको कमी छैन । डाक्टर, इञ्जिनियर, वकिल, प्रशासक, राजनीतिज्ञ आदी उत्पादन गर्ने शिक्षण पेसालाई कम आँक्नु विवेकहिनता हो । त्यस्तै स्वयम् शिक्षकबाट पनि मर्यादित शिक्षण पेसालाई उपहास हुने गरी आचार संहिता विपरित कार्य गरेर आफ्नो प्रतिष्ठा र गरिमामा खोट लगाउने काम  हुनु गुरु गरिमाको लागि शुभसंकेत होइन । शिक्षक र शिक्षण पेसाको गरिमालाई निष्कलंक राख्न शिक्षकको आचरण, आहार विहारको अहम भूमिका रहन्छ नै । गुरु पूर्णिमालाई फूलमाला खादाको सामान्य सम्मानको कर्मकाण्डी मात्र नबनाएर शैक्षिक गुणस्तरलाई उन्नत बनाउन शिक्षक, विद्यार्थी र व्यवस्थापनले प्रण गर्ने दिनको रुपमा मनाउन सके मात्र गुरु पूर्णिमाको गरिमा बढ्ने छ ।

अचेल शिक्षाको गुणस्तर बारे चर्चा बाक्लै हुने गरेको छ । गुरु स्तर र गुणस्तर एक अर्कामा अन्तर सम्बन्धित छन् । भनाइ पनि छ, कुनै पनि विद्यालय शिक्षक भन्दा राम्रो हुन सक्दैन । अर्थात शिक्षक राम्रो भए विद्यालय पनि स्वत राम्रो हुन्छ । शिक्षण सिकाइ क्रियाकलापलाई उपलब्धी मूलक बनाउन शिक्षकको पेसागत दक्षता तथा निष्ठापुर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्दछ । गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्दछ । साधान स्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजर अन्दाज गर्न सकिन्न । जसको लागि प्रतिभाशाली जाँगरिलो पेसाप्रति समर्पित उत्साही शिक्षक अपरिहार्य हुन्छ । साथै  शिक्षण पेसामा प्रवेश गरिसकेका जनशक्तिलाई हौसला प्रदान गर्न उनीहरुमा भएको मैजुदा ज्ञान सीपलाई परिस्कृत र पारंगत गर्दै सक्षमता  ल्याउन समयानुकुल तालिम तथा प्रशिक्षण निरन्तर हुनु आवश्यक छ ।

शिक्षकलाई पेसा प्रति समर्पित  र जाँगरिलो बनाउने खालका रणनीति अवलम्वन गर्न राज्य चुक्नु हुन्न । नियमित र पारदर्शी अनुगमन निरीक्षणका आधारमा पुरस्कार र दण्डको व्यवस्थाले शिक्षकमा जाँगर, उत्साह र ऊर्जा थप्ने काम गर्छ । शिक्षक स्वयंले पेसागत उत्कृष्टता हासिल गर्न समग्रमा नौ नि - निष्पक्षता, निष्ठा, निर्भिकता, निस्कलंक, निस्वार्थ, नियमितता, नीतज्ञता, निसंकोचता, र्निदिष्टता जस्ता आधारभूत गुणलाई आत्मसात् गरेर व्यवहारमा उतार्नु पर्दछ ।

विद्यालयलाई विद्यार्थीका लागि मात्रै सिक्ने थलो नभएर शिक्षकको ज्ञानको दायरालाई फराकिलो बनाउने गरी सिक्ने थलोको रुपमा विकसित गरिनु पर्दछ । शिक्षक ज्ञान, सीप, अभिवृतिबाट कहिल्यै बुढो हँुदैन । निरन्तर नवीन कुरालाई सिक्ने सिकाउने भावनाबाट प्रेरित हुनुपर्दछ । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकको अहम् भूमिका हुने हँुदा उनिहरुको कार्यगत क्षमता, लगनशीलता तथा पेसा प्रति समर्पणमा  उर्जा थप्न पेसागत सुरक्षा र सम्मानको पनि उत्तिकै खाँचो रहन्छ ।

शिक्षण पेसामा प्रवेश गर्न तथा पेसागत सुरक्षाको लागि कतिपय अवस्थामा व्यवस्थापन समिति प्रति उत्तरदायी हुनुपर्ने बाध्यता छ । व्यवस्थापन समितिका पदाधिकारी लगभग सबै प्रत्यक्ष रुपमा कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएको कारणबाट शिक्षक प्रति गरिने व्यवहारमा निष्पक्षता हुन चुकेको गुनासो सुन्न पाइन्छ । शिक्षक तथा कर्मचारीको वृतिविकासमा पराक्रम गर्ने भन्दा परिक्रमा गर्नेको हैसियत बढेको तितो सत्य हो । यसरी शिक्षकको पेसागत मर्यादामा विनाकारण पूर्वग्राही ढंगबाट आँच पु¥याउने व्यवस्थापन पदाधिकारीलाई सचेत पार्न तथा आफ्नो तीन वर्षे कार्यकालको लागि विद्यालय विकासको  कार्ययोजना बनाउन अभिमुखीकरण गोष्ठी संचालन गर्नुपर्दछ । जानीजानी पदीय हैसियतलाई दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउनसके शिक्षकमा स्वभिमानीपूर्वक आफ्नो पेसागतधर्म निर्वाह गर्न उत्साही बनाउने छ । शिक्षक नियुक्ति प्रक्रियाको लागि केन्द्रियस्तरमा संवैधानिक शिक्षकसेवा आयोग र शिक्षकको  कानुनी उपचारको लागि छुटै न्यायालयको व्यवस्था भएमा शिक्षक पदको गरिमा अझ बढ्नेछ ।

शिक्षकको पेसागत दक्षतालाई विद्यार्थीको उपलब्धीसँग दाँजेर सोही अनुसार पुरस्कार र दण्डको व्यवस्था पारदर्शिरुपमा गर्न सके गुणस्तरीयता कायम गर्न होस्टेमा हैंसे हुनेछ । विद्यार्थीले ६ घण्टा मात्रै विद्यालयमा बिताउने र बाँकी १८ घण्टा  घरपरिवारमा नै बिताउने साथै बालबालिकाको लागि घर परिवार पहिलो विद्यालय भएकोले त्यहाँको वातावरण पनि पढ्ने तथा शैक्षिक सामग्रीको पर्याप्तता  लगायत अन्य पक्षको छलफल र सहकार्य गर्न शिक्षकले अभिभावकसँग निरन्तर सम्पर्क राखी चिरन्जीवि सौहार्दता कायम राख्नाले पनि शैक्षिक उपलब्धीलाई उच्च बनाउन टेवा पुग्न जान्छ ।

विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गदैैै सबै शिक्षकको सल्लाह र सहमतिमा वार्षिक शैक्षिक क्यालेण्डर बनाइनुपर्दछ । त्यसको अनुसरण भए नभएको अनुगमन निरीक्षण प्रअ तथा व्यवस्थापनले गर्नुपर्दछ । विद्यमान ऐन  नियममा भए अनुसार कम्तीमा १८० दिन विद्यालय खोली  पठनपाठन गर्ने वातावरण बनाउन सञ्चालक र सेवाग्राही सजग रहनुपर्दछ । त्यस्तै विद्यालयमा अनुशासित एवम् मर्यादित वातावरण बनाउन आचार संहिता बनाई लागू गरिनुपर्दछ । विद्यालयलाई बन्द हडतालमुक्त क्षेत्र घोषणा गरी त्यसको कडाइका साथ पालना गर्न समर्थन जुटाउनुपर्दछ ।

विद्यालयको हरेक कार्यक्रम विद्यार्थीको हितलाई उच्च प्राथमिकता दिएर बनाइनुपर्दछ । विद्यार्थी घरबाट भागेर विद्यालय आउने चित्ताकार्षक रोचक रतिने खालको वातावरण हुनुपर्दछ । शिक्षाकर्मीहरु विद्यार्थीप्रति उत्तरदायी हुनुपर्दछ । उनीहरुनै रोजगारदाता हुन भन्ने यथार्थलाई बिर्सनु हुँदैन, किनकी विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रुपमा व्यवहार गरिनु पर्दछ । । विद्यार्थी वनस्पतिको एकदाना बीउ जस्तै हो त्यसैले यदि उपयुक्त मलजल हावापानी पाएमा फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने वातावरण बनाउनसके भोलिको योग्य नागरिक बनाउन  सकिन्छ । विद्यार्थीलाई माछा मारेर खुवाउनुको सट्टा माछा मार्न सिकाउने स्वावलम्बी पौरखी खालको शिक्षा दिइनुपर्दछ । गुरुको गरिमा शिष्यले प्राप्त गर्ने शिक्षा र संस्कारमा भर पर्ने वास्तविकतालाई मध्य नजर राखेर स्वयं शिक्षक, सरकार र सरोकार पक्ष संवेदनशिल र चनाखो रहनु बुद्धिमानी ठहर्छ ।

[email protected]

कार्की शिक्षा मन्त्रालयमा पूर्व उपसचिव हुन् ।  

प्रतिक्रिया